लाहुरे संस्कृति र हाम्रो समाज

हाम्रो देशमा लाहुरेले धेरै आधुनिक संस्कार पनि भित्रयाए, धेरै विकृति पनि सँगै ल्याएका छन्। सहर पसेको लाहुरे तथा वैदेशिक रोजगारीमा मुग्लान पुगेकाहरूको घरपरिवार विखण्डनको जोखिममा पुगेको छ।

आदर्श समाज सम्वाददाता
असार २७, २०७३

असारको बेला गाउँमा मानो खाएर मुरी उब्जाउने याम भएकाले छुट्टै चटारो छ। खेतमा धान रोप्नेदेखि कादो रोप्नेसम्मका लावालस्कर देखिन्छ। तन्नेरीहरू आली लाउँदैनन अचेल, उमेरले ५० काटेकाहरूको जिम्मामा छ गाउँघर। अर्थतन्त्र ओरालो लागेको यो बला गाँउमा तन्नेरीहरू देख्न पाइँदैन। उनीहरू अरब, मलेसिया, कोरिया भासिएका छन। हिजो अलि बढी लाहुरे हुने चलन थियो र त गाँउका युवा भर्तीको चक्करमा हुन्थे। यति बेला लाहुरे नहुनेहरूलाई वैकल्प बनेका छन् : अरब, मलेसिया। हिजो गाँउघरमा लाहुरे हुने चलन यति व्यापक थियो कि पुरुष जन्मेपछि लाहुरे हुनकौ लागि नै जन्मेको मानिन्थ्यो। विशेषगरी गुरुङ, मगर, तामाङ, राइ, लिम्बु सामुदायमा लहुरेप्रथा सबैभन्दा बढी प्रचलित छ। त्यसमा पनि बेलायतमा भर्ती हुनुलाई अहोभाग्य मानिन्थ्यो, आजसम्म पनि मानिन्छ। चर्डपर्वमा आशिष दिँदा ‘लाहुरे भयस्’ भनेर बूढापाका भन्ने गर्छन्। त्यसैले लाहुरे संस्कार आदिवासी, जनजातिमा एउटा परम्परा नै बनिआएको छ। एउटा समय यस्तो थियो, जुन घरमा लाहुरे हुन्थे, त्यस घरको आर्थिक अवस्था सवल हुन्थ्यो। उनका छोराछोरीको लवाइखुवाइ भिन्दै हुन्थ्यो। सेतो मगमा चिनी हालेर चिया लाहुरेले खुवाए। हुन त चिया खाने चलन लाहुरेले नै ल्याएका हुन् भनिन्छ। सुरुमा इन्डियामा लाहुरे हुने हाम्रा दाजुभाइले चिया घीउमा मज्जाले भुटेर खाए रे। पछि विस्तारै चिया खान परदेशीले सिकाएछन्। आजकल चिया प्रायः प्रत्येक घरमा पाक्ने गर्छ।

सुरुमा सुनौली बोर्डर काटेपछि लाहुर गएको मानिन्थ्यो। जुन बेला पञ्जावका रणजीतको फौजमा नेपाली भर्ना भए, त्यस बेलादेखि लाहुरे हाम्रो संस्कार बन्यो, संस्कृति बन्यो। पाकिस्तानको पञ्जाब प्रान्तको लाहोर भन्ने ठाउँबाट लाहुरे शब्द बन्यो। यति बेला पनि गाँउघरमा  नेपालबाहिर गएपछि लाहुर गएको भनिन्छ। लाहुरे शब्द यति  प्रिय छ कि माया, प्रेमदेखि दैनिक जीवनमा यो शब्दले जरा गडेको छ। गाँउघरमा लाहुरे आउँदा उत्सव नै हुन्थ्यो। जुन घरमा लाहुरे परदेशबाट आउँथे, त्यस घरमा गाँउका युवायुवति मिलेर रातभरि नाचगान गर्थे र आज पनि गर्छन्। नाचको टोलीलाई बिहान गच्छेअनुसार दान दक्षिणा दिइन्थ्यो। लाहुरे आउँदा उनको सामान बोकेर भरिया आउँथे। विशेष गरी इन्डियाको लाहुरेले कालो बाकस र बोर्डिङ ल्याउँथे भने मलायाको लाहुरेले होभीकेट ल्याउथे। लाहुरेले कसले कति पैसा ल्यायो भनेर पनि चर्चा हुन्थ्यो। लाहुरे आएको भोलिपल्ट गाँउघरमा उनकै चर्चा हुन्थ्यो। यति हजार पैसा, यति वटा बाकस, यति वटा भरिया। लाहुरेका दिदीबहिनी खसी डोहोर्‍यार उनकै घरमा पुग्थे। उनले मखमली चोलो, पल्की, दारे पोतेदेखि पछ्यौरा, सारी उपहार पाउँथे। मलायको लाहुरेबाट भने यी सामानको अलावा सुनका गहनासमेत प्राप्त हुन्थ्यो।

