ओली सरकार पूर्ण असफल : नेतृ राना

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
congress photo 1_Fotor

नेपाली कांग्रेस नेतृ एवं सांसद विन्दादेवी रानाले केपी ओली सरकार पूरै असफल भइसकेको बताएकी छन्।

चुनावीसभामा सांसद रानाले भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहिनता, सुशासनलगायतका विषयमा यो सरकार पूरै असफल भएको र केपी ओलीलाई प्रधानमन्त्रीको पदमा बसिरहने नैतिक हैसियत अब नभएको बताइन्।

प्रधानमन्त्री ओलीको विकास र समृद्धिको कहाँ र कसरी हो त्यो आफूले बुझ्न नसकेको उनले बताइन्। ‘विकास र समृद्धि भौतिक पूर्वाधार, कृषिजन्य वस्तुको उत्पादन, दैनिक उपभोग्य सामान, युवालाई रोजगारी, धेरै भन्दा धेरै उद्योग धन्दा खोल्ने काममध्ये के–के हो? ’, उनले प्रश्न गरिन्।

‘गत वर्षको बजेटमार्फत् सबै नेपालीको बैंकमा खाता हुन्छ भन्ने तर नागरिकता वितरणमा बखेडा झिक्ने सरकारको यो रवैया के हो? प्रष्ट पार्न आग्रह गर्दछु’, उनको भनाइ थियो। उनले मौलिक हक कार्यान्वयन गर्न पनि सरकारले कानून नबनाएकोमा आपत्ति जनाइन्।

पोखरा–१५ की चुनावी कमाण्डर समेत रहेकी नेतृ रानाले संविधानमा २३ वटा आयोगको व्यवस्था गरिएको तर सरकार गठन भएको २ वर्ष पुग्दा समेत संविधान कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरिन्।

नेतृ रानाले यो चुनाव नेपाली कांग्रेसलाई जिताएर स्वदेश तथा विदेशमा सन्देश दिन आवश्यक रहेको समेत बताइन्।

उनले भनिन्, ‘सरकार हिंडेका बाटाहरू गलत छन्, सच्चिएर लोकतान्त्रिक ढंगले अघि बढ्नुपर्छ भन्नकै लागि भए पनि कांग्रेसले यो चुनाव जित्नुपर्छ। ’ सरकारको गतिविधि ठीक लागेमा नेकपालाई र गलत लागेमा कांग्रेसको रुख चिन्हमा मतदान गर्न उनले आग्रह गरिन्।

एक पटक सबै मतादातसंग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसंग राख्ने काम भएको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width