पतंजलि आयुर्वेद केन्द्रद्वारा वालिङ नपालाई साढे ५ लाखको खाद्यान्न सहयोग

तोलाकान्त बगाले
चैत्र २९, २०७६
pppppppppppp

वालिङ, २९ चैत । पतंजलि आयुर्वेद केन्द्र नेपालले वालिङ नगरपालिकालाई झण्डै साढे पाँच लाख बराबरको खाद्यान्न तथा साबुन उपलब्ध गराएको छ ।

वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमार्फत वितरण गर्ने गरी पतंजलि आयुर्वेद केन्द्र नेपालले वालिङलाई खाद्यान्नसहित साबुन उपलब्ध गराएको नगर प्रमुख दीलिपप्रताप खाँणले बताए । “वालिङ नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेसँगै अहिले नगरपालिकाको राहत कोषमा सहयोग आउने क्रमले तीब्रता पाएको छ” नगर प्रमुख खाँणले भने । “वालिङ नगरभित्रका अति विपन्न समुदायलाई वितरण गर्नका लागि पतंजलि आयुर्वेद केन्द्र नेपालले खाद्यान्न तथा हात धुनका लागि साबुन सहयोग गरेकोमा नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ।”

अहिलेको विषम परिस्थितिमा पतंजलि योग पीठका आचार्य बालकृष्ण महाराजको निर्देशनमा वालिङ नगरपालिकामा ठूलो सहयोग प्राप्त भएको बताउनुहुँदै नगर प्रमुख खाँणले प्राप्त सहयोगको सही सदुपयोग एवं पारदर्शी बनाउने उल्लेख गरे । नगर प्रमुख खाँणका अनुसार वालिङ नगरपालिकामा तीन लाख २४ हजार बराबरको साबुन, एकलाख ६८ हजार बराबरको चामल तथा ढुवानी गरी कूल पाँच लाख ४० हजार बराबरको सहयोग प्राप्त भएको हो । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजको निर्देशन अनुसार पतंजलि आयुर्वेद केन्द्र नेपालले वालिङ नगरपालिकालाई साबुन तथा खाद्यान्न सहयोग उपलब्ध गराईएको आयुर्वेद केन्द्र नेपालका निर्देशक डा. पवमान सुबेदीले बताए ।

“कोरोना विरुद्धको लडाईमा सबै एकजुट भएर लड्नुपर्ने अवस्था छ” निर्देशक सुबेदीले भने । “यो जटिल अवस्थामा जे जति सकिन्छ त्यो सहयोग गर्नुपर्छ भन्ने लागेर आचार्यजीको निर्देशन बमोजिम हामीले वालिङमा उपलब्ध गराएका हौं ।”आगामी दिनमा पनि आईपर्ने जटिल परिस्थितिहरुसँग नगरपालिकासँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको निर्देशक सुबेदीको भनाई थियो । वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा शनिबारसम्ममा नगद र खाद्यान्न गरी कूल २६ लाख ८३ हजार २ सय ४ संकलन भएको छ । राहत कोषमा १९ लाख ९५ हजार २ सय ४ नगद र ६ लाख ८८ हजार बराबरको खाद्यान्न र साबुन रहेको छ । नगरपालिकाले हाल १४ वटै वडामा कुपन सिष्टमबाट राहत वितरण गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width