कांग्रेस र एमालेको सरकार निर्माण हुनु जरुरी छ : नेता कोइराला   

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०८०
shekhar koirala

मोरङ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मुलुकमा अहिले देखिएको अप्ठ्यारो परिस्थिति अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले प्रत्येक वर्ष सङ्घीय र प्रदेशको सरकार परिवर्तनले मुलुकमा समस्या उत्पन्न हुनाले एउटा स्थिर सरकार निर्माणका लागि कांग्रेस र एमालेको बाहेक अन्य विकल्प हुन नसक्ने प्रष्ट पार्नुभयो । नेता डा कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भए पनि संविधान निर्माणका लागि कांग्रेसक नै आवश्यक परेको विगत स्मरण गर्नुभयो ।

उहाँले कांग्रेस र एमालेको संयक्त सरकार निर्माणको पहल आफूले सुरु गरेको चर्चा गर्दै समय आएपछि कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले संयुक्त सरकार निर्माणका लागि नेता, दलबीच, निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा छलफल गरी निर्णय हुने धारणा राख्नुभयो ।

सङ्घीय सांसद डा कोइरालाले संविधान सुधार, अर्थतन्त्रको चलायमान गराउनु र मुलुकमा राजनीतिक स्थिरता मुख्य आवश्यक्ता रहेको बताउनुभयो । एक प्रश्नको जवाफमा उहाँले कोशी प्रदेश सरकारले अहिलेदेखि दुई वर्षसम्म विश्वासको मत लिनुपर्ने छैन भन्दै यो सरकार धारा ५ अनुसार निर्माण भएकाले जरुरी नभएको बताउनुभयो ।

उहाँले कोशी सरकार अल्पमतमा समेत नरहेकोले अन्य पार्टीले समर्थन फिर्ता लिए पनि राजीनामा दिनुपर्छ भन्ने नरहेको बताउनुभयो । त्यो नैतिकताको कुरा मात्र भएको नेता कोइरालाले प्रष्ट पार्नुभयो । रासस

Related News

सम्बन्धित समाचार

hero news full width