त्यति बेला गाँउघरमा दुर्इ प्रकारका लाहुरेको लेखाजोखा हुन्थ्यो। एउटा इन्डियाको लाहुरे र अको मलायको लाहुरे। यी दुर्इको लुवाइखुवाइ पनि फरक थियो। प्रायः इन्डियाको लाहुरे आफ्नै युनिर्फममा छुट्टीमा आउँथे। उनीहरुको काँधमा फिलिप रेडियो, एचएमटी घडी र हातमा बाल्टिन पनि हुथ्यो। इन्डियाको लाहुरेले चिनी र चियापत्ती, मसलासमेत भारतबाटै ल्याउँथे। यहाँसम्म कि नासो पठाउँदासमेत पैसासहित यिनै सामान लाहुरबाट पठाइन्थ्यो। यसैगरी, बेलायती लाहुरेको गेटअप अलि फरक थियो। उनीहरूको काँधमा जापानीज पानसोनिक रेडियो र टेपरिकडर हुन्थ्यो। त्यति बेला लाहुरेको घर टिनको छानो भएको, रेडियो घन्किएको र टागाँलोमा नयाँ कपडा लहरै सुकाएको आँगन प्रष्ट देखिन्थ्यो। परदेशमा रहेका लाहुरेले छुट्टीमा आउने लाहुरेसँग नासो पठाउँथे। अहिलेको जस्तो पैसा र समान पठाउने कुनै माध्यम विकास भइसकेको थिएन। व्यक्तिमार्फत् नै पठाउनु पथ्यो। लाहुरेले नेपालमा आफू सरसफाइ हुन र अरुलाई स्वाथ्य रहन सिकाएका छन्।

पश्चिमी सभ्यताका धेरै संस्कार लाहुरेले नेपालमा भित्रयाएका छन। विशेषगरी, नेपालमा लुङ्गी ल्याउने प्रचलनदेखि सारी लगाउने चलनसम्म लहुरेले नै अघि सारे। पोखरा, धरान, वुटवललाई लाहुरेले बनाएको सहर मानिन्छ। आफ्ना सन्तानलाई राम्रो शिक्षाका लागि सहर पसेका लाहुरेहरूले गाँउलाई शून्य बनाएका छन। यति बेला नेपालभरि गाँउ छाडेर सहर पस्ने क्रम तीव्र छ। देशैभरिका गाँउ सून्य र बाँझा छन्। लाहुरे हुने भारत र बेलायतमा लाहुरे भए। नहुनेहरूले कोरिया, अरब र मलेसियालाई आफ्नो गन्तव्य बनाएका छन्। बेरोजगार युवा ऋण काँढेर भए पनि एकचोटि मुग्लान भासिन चाहन्छन्। त्यसैले गाउँघर युवाविहीन छन्। बलिया पाखुरा विदेश पसेपछि गाउँघर बृद्धाश्रमजस्तो भएको छ। खेतीयोग्य जमिन बाँझो बनेर रोइरहेको छ। पहाडमा मात्र होइन, तराइ मधेसमा समेत खेतीयोग्य जमिन बाँझो बनेर बसेको अवस्था छ।

गाँउमा भन्दा सहरमा धेरै अवसर हुन्छन। त्यसैले प्रत्येक वर्ष लाखौं-लाख युवा कामको खोजीमा सहर पसिरहेका छन्। अपठिट युवाहरू सहर पसेपछि डन हुने प्रवृत्ति बढेको छ। युवाले आफ्नो रोल मोडल नपाउँदा र राजनीतिमा अपराधीकरण बढ्दा उनीहरू दिग्भ्रमित छन्। युवालाई  देशमै रोजगारी दिन नसक्दासम्म समृद्धिको सपना पूा हुँदैन। केही समय यता गाँउमा मोटर बाटो पुगेको छ। मोटर बाटोसँगै चाउचाँउ, मिनरल वाटर, बियरलगायत फास्टफुड गाँउ पुगेका छन्। गाँउघरका स्वाथ्यकर खाना रोटी, मकै, भटमास, ढिंडो, आँटो विस्थापित भएका छन्। खाजा भनेको चाउचा, चिसो भनेको कोकाकोला  भनेर रेडियो, टेलिभिजनमा विज्ञापन सुनेर बाल मस्ितष्क प्रदूषित बनेको छ। खाजामा भुटेको मकै, रोटी, उसिनेको पिंडालु, आलु फर्सीीभनेर कहिल्यै सिकाइन्न। अनि हाम्रा बाबुनानीहरू बेलैमा अनेकथरि रोगका शिकार बनेका छन्। यस्तो हुनुमा धेरथोेर लाहुरे संस्कृतिको प्रभाव पनि परेको छ। लाहुरे संस्कृतिले धर्ममा पनि हस्तक्षेप भएको मानिसहरू बताउँछन्। लाहुरेलाई उनीहरूको धर्म नसोधीकन व्यक्तिगत विवरणमा हिन्दू धर्म लेखाइयो। उनीहरूको पल्टन-पल्टनमा हिन्दू मन्दिर र हिन्दू पुजारी राखेर पूजा गर्न लगाइयो। यसरी कयौं लाहुरे लाहुर गएर धर्म परिर्वतन गरेर हिन्दू बनेर आए। हाम्रो देशमा लाहुरेले धेरै आधुनिक संस्कार पनि भित्रयाए, धेरै विकृति पनि सँगै ल्याएका छन्। सहर पसेको लाहुरे तथा वैदेशिक रोजगारीमा मुग्लान पुगेकाहरूको घरपरिवार विखण्डनको जोखिममा पुगेको छ।

सबै युवा कामको खोजीमा विदेश पलायन हुने प्रवृतिले हाम्रो देश विकास हुँदैन। समृद्ध नेपाल बनाउने हो भने सबैभन्दा पहिला युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सक्नुपर्छ। विदेशमा सिकेको सीप र ज्ञानलाई स्वदेशमा प्रयोग गर्नुपर्छ। फेरि एकचोछि गाँउफर्के अभियान चलाएर गाँउमै बसूँ, बसूँ बनाउनुपर्छ। राजा महेन्द्रको गाँउ र्फक होइन, नयाँ गाँउ र्फक अभियान सञ्चालन गरौं। अब लाहुरे संस्कारलाई अलिकति परिमार्जन गरौं। गाँउ बाँझो हुनबाट जोगाऔं।

Related News

सम्बन्धित समाचार

hero news full width