थ्रीस्टारको जितमा अनिलको ह्याट्रिक

नारायण शाही
फागुन १३, २०७५
Three Star

hjytgugkuc yku

तस्विर : सुदर्शन रञ्जित

पोखरा, १३ फागुन । अनिल गुरुङको ह्याट्रिकसँगै ललितपुरको रुस्लान थ्रीस्टार क्लबले पाहुना टोली युनाइटेड सिक्किममाथि गोल वर्षा गराएको छ ।

पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपमा थ्रीस्टारले पाहुना टोलीमाथि गोल वर्षा गराउँदैे सेमीफाइनल यात्रा गरेको छ । सोमबार भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टारले सिक्किमलाई ५–२ को गोल वर्षा गरायो ।

थ्रीस्टारको जितमा अनिल गुरुङले ८५ औं मिनेटमा ह्याट्रिक पूरा गरे । २६ औं मिनेटमा पेनाल्टीबाट टोलीका लागि गोलको खाता खोलेको अनिलले ८५ औं मिनेटमा पाँचौ गोल र व्यक्तिगत ह्याट्रिक पूरा गरे । अनिलले ८१ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरेका थिए ।

युनाइटेड सिक्किमका सञ्जय क्षेत्रीको फाउलमा अनिलले पेनाल्टी गोल गर्दै टोलीलाई अग्रता दिलाए । सुनिल बलको कर्नरमा युनाइटेड सिक्किमका कीपर उर्गेन पिन्स्टो शेर्पाले पञ्च गरी फर्काएको बललाई नियन्त्रण लिने क्रममा सञ्जयले शुशील राईलाई डी–एरियाभित्र लडाएपछि नविन्द्र महर्जनले थ्रीस्टारलाई पेनाल्टीको अवसर दिए ।

प्रतियोगिताकै पहिलो पेनाल्टी अवसरलाई कुनै गल्ती नगरी अनिलले सेकेण्ड बार च्याप्दै गोल गरेका थिए । सिक्किमका कीपर उर्गेनले सही निर्णयका साथ डाइभ गरेपनि अनिलको पेनाल्टी प्रहारलाई छेक्न सकेनन् ।

अनिलले दोस्रो व्यक्तिगत गोल पनि पेनाल्टीबाटै गरे । सिक्किमका मोबिन राईले डिएरियाभित्र अनिल गुरुङलाई लडाएपछि थ्रीस्टारका लागि दोस्रो पेनाल्टी अवसर जुटेको थियो । कुनै गल्ती नगरी अनिलले दोस्रो पेनाल्टी अवसरलाई पनि सदुपयोग गरे र टोलीलाई ४–० को स्थितिमा पु¥याए । युनाइटेड सिक्किमका कीपर उर्गेनले अनिलको दोस्रो पेनाल्टी प्रहारको सही दिशा पक्डेपनि पुनः असफल रहे । अनिलले पसेकेण्ड बार च्याप्दै गरेको पेनाल्टी प्रहारलाई सही डाइभ गरेपनि उर्गेनले भेट्न सकेनन् ।

खेलको ८५ औं मिनेटमा अनिलले व्यक्तिगत ह्याट्रिक र टोलीका लागि पाँचौ गोल गरे । युनाइटेड सिक्किमका तीन डिफेण्डरलाई छक्याउँदै अनिलले उक्त गोल गरेका थिए । सिक्किमका डिफेण्डर समीर प्रधानको गल्तीका कारण थ्रीस्टारका लागि पाँचौ गोलको अवसर जुटेको थियो । बुद्धराज लिम्बुले मार्टिन्सका लागि क्रस निकालेको बललाई डीएरियाको लाइनबाट समीरले क्लियर गर्न नसकेको उक्त बल डी एरिया बाहिर रहेका मार्टिनसामु पुग्यो र मार्टिन्सले अनिललाई क्रस निकालिदिए ।

