मौन अवधि आज रातिदेखि, अन्तिम कसरतमा दलहरु

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
News-Vote-Election

व्यग्र प्रतीक्षापछि १४ मंसिर आउन अब ३ दिनमात्र बाँकी छ। निर्वाचन आयोगका अनुसार बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ। निर्वाचन हुनुअघिको ४८ घण्टालाई आयोगले मौन अवधि भनेको छ। यसबीचमा दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले कुनै पनि प्रचारप्रसार गर्न पाउने छैनन्।

त्यसैले अन्तिम घडी नजिकिँदा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मत माग्दै मतदाता रिझाउन कसरतमा छन्। टोलैपिच्छे आमसभा भइरहेका छन्। जता हेर्यो त्यतै बिहान सूर्योदयसँगै राति अबेरसम्म पनि ठाउँ ठाउँमा आमसभा भइरहेका हुन्।

सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राप्रपा, समाजवादी पार्टी, साझा पार्टी, विवेकशील नेपाली दल, नेकपा (माले) लगायतका दलहरुका शीर्ष नेताहरुलाई नै कास्की २ को चुनावी क्षेत्रमा रातोदिन लागीपरे। यसमा सबैभन्दा बढी नेपाली काँग्रेसका शीर्षनेताहरुको जम्बो टिम नै देखा पर्यो।

कास्की २ को उपनिर्वाचन रौचक बन्दै जाँदा परिणाम के आउला भन्ने नै अनेकखालका अड्कालबाजी हुने गरेका छन्। २०७४ सालको निर्वाचनपछि हुन लागेको यो उपनिर्वाचनलाई दलहरुले मिनी जनमतसंग्रहको रुपमा अथ्र्याएका छन्। दुईतिहाइको सत्तारुढ दल नेकपा र प्रमुख विपक्षी दल नेपाली काँग्रेसबीच कडा प्रतिष्पर्धा रहेको यो चुनावलाई दुवै दलले जसरी पनि जित्नैपर्ने दबाबमा छन्। त्यस्तै २ वर्षअघिको चुनावी परिणामअनुसार भारी नै मत ल्याउने दलहरुका उम्मेदवार पनि आ–आफ्नो जीत सुनिश्चित रहेको भन्दै मतदाताको घरदैलो कार्यक्रम र चुनावी सभा करिब टुंगाएका छन्।

विद्या भट्टराई अधिकारी आफ्नो उम्मेदवार रहेको नेकपाले घरदैलो कार्यक्रम पोखराका विभिन्न ११ वटै वडामा सकेको निर्वाचन प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए। उनले २ वर्षको बीचमा मतदाताबीच रहेको ग्याप अहिलेको घरदैलोले पूरा गरेको बताए। स्थानीयको गुनासो सुन्ने मौका पनि यसपालि भएको र मतदाता भेटघाटमा स्थानीय निकै उत्साहित भएको पाइएको उनले बताए। नेकपाले प्रचारको अन्तिम दिन बुधबार पोखरामा गर्ने आमसभामा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहितका शीर्ष नेता उतार्दैछ। प्रचार प्रयोजक पौडेल भन्छन्, हामीहरुले चुनाव जितिसकेका छौं। यो आमसभा हाम्रो मिनी विजयोत्सव हो।

नेकपाले चुनावी प्रचारका बेला पूर्व मन्त्री समेत रहेका गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारी, देव गुरुङ, खिमलाल देवकोटा, हितराज पाण्डे उत्तम, सीता गिरी वली लगायतका नेता उम्मेदवारसँगै घरदैलो र चुनावी सभामा व्यस्त देखिए।

नेकपाको तुलनामा काँग्रेसले भने शीर्षनेताको जम्बो टोली यहाँ उतार्यो। काँग्रेसबाट पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शेखर कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य गगन थापा, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व मन्त्री भीमसेनदास प्रधान, धनराज गुरुङ, केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल, शुक्रराज शर्मा, लगायत आए। चुनावी कमाण्डर तोकिएका डा. मीनेन्द्र रिजाल शुरुवातदेखि नै अहिलेसम्म पोखरा छन्।

नेपाली काँग्रेस कास्कीका सभापति एवं चुनाव प्रचार समितिका मूल संयोजक कृष्ण केसीले नेकपा सरकारको दुइतिहाइको दम्भ अहिलेको चुनावले तोड्ने दाबी गर्छन्। उनले काँग्रेसले घरदैलोको क्रममा मतदाता अहिलेको सरकारबाट रुष्ट रहेको र चाँडै नै निकास चाहेको पाइएको बताए। काँग्रेसले आफ्ना पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएर विभिन्न ३ चरणका कार्यक्रमबमोजिम घरदैलो तथा चुनावी सभा सकाएको हो। मंगलबार मात्रै पनि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोखराको सिमलचौर लगायतका सभामा उपस्थित थिए। काँग्रेसमा यसअघि प्रष्ट देखिएको गुट यसपालि नहुने र सबैजना एकढिक्का भएर उम्मेदवार पौडेललाई जिताउन लागिरेको बताइएको छ।

