आँसु पुछें, सबैको आँसु पुछ्छु : विद्या

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
cpn_Fotor

नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको भन्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिबद्धता गरेकी छन्।

नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलोमा पोखरा २० मौजामा भएको कार्यक्रममा उनले भनिन्, ‘म आँसुको राजनीति गर्न आएकी हैन, बाँकी भएको आँसु पनि पुछेर आएकी छु। अब जनताका दुःख निवारण गर्दै सबैको आँसु पुछ्छु। ’

मतदातासँग उनले विभेदमुक्त समाज निर्माण गरी सबैलाई आत्मनिर्भर बनाउन नेतृत्वदायी भूमिका खेल्ने वाचा गरिन्। मोहरिया, मौजा भलामको बाटो निर्माण सम्पन्न गर्ने, आँटीघर मौजालाई पर्यटकीय क्षेत्र बनाउने र यो क्षेत्रमा कृषि र पशुपालनलाई व्यवसायीकरण गर्ने उनले सुनाइन्।

नेकपा केन्द्रीय सदस्य श्रीनाथ बरालले समृद्धिको जग राख्ने नेकपालाई समृद्धिको सारथि बन्ने जिम्मा जनताले दिइसकेको बताए।

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले अबको २ वर्षमा कुनै नेपाली सुकुम्बासी नरहने दाबी गरे। उनले भने, ‘सरकारले कानुन बनाइसकेको छ। अब केही नेपाली भूमिहीन हुनु पर्दैन। ’

कार्यक्रममा नेकपा पोखरा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछाने, नेकपा २० अध्यक्ष भीमप्रसाद बास्तोला, स्थानीय दुर्गाबहादुर गुरु, हरिप्रसाद गुरु, गञ्जमान गुरु, पोखरा २० का प्रचारप्रसार संयोजक सुशील बस्नेत लगायतले बोलेका थिए।

मंगलबार इन्दुपाखाका एक दर्जन स्थानीय नेकपा प्रवेश गरेकामा उनीहरुलाई नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, उम्मेदवार विद्या भट्टराई र वडाका चुनावी कमान्डर विश्वप्रकाश लामिछानेले स्वागत गरे। घरदैलोमा कलाकार कृष्ण भण्डारी, शिवहरि ढुंगाना, मनकुमार श्रेष्ठ लगायतले सांस्कृतिक प्रस्तुति राखेका छन्।

यसैबीच, नेकपा प्रमुख सचेतक देव गुरुङले देश र राष्ट्रिय स्वाधीनताभन्दा महत्वपूर्ण विषय केही नभएको बताएका छन्। उनले प्रतिपक्षी नेपाली काँग्रेस र विप्लव नेतृत्वको नेकपाले टेकेकै धर्तीलाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए।

काँग्रेसले सरकारको नेतृत्व गर्दा देशलाई कमजोर बनाएका उदाहरण पेश गर्दै उनले पटक पटक साम्राज्यवादी, सामन्तसँग घुँडा टेक्नेहरु लोकतन्त्रको पहरेदार हुनै नसक्ने तर्क गरे। नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले प्रतिपक्षकै शैली बदल्न उपचुनावले शिक्षा दिने तर्क गरे। उनले काँग्रेसको सरकार भएका बेला कालापानीको प्रस्ताव संसद्मा आउँदा काँग्रेसका सचेतकले विरोध गरेको र तत्कालीन सभामुख रामचन्द्र पौडेलले त्यसलाई रोकेको स्मरण गरे।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट भएपछि आमसभालाई विरोधसभाको रुप दिनुपरेको बताए। उनले नेकपाले प्रचण्ड बहुमतले जित्ने सुनिश्चित भएकाले घुसपेठ हुन सक्नेतर्फ मतदातालाई सचेत गराए। थापाले भने, ‘घुसपेठ गर्न, मत किनबेच गर्न खोज्नेलाई समात्नुस्। मतदाताले कारबाही गरे नेकपाले त्यस्तालाई जोगाउन सक्दैन। ’ सभामा नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगाना र सचिव ईश्वरी लम्सालले पनि बोलेका थिए। उता, उम्मेदवार विद्या भट्टराई अधिकारीलाई विजयी गराउन वडा ११ का बुद्धिजिवी लागेका छन्। नेकपाले मात्र शोषित पीडित, श्रमजीवी लगायत बौद्धिक वर्गको सुरक्षा र सम्मान गर्दै हक, अधिकार सुनिश्चित गर्ने सक्ने भएकाले नेकपा उम्मेदवारलाई विजयी गराउनुपर्ने बुद्धिजिवी परिचालन समिति संयोजक पदम दवाडीले बताए।

नेकपाले कास्की २ का ११ वटै वडामा थालेको घरदैलो मंगलबार सकिएको जनाएको छ। पोखरा ४ मा मंगलबार भएको घरदैलोमा रामबहादुर कोइराला, रामजी गौतम, विष्णुहरि पौडेल र नर्वदा अधिकारी नेतृत्वका टोलीले वडाका विभिन्न क्षेत्रमा पुगी मत मागेको छ।

पोखरा २१ कृष्ति नाच्नेचौरको व्युलीपीपल र राम्नीमा वडास्तरीय चुनावी सभा भएका छन्। सभालाई नेता खगराज अधिकारी, ठाकुर गैर्है, चुनावी कमान्डर दीपक पौडेल लगायतले सम्बोधन गरे।

बुधबार नेकपाको मुख्य चुनावी सभा पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा हुनेछ। नेकपा चुनाव प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले निर्वाचन हुने पोखरा महानगरका ११ वटै वडाका बासिन्दालाई बाजागाजसहित हुने र्याली र सभामा सहभागी हुन अनुरोध गरे। सभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गर्ने छन्।

Related News

सम्बन्धित समाचार

hero news full width