थ्रीस्टारलाई सिक्किमबाट एक आत्मघाती गोलको उपहार र स्ट्राइकर अजयी मार्टिन्सले एक गोलको योगदान गरे । युनाइटेड सिक्किमले दिएको आत्मघाती गोलले थ्रीस्टारका लागि अग्रता दोब्बर बन्यो ।

एक गोलले पछि परेको युनाइटेड सिक्किमका जिग्मी दोर्जी शेर्पाले ५१ औं मिनेटमा आत्मघाती गोल गरे । अनिलले डी एरियाभित्र रहेका मार्टिन्सलाई क्रस निकालेको बललाई जिग्मीले क्लियर गर्न खोज्दा कीपर उर्गेन्ससँग डिफ्लेक्ट हुँदै पुनः जिग्मीको डिफ्लेक्टमा आत्मघाती गोल भएको थियो ।

मार्टिन्सले टोलीका लागि ७० औं मिनेटमा गोल गरे । युनाइटेड सिक्किमको डिफेन्सिभ ल्याप्सको फाइदा उठाउँदै मार्टिन्सले टोलीका लागि तेस्रो गोल गरे । युनाइटेड सिक्किमका किपर उर्गेन्ससँगको वान भर्सेज वानको स्थितिमा मार्टिन्सले गोल गरेका थिए । मार्टिन्सले सञ्जय क्षत्री र जिग्मी दुई डिफेण्डरलाई छक्याउँदै गोल गरेका थिए ।

बलियो थ्रीस्टारसामु खरो प्रतिष्पर्धामा उत्रिएको पाहुना टोली युनाइटेडले भने निर्धारित समयको अन्त्यतिर दुई गोल फर्कायो । युनाइटेड सिक्किमको तर्फबाट ८९ औं मिनेटमा सोनाम छिरिङ र ९० औं मिनेटमा ओङ छिरिङ लेप्चेले पेनाल्टीमार्फत गोल गरे ।

सोनाम छिरिङले खेलको ८९ औं मिनेटमा टोलीका लागि पहिलो गोल गरे । क्याप्टेन लेण्डुप भुटियाले मैदानको दायाँ भागबाट क्रस निकालेको लङ बललाई सोनामले हेड गोल गरे । थ्रीस्टारका सब्सीच्युट कीपर पूर्ण चेम्जोङ बीट भएको अवस्थामा सोनामले गोल गर्न सफल रहे ।

युनाइटेड सिक्किमका लागि दोस्रो गोल पेनाल्टीमार्फत भएको थियो । खेलको इञ्जुरी समयमा ओङ छिरिङले पेनाल्टी गोल गर्दै टोलीलाई २–५ को स्थितिमा पु¥याए । थ्रीस्टार डिफेण्डर पिटर सेगुनको ह्याण्डबलमा युनाइटेडले पेनाल्टी पाएको थियो । आशिष क्षत्रीले डी बक्सभित्र रहेका सोनामलाई निकालिदिएको लामो क्रस बललाई क्लियर गर्न खोज्दा सेगुनको ह्याण्ड भएको थियो ।

युनाइटेड सिक्किमका प्रशिक्षक मायाल डोक लेप्चाले टोलीका लागि दुर्भाग्य भएको पोष्ट म्याच कन्फरेन्समा प्रतिक्रिया दिए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले टोलीको प्रदर्शनप्रति खुशी व्यक्त गरे ।

खेलको ह्याट्रिक हिरो अनिल म्यान अफ दि म्याच बने । सहारा एफसी युकेका सल्लाहकार चन्द्रमान गुरुङले अनिललाई नगदसहित ट्रफी प्रदान गरे ।

मंगलबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र विदेशी डफिन्स फेमिली टिम क्यामरुनबीच हुने आयोजक सहारा क्लबले बताएको छ । नेपाल पुलिस क्लब गत वर्षको आहा रारा गोल्ड कपको डिफेण्डिङ च्याम्पियन हो भने डफिन्स फेमिली हालै पोखरामा सम्पन्न मनकामना पोखरा कपको  विजेता हो ।

Related News

सम्बन्धित समाचार

hero news full width