सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८१
social audit

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा रहेका सहरी बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गर्दै आइरहेको केन्द्रले यो वर्षमात्र घरेलु श्रममा रहेका ११ जना, होटल–रेष्टुराँमा काम गर्ने २६, वर्कसपमा काम गर्ने १ सय ८८, निर्माण खानीमा काम गर्ने ७९ एवं अन्य क्षेत्रमा कार्यरत् ७४ जना गरी ३ सय ७७ जनालाई सेवा प्रदान गरेको छ ।

केन्द्र अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार बालश्रम न्यूनीकरण कार्यक्रममार्फत हालसम्म ७३ जनालाई अनौपचारिक कक्षा, ४२ जनालाई पुनस्र्थापना ३२ जनाको जन्मदर्तासहितका कानूनी प्रक्रियामा सघाइएको छ । यस्तै १ सय ८६ बालबालिकालाई अनौपचारिक जीवनपयोगी शिक्षा प्रदान गरिएको, १४ बालश्रमिकको परिवार सवलीकरणमा सघाइएको, ३० महिला समूह गठनसहित बालश्रमविरुद्ध परिचालित गरिएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत २ सय ९६ जना बालबालिकालाई उपचारात्मक सहयोग प्रदान, बाल क्लब र युवा क्लब गठनदेखि बालबालिकाको लागि भ्रमणको व्यवस्थापन गरिएको छ ।

जीविकोपार्जन तथा शिक्षा परियोजनाअन्तर्गत ३ सय २५ जना बालबालिकाहरुलाई वर्षको २ पटक शैक्षिक सामग्री प्रदान गरिएको, १२ देखि १८ वर्षसम्मका बालिकाको लागि जीवन सिकाइ परियोजनामार्फत ७ सय २० जनालाई व्यवहारिक सीप तथा साक्षरता कार्यक्रम सञ्चालन गरिएको पनि अध्यक्ष लालचनले बताए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पर्यटकीय क्षेत्रमा बालश्रमको जोखिम सधैँ रहीरहने बताउँदै न्यूनीकरणको लागि सामूहिक प्रतिवद्दताको खाँचो औंल्याए ।

संघ अध्यक्ष पवनकुमार प्रजापतिले सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरुले आफूले गरेका गतिविधिहरु पारदर्शी तरिकाले जनसमक्ष राख्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width