नेकपाबाट विद्या, काँग्रेसले टुंग्याएन

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
photo

निकै महत्वका साथ हेरिएको कास्की २ को उपनिर्वाचनका लागि दलहरुले उम्मेदवार टुंग्याउन थालेका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सहित केही साना दलहरुले आइतबार उम्मेदवारको टुंगो लगाएका छन्।

नेकपाले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार साँझसम्म बसेको सचिवालय बैठकले कास्कीमा भट्टराईलाई उठाउने र बागलुङको प्रदेशसभा चुनावमा राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको हो।

कास्की जिल्ला कमिटीले सर्वसम्मत भट्टराईको नाम सिफारिस गरेपनि प्रदेशले पूराना नेता सोमनाथ अधिकारी प्यासी र यूवानेता राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा सिफारिस गरेपछि केही अन्यौल बढेको थियो। यद्यपी चौतर्फी दवावपछि भट्टराईले पछि थपिएका दुवै आकांक्षीलाई रिङ आउट गरिदिएकी छिन्। अनेरास्ववियु मार्फत विद्यार्थी राजनीतिमा होमिएकी विद्या रवीन्द्रसँग विहे गरेपछि विस्तारै निस्कृय बनेकी हुन्। तत्कालीन समयमा उनले अनेरास्ववियुको केन्द्रीय सचिव भएर काम गरेकी थिईन्। पछि उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्यापन गर्न थालिन्।

चुनावमा उम्मेदवारी दिनकै लागि विद्याले जागिरबाट राजीनामा बुझाएकी छिन्।

नेकपासँगै प्रजातन्त्र पार्टी नेपाल, साझा पार्टी र समाजवादी पार्टी नेपालले पनि उम्मेदवार टुंगो लगाएका छन्।

साझा पार्टीले सबैभन्दा पहिले उम्मेदवार घोषणा गरेको हो। नेपाली काँग्रेस छोडेर २ महिना अघि साझा छिरेकी रजनी केसीलाई उम्मेदवार बनाएको हो। उनी लामो समय पोखरा विश्वविद्यालयमा कार्यरत थिईन्। उपचुनावमा उम्मेदवार बन्नकै लागि केसीले स्थायी जागिरबाट राजीनामा दिएकी थिईन्। उनी साझा पार्टीको केन्द्रीय सदस्य हुन्।

प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारीलाई उम्मेदवार घोषणा गरेको छ। उनी तत्कालीन छिनेडाँडा गाउँपञ्चायतको प्रधानपञ्च (२०२८ देखि २०३३), २०३३ देखि ०३९ सम्म जिल्ला पञ्चायतको क्षेत्रीय सभापति भए भने २०३९ देखि ०४३ सम्म वडा नम्बर १५ का वडाध्यक्ष बनेका थिए। २०२४ देखि २८ सम्म शुक्रराज प्राविको प्रधानध्यापक भएर काम गरेका थिए।

समाजवादी पार्टी नेपालले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी ईञ्जिनियर तथा भूपू गोर्खा सैनिक हुन्। बागलुङमा आफुलाई सघाउने भएपछि राष्ट्रिय जनमोर्चाले कास्कीमा उम्मेदवारी नदिने भएको छ। अन्य पार्टीहरु पनि आन्तरिक छलफलमा ब्यस्त छन्।

यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा भने आकांक्षी धेरै भएका कारण उम्मेद्वार छान्न निकै सकस परेको छ। आफ्नो भागमा परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो विश्वासपात्र खोजिरहेका छन्। यो क्षेत्रमा केन्द्रीय सदस्य धनराज गुरुङ चुनाव लड्ने चर्चा पनि निकै चलेको छ। उनी पौडेल निकट मानिन्छन्। अघिल्लो चुनावमा रवीन्द्रसँग पराजीत देवराज चालिसेको सम्भावना पनि बलियो छ। चालिसे पनि पौडेल पक्षकै रुपमा चिनिन्छन्। यद्यपी पूराना नेता खेमराज पौडेलको नाम पनि चर्चामा छ।

यो क्षेत्रमा चुनाव लड्न १६ जनाले आकांक्षा देखाएका थिए। क्षेत्रीय समितिबाट जिल्ला हुँदै केन्द्रमा १६ जनाकै नाम सिफारिस भएको छ। धेरै नाम भएका कारण च्याट्टै टुंग्याउन समस्या भएको बुझिएको छ। उम्मेदवार टुंग्याउन आईतबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष सकिएको छ। सोमबार अर्को बैठक बसेर उम्मेदवारको टुंगो लगाउने केन्द्रीय समितिले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width