माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०८१
Oranged

स्याङ्जा । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तीले माटो सुहाउँदो उत्पादन गरेमा रोजगारकै निम्ति विदेशिनु नपर्ने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोन सञ्चालन समन्वय समितिको बुधबार चौंथो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

स्याङ्जाको माटोमा सुन्तला उत्पादन अत्यन्तै राम्रो हुने गरेको र बर्सेनि सुन्तलाबाटै लाखौँ रुपैयाँ आर्जन गर्न सफल भएको उनको भनाइ छ । राष्ट्रिय फलका रुपमा सुन्तलालाई घोषणा गरिनु स्याङ्जावासीका लागि गौरवका कुरा भएको उनले बताए ।

कार्यक्रममा समन्वय समिति उपप्रमुख खड्गराज सुवेदी, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, बिरुवा गाउँपालिका अध्यक्ष सूर्य कुँवर, सुन्तला सुपरजोन परियोजना कार्यान्वयन इकाइ कार्यालय प्रमुख माधव लम्साल, पत्रकार महासंघ उपाध्यक्ष भवानी अधिकारी, सुपरजोन सञ्चालक समिति पूर्व अध्यक्ष बोधराज अर्याललगायतले सुन्तला उत्पादनमा वृद्धि गरी आर्थिक समृृद्धि हासिल गर्र्नुपर्नेमा जोड दिएका थिए ।

समिति अध्यक्ष ताराप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तीरमाया गुरुङले स्वागत र सहसचिव यामबहादुर केसीले सञ्चालन गरेका थिए ।

गत वर्षमात्र स्याङ्जामा १ अर्ब १४ करोडको र अघिल्लो वर्ष १ अर्ब ३८ करोडको सुन्तला उत्पादन भएको थियो ।

जिल्लामा सुन्तला किसान यामबहादुर सेन, रामप्रसाद भण्डारी, ज्ञानेश्वर चापागाईं, नवीना गुरुङ, मुक्तिप्रसाद अधिकारी, शालिकराम अर्याल, फणिनारायण अर्याल, कृष्णबहादुर अधिकारी, केशव गुरुङ र पत्रकार हिमाल न्यौपानेलाई सम्मान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width