व्यवसाय सञ्चालनमा उपयुक्त वातावरण : अर्थमन्त्री

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
Dr Yubaraj Khatiwada_Fotor

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनेको दाबी गरेका छन्। व्यावसायिक वातावरण नबनेको भए बैंकमा ऋण लिनेहरुको घुइँचो नहुने उनले बताए। मन्त्री खतिवडा कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रीय कार्यालय बुधबार उद्घाटन क्रममा मन्तव्य राख्दै थिए।

‘नेपालमा विकासको गति सुस्त भयो, औद्योगिक व्यावसायिक वातावरण भएन भन्ने सुनिन्छ, एउटा सानो समूहको यो गुनासो छ, ’ मन्त्री खतिवडाले प्रश्न गरे, ‘यदि त्यस्तो हो भने अहिले बैंकहरुमा कर्जा लगानी गर्ने पैसाको अभाव छ, कर्जाको फाइल चाङ लागेर बसेको छ यो किन भयो? ’ लगानीको वातावरण बनेर नै कर्जाको माग पनि बढेको उनको भनाइ छ। ‘बैंकहरुसँग रोकिएर बसेको कर्जाको फाइलको विवरण संकलन गरेर मलाई दिनुस्’, उनले भने ‘कम्तीमा २ वर्षको कर्जाको माग छ होला, लगानीको वातावरण छैन भने त्यो कर्जा के को लागि हो? ’

मन्त्री खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्याउन नेपाल राष्ट्र बैंकलाई निदेर्शन दिएका छन्। अब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै उनले आगामी पुस मसान्तभित्र सबै स्थानीय तहमा सेवा पुर्याउन निदेर्शन दिए।

मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा आर्थिक क्रियाकलाप बढेको दाबी गर्दै उनले सबै स्थानीय तहमा छिटो बैंकिङ सेवा स्थापना गर्नुपर्ने बताए। आफू अर्थमन्त्री हुँदा ७ सय ५३ स्थानीय तहमध्ये ३६५ स्थानीय तहमा मात्रै बैंकहरुको रहेको स्मरण गर्दै उनले भने, ‘डेढ वर्ष लगातार प्रयास गर्दागर्दा अहिले आएर करिब १९ वटामा मात्र बाँकी, यो ठूलो उपलब्धि हो। त्यो बाँकी क्षेत्रमा पनि बैंक सेवा पुगून्। ’‘फेरि त्यो सेवा एकदमै दुर्गम क्षेत्रमा मात्र होइन, कतिपय सुगम भनिएका प्रदेशहरुमा पनि बाँकी छ। त्यसकारण यो पुस मसान्तभित्रमा कुनै न कुनै रुपमा बैंकिङ सेवाको पुहँच बाँकी स्थानीय तहले पनि पाउन्, ’ उनले भने।

यसैबीच, उनले बैंकहरुको मर्जर स्वेच्छिक भएको बताएका छन्। ‘बैंकहरुलाई मर्जमा जाने र नजाने उनीहरुकै ईच्छा हो तर मर्जरमा जाँदा बैंकहरुको लागि राम्रो हुन्छ, ’ मन्त्री खतिवडाले भने, ‘त्यसैले हामी मर्जरमा जान आग्रह गछौँ। ’ उनले थपे, ‘लोकतन्त्रमा जबर्जस्ती हुँदैन तर स्वस्फूर्त रुपमा मर्जमा गए बैंकलाई नै फाइदा हुन्छ, मर्जरलाई प्रोत्साहन गर्नुपर्छ। ’

मन्त्री खतिवडाले बैंकहरुले आफू बलियो बन्न ग्राहकलाई पनि बलियो बनाउनुपर्ने बताए। ग्राहकलाई बलियो बनाउन बैंकले उत्पादनमा लगानी बढाउनुपर्ने उनको भनाइ छ। उपभोगमा गर्ने कर्जा लगानीले एकपटक नाफा भए पनि दीर्घकालीन रुपमा भने नहुने तर उत्पादन कर्जा थोरै भए पनि दीर्घकालीन नाफा हुने उनले बताए।

उनले विकास बैंकलाई साना तथा मझौला उद्योगमा लगानी बढाउन आग्रह पनि गरे। अर्थमन्त्री डा खतिवडाले ८० प्रतिशत नागरिकको बैंक खाता रहेको बताएका छन्। उनले सामाजिक सुरक्षा, कर तथा विभिन्न सरकारी कार्यमा बैंक खाता अनिवार्य भएकोले अब केही समयभित्रै सबै नेपालीको बैंक खाता हुने दाबी गरे।

Related News

सम्बन्धित समाचार

hero news full width