नेकपा लोकतन्त्रको पहरेदार : गुरुङ

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
cpn_Fotor

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक देव गुरुङले गणतन्त्र र लोकतन्त्रको रक्षा नेकपाबाहेक कसैले गर्न नसक्ने दाबी गरेका छन्। नेकपाको चुनावी प्रचार प्रसार अन्तर्गत सोमबार आयोजित सभामा उनले भने, ‘गणतन्त्र र लोकतन्त्रको सच्चा पहरेदार काँग्रेस होइन, काँग्रेसले यसको रक्षा गर्नै सक्दैन। ’

उनले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले प्रक्रिया शुरु गरिसकेको पनि जनाए। ‘सीमा सुरक्षामा सरकार गम्भीर छ, ’ उनले भने, ‘भारतले अतिक्रमण गरेको कालापानी, लिम्पीयाधुरा र लिपुलेक फिर्ता ल्याउन सरकारले प्रक्रिया शुरु गरिसक्यो। ’ गुरुङले सरकारले आर्थिक समृद्धिका आधारहरु तयार गरिसकेको दाबी गरे। आर्थिक परिसूचकहरुमा सकारात्मक सुधार देखिएकाले समृद्धिको संकल्प पूरा हुने उनको भनाइ छ।

नेकपा कास्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले पति रवीन्द्रले कोरेको विकास र समृद्धिको खाका अनुसारै काम गरेर पोखरालाई विकास र समृद्धिको उच्चतम विन्दुमा पुर्याउने वाचा गरिन्।

नेकपा गण्डकी सहइञ्चार्ज खगराज अधिकारीले आगामी आम निर्वाचनअघि वृद्धभत्ता ५ हजार नपुर्याई फेरि भोट माग्न नआउने बाचा गरे। उनले आगामी चुनावसम्म सुकुम्बासीलाई लालपुर्जासमेत बाँडी सक्ने प्रतिज्ञा गरे।

नेकपा कास्की इञ्चार्ज राजकाजी गुरुङ करणले कोशी, गण्डकी र टनकपुर बेच्नेहरुलाई राष्ट्रियता नसिकाउन चेतावनी दिए। काँग्रेसको गलत नीतिका कारण देशको अर्थतन्त्र बिग्रिएको र परनिर्भरता बढेको आरोप उनले लगाए। सोमबार लामाचौर–बाटुलेचौर क्षेत्रमा भोट माग्न घरदैलोमा पुगेकी भट्टराईलाई स्थानीयले फूल माला र अवीरले स्वागत गरेका थिए। घरदैलोमा उनले पोखराको सौन्दर्यकरण गर्दै प्रतिवर्ष २० लाख पर्यटन भित्र्याउने योजना सुनाइन्। यता, पोखरा ७ मा सोमबार बैठक बुथ कमिटीको बैठक बसेको छ। बैठकले मतदाता एकीन गर्ने, मत पहिचान गर्ने निर्णय गरेको नेकपा वडाध्यक्ष पुरुषोत्तम रेग्मीले बताए।

पोखरा १५ मा नेकपाले घरदैलो, कोणसभा र उम्मेदवारका प्रतिवद्धता जानकारी गराएको चुनावी कमान्डर बखानसिंह तमुले उल्लेख गरे।

वडा ९ ले टोल विकास संस्थाहरुसँग भेटघाट र उम्मेदवारसहित पहारी टोल र शान्तिदर्शन टोलमा घरदैलो गरेको छ। वडा २० का चुनावी कमान्डर विश्वप्रकाश लामिछानेसहित गंगाबहादुर केसी, सुशील बस्नेत, पवित्रा गुरु, लक्ष्मी कार्की, मनभुजा विक, नरबहादुर विकको टोलीले घरदैलो गरेको छ।

वडा २१ मा उपकमिटीको बैठक, निर्मलपोखरी क्षेत्रमा घरदैलो भएको छ। वडा १७ को बाराही टोल, पुल्चोक, दोबिल्ला, लामातारा, समृद्धि टोल, महतगौडा, हनुमानटोल लगायतका क्षेत्रमा घरदैलो भएको छ। पार्टीका एजेन्डा बुझाउन र नेकपालाई मत माग्न १८ टोल कमिटी र २० जनवर्गीय संगठन परिचालन गरिएको निर्वाचन परिचालन कमिटी संयोजक सुवास ढुंगानाले जानकारी दिए। सोमबार भएको कोणसभामा सुकुम्बासी परिचालन सहसंयोजक ओमबहादुर पौडेलले अर्को चुनावमा मत माग्न आउदा लालपुर्जा लिएर आएको आश्वासन दिए।

Related News

सम्बन्धित समाचार

hero news full width