भगीरथको ‘मेरो जीवनयात्रा’ लोकार्पण

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०८०
book

पोखरा । समाजसेवी एवं शिक्षासेवी भगीरथ सापकोटाद्वारा लिखित कृति ‘मेरो जीवनयात्रा’ पोखरामा लोकार्पण भएको छ । त्रिवेणी संगीतालयद्वारा आयोजित कार्यक्रममा कृति लोकार्पण गर्दै पूर्व मन्त्री त्रिलोचन ढकालले लामो समयदेखि स्रष्टासँग आफू नजिक रही सहकार्य गरेको बताए । उनले गरेका संघर्ष, राजनीतिक उतारचढाव, समाजप्रति खेलेको भूमिका, शैक्षिक योगदानबारे चर्चा गरे । ८७ वर्ष पार गरिसकेका सापकोटाको सक्रियताबाट आफूलाई पनि ऊर्जा मिलेको भन्दै पूर्व मन्त्री ढकालले पुस्तकबाट धेरै प्रेरणा मिल्ने बताए ।

समारोहमा पुस्तक सम्पादक उमाकान्त पौडेल, बामदेव पौडेल, प्राडा यमबहादुर पौडेल क्षत्री, मीना शर्मा, गोविन्द सापकोटा, टीकाराम सापकोटा, डा. कवीन्द्र सापकोटा लगायतले स्रष्टालाई बधाई दिँदै शुभकामना मन्तव्य व्यक्त गरे ।

स्रष्टा भगीरथ सापकोटाले जीवनयात्राको क्रममा भोगेका अनुभव र अनुभूति, सामाजिक,राजनीतिक एवं शैक्षिक विषय समेटेर जीवनको उत्तