रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
rabindra

पोखरा । एमाले नेता रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अवसरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम भएको छ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले २ छुट्टाछुट्टै कार्यक्रम गरी उनको सम्झना गरेको हो ।

बिहान आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको प्रतिष्ठानले जनाएको छ । रक्तदान कार्यक्रम प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले उदघाटन गरेकी थिइन् ।

त्यसैगरी ‘स्मृतिमा रवीन्द्र अधिकारी’ विषयक परिसंवाद कार्यक्रममा बोल्ने वक्ताहरूले कुशल योजनाकार र जनताको सच्चा जनप्रतिनिधिका रुपमा रवीन्द्रलाई स्मरण गरे । कार्यक्रमका प्रमुख वक्ता गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राष्ट्रिय राजनीति मात्रै नभएर देशको विकासका महत्वपूर्ण योजनाकार प्रभावशाली छवि भएका नेताको रूपमा चित्रित गरे ।

प्रतिष्ठानका सदस्य कालिदास तिमिल्सिनाले विकास र समृद्धिका कुशल योजनाकार भन्दै अधिकारी आफ्ना कुरा स्थापित गर्न सक्ने अद्वितीय क्षमताका धनी भएको बताए ।
प्रतिष्ठानका अर्का सदस्य राजेन्द्रमणि लामिछानेले अधिकारी कुशल नेता मात्रै नभएर विकासका असली अभियन्ता र साझेदार भएको उल्लेख गरे ।

कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांगे्रेस कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. शान्ता खत्री, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला सहितले राजनीतिलाई संस्कार र अनुशासनसँग जोडेर विकासमा सृजनशीलता जोड्ने नेता भएको उल्लेख गरे ।

राजनीतिलाई इमानसँग जोडेर जनताको विश्वास निरन्तर जित्ने सफल नेता रवीन्द्र भएको र रवीन्द्र अधिकारीले खोजेको समृद्ध समाज निर्माणका लागि मेहनतकासाथ लाग्न कार्यक्रमका अधिकांश वक्ताहरूले जोड दिएका थिए ।

प्रतिष्ठान अध्यक्ष विद्या भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सदस्य अर्जुन अधिकारी र सञ्चालन सदस्य रश्मि आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width