विवादमा फस्यो पुरस्कार

एजेन्सी
श्रावण ७, २०७६
bibadha_Fotor

नेपालमा प्रत्येक वर्ष एक दर्जनको आसपासमा फिल्म अवार्ड आयोजना हुने गर्दछन्। तर, आजसम्म कुनै अवार्ड विवादरहित हुन सकेको छैन। राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्तिका कारण नेपालमा फिल्म अवार्ड सधैं विवादित बन्ने गरेको छ। न दिनेले यसको महत्त्व बुझाउन सकेका छन्। न लिनेले यसको महत्त्व महसुस गर्न सकेका छन्। एउटा अवार्डमा उत्कृष्ठ ठहरिएको कलाकार अर्को अवार्डको मनोनयनमा पनि पर्दैन। नेपाली फिल्म अवार्डमा ’पैसा र आफन्तवाद’ हाबी छ।

उत्कृष्ट कामको सम्मान र भविष्यका लागि प्रोत्साहनस्वरुप अवार्ड प्रदान गरिनु पर्ने हो। तर, नेपालमा कामको मुल्यांकन गरेर अपवादले मात्र अवार्ड पाउँछन्। प्रायः पैसाको बार्गेनिङमा अवार्ड बाँडिने गरिन्छ। नेपालमा अवार्ड यतिसम्म लाजमर्दो हुन थालेको छ कि, सह-अभिनेतालाई उत्कृष्ट अभिनेताको अवार्ड निर्धक्क दिइन्छ। न राम्रो व्यापार न राम्रो तारिफ पाएको फिल्म उत्कृष्ट घोषित हुन्छ। अवार्ड समारोहमा नाचेपछि कुनै न कुनै विधामा अवार्ड थमाइन्छ।

नेपाली फिल्म अवार्ड ‘दिनेलाई भन्दा हेनेर्लाई लाज’ भनेजस्तो हुन थालेको छ। यसले फिल्म अवार्डको गरिमा त गम्दै गएको छ नै दर्शक र फिल्मकर्मीमा समेत चासो शुन्य बराबर छ। अचेल फिल्म अवार्ड समारोहमा सहभागी हुनका लागि आयोजकले फोन गरेर बोलाउँदा पनि कलाकारहरु उपस्थित हुन छाडेका छन्। पुराना कलाकारहरु फुर्सदको समय सदुपयोग गर्न धेरथोर पुग्छन्। अहिलेका चलेका कलाकारहरुको त नाक-मुख देखिन्न। पुग्नेहरु पनि अवार्ड पाउने पक्का भएपछि मात्र उपस्थित हुन्छन्।

प्राइभेट कम्पनीले गर्ने अवार्ड मात्र होइन नेपालमा राष्ट्रपतिको हातबाट सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले प्रदान गर्ने ’राष्ट्रिय चलचित्र पुरस्कार’ पनि विवादबाट टाढा हुन सकेको छैन। नेपालमा राष्ट्रिय पुरस्कारको आफ्नै गरिमा छ? तर, यो अवार्ड पनि विवादमुक्त रहन नसक्दा दर्शक र फिल्मकर्मीमा अवार्डप्रतिको सम्मान झनै गिरेको छ। हिजो (शुक्रबार) साँझ शीतल निवास (राष्ट्रपति भवन) मा तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय अवार्ड एकसाथ बाँडियो। तर, यसपटक पनि विवादरहित हुन सकेन।

अवार्ड सम्पन्न भएसँगै सामाजिक सञ्जालमा फिल्मकर्मीबाट ’राष्ट्रिय चलचित्र पुरस्कार’ को आलोचना तथा विरोध हुन थालेको छ। अवार्ड पाउनेले गर्वले छाती चौडा भएको भन्दै राष्ट्रपतिको हातबाट प्राप्त गरेको अवार्डको फोटो सामाजिक सञ्जालमा हालेर लाइक्स र कमेन्ट गर्ने बसेका छन्। नपाउनेले असन्तुष्टि जनाएका छन्। असन्तुष्टि जनाउने मध्येका एक हुन् फिल्म ’पञ्चायत’ का निर्देशक शिवम् अधिकारी। उनले नेपालबाट अस्कारका लागि छानिएको आफ्नो फिल्मले राष्ट्रिय अवार्ड नपाएको भन्दै फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरे।

शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले ‘अवार्ड किन्न पैसा बोकेर हिँड्नु पर्ने हो’ भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई प्रश्न गरेका थिए। तर, उनले केही घण्टामा नै स्टाटस डिलिट गरे। निर्देशक अधिकारीले उक्त स्टाटस कसैको दबाबमा हटाए वा स्वइच्छाले? त्यो भने उनै जान्दछन्। यद्यपि, नेपालबाट अस्कारका लागि छनोट भएको फिल्म (पञ्चायत) ले कुनै विधामा राष्ट्रिय अवार्ड प्राप्त नगर्नु आफैंमा आश्चर्यको कुरा भने हो। तर, नेपालमा पाउनु पर्ने फिल्मले अवार्डको मुख नदेख्नु अनौठो भने अवश्य होइन। वषौर्देखि शीतल निवासको साँधुरो कोठामा हुँदै आएको राष्ट्रिय चलचित्र पुरस्कारमा थुप्रै गिनेचुनेका कलाकारले उपस्थिति नै जनाएनन्। त्यसमध्येकी एक हुन् अभिनेत्री करिश्मा मानन्धर। उनले फेसबुकमार्फत् घुमाउरो शैलीमा राष्ट्रपतिको घरमा गएर नाच्न आफूलाई स्वीकार्य नभएको बताएकी छन्। अवार्ड सम्पन्न भएपछि उनको स्टाटसको कमेन्टमा अभिनेता सरोज खनालले राष्ट्रपति निवासमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा आराम गर्दै गरेको तश्विर पोस्ट गरेका छन्, जसले ’राष्ट्रिय चलचित्र पुरस्कार’ कै खिल्ली उडाएको छ।

उनले तश्विरसँगै लेखेका छन् ’सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे। म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे। के गरुँ आफ्नै क्षेत्रको दुर्दशा। पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र शेयर गरिनँ। तर, मनको बह कसैलाई भन्नु भन्छन्। त्यसैले आई शेयर विथ यू। ’ उनले ’राष्ट्रिय चलचित्र पुरस्कार’ मा नृत्य प्रस्तुत गरेका थिए।

अभिनेता खनाल राष्ट्रपति निवासमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा बसेको तश्विर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। उक्त तस्वीर बाहिरिएपछि फिल्मकर्मीले राष्ट्रिय अवार्डको व्यवस्थापन गरेको चलचित्र विकास बोर्डको आलोचना गरेका छन्। अवार्डमा नृत्य गर्ने मध्येका एक अभिनेता रमेश उप्रेतीले पनि अभिनेता खनाल कमेन्टको स्क्रिन सट’ आफ्नो फेसबुकमा साझेदार गरेका छन्। यसको अर्थ, उनी पनि ’राष्ट्रिय चलचित्र पुरस्कार’ को व्यवस्थापनबाट रुष्ट छन्।

राष्ट्रपति भवनमा बस्ने ठाउँ नभएर देशका गहन भनिने कलाकार ट्वाइलेटमा बस्न बाध्य हुनुले ’राष्ट्रिय चलचित्र पुरस्कार’ को गरिमा कति उचो वा सम्मानित बनायो? कलाकारको सम्मान र प्रोत्साहनमा आयोजना भएको देशको सबैभन्दा ठूलो पुरस्कारमा कलाकारले नै अपमान महसुस गर्नुले राष्ट्रिय अवार्डको औचित्यमाथि नै ठूलो प्रश्न उठेको छ। यद्यपि, चलचित्र विकास बोर्डले तीन वर्षदेखि रोकिएको अवार्ड गरेर एउटा सफलता भने हासिल गरेको छ। तर, अवार्ड गर्न सफल भएकोमा गर्व गर्ने वा कलाकारको अपमान भएकोमा माफी पनि माग्ने त्यो बोर्डमा निहित छ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width