यता, राप्रपाले आफ्ना पार्टी अध्यक्ष कमल थापालाई पोखराका विभिन्न चुनावी सभा र घरदैलोमा अघिल्लो हप्ता व्यस्त गरायो।

समाजवादी पार्टीले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव लगायतका नेतालाई पोखरा बोलायो। पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराई आफ्ना उम्मेदवार इ.धर्मराज गुरुङको पक्षमा भोट माग्दै कास्कीका विभिन्न गाउँ गाउँ डुलेका थिए।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र प्रचार शुरुवातदेखि पोखरा रहे। साझाले रजनी केसीलाई उम्मेदवार बनाएको छ।

यता, विवेकशील नेपाली दलका उम्मेदवार जमुना शर्मा जिताउन रञ्जु दर्शना लगायतका चर्चित अनुहारलाई पोखरेली नजिकबाट चिन्न पाए।

नेकपा (माले) ले सीपी मैनालीलाई भित्रायो भन्ने अन्य दलहरु पनि आफ्नो पक्षमा जित हासिल गर्न शीर्ष नेता बोलाएर मतदातासँग पार्टीको आधिकारिक धारणा र उम्मेदवारीबारे प्रष्ट धारणा राखे। यसैगरी, स्वतन्त्र उम्मेदवारले पनि हरतरहले मतदातासँग भेट्ने प्रयास गरे। १० जना स्वतन्त्रसहित कुल २१ जना उम्मेदवारले मुख्यतः मतदाताबीच आपूm सांसदमा निर्वाचित भएपछि जनताको सेवामा समर्पित भएर काम गर्ने र सदैव सुख दुःखमा साथ दिने प्रतिबद्धता प्रकट गरेको पाइयो।

अधिकांश उम्मेदवार पोखराको पर्यटकीय क्षेत्रका रूपमा अन्तराष्ट्रियस्तर पहिचानमा थप वृद्धि गर्ने, बेरोजगारी, सुकुम्बासी, नदी नियन्त्रण लगायत समस्या समाधान गर्ने सम्बन्धमा मतदातासमक्ष वाचा गरे। निर्वाचनमा सहभागी भएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी घोषणापत्रबारे मतदातालाई जानकारी गराउनुका साथै पर्चा, पम्प्लेट वितरण कार्यमा जुटे। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी, साझा पार्टी लगायतका दलले चुनाव प्रचारप्रसार समिति नै गठन गरेका थिए। स्वतन्त्र उम्मेदवारी दिएकाले पनि प्रचार समिति गठन गरी आफ्नो पक्षमा मत मागेका छन्। चुनावी गठजोडबीच कास्की २ का मतदाता भने अब कसलाई भोट हाल्ने हुन्? त्यसको परिणाम अब केही दिनमै आउनेछ।

चुनावमा नेकपाबाट विद्या भट्टराई अधिकारी, काँग्रेसबाट खेमराज पौडेल, राप्रपाबाट रोमबहादुर भण्डारी, साझा पार्टीबाट रजनी केसी, काँग्रेस (वीपी) बाट चन्द्रबहादुर रानाभाट, नेकपा (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल, स्वतन्त्रतर्फ सुनिल भुषाल सहित कमलजंग कुँवर, उमनाथ गौतम, जमुना शर्मा, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल र सुनीलबहादुर कोइरालाबीच प्रतिष्पर्धा छ। उम्मेदवारमध्ये सबैभन्दा पाका काँग्रेसका खेमराज पौडेल र कान्छो उम्मेदवार सुनील भुसाल हुन्।

मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले चुनाव निष्पक्ष र धाँधलीरहित बनाउन आफूहरु अन्तिम तयारीमा रहेको बताए। कास्की २ को चुनावका लागि ८२ जना मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत तोकिएका छन्।

निर्वाचन आयोग पोखराका सूचना अधिकृत रुद्र न्यौपानेले करिब ९५ प्रतिशत काम सम्पन्न भएको र बुधबार बिहान १० बजदेखि कार्यालयबाट सम्बन्धित क्षेत्रका मतदान अधिकृतलाई मतपत्रसहित चुनावी सामग्री वितरण गर्ने जनाए।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि सो क्षेत्र रिक्त रहन गएको हो।

२०७४ सालको चुनावमा रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए। त्यसबेलाको चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये ४९ हजार ९ सय मत खसेको थियो।

हाल कास्की क्षेत्र २ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। पोखरा महानगरपालिकाका विभन्न ११ वटा वडा पर्ने सो निर्वाचन क्षेत्रमा वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्दछन्।

Related News

सम्बन्धित समाचार

hero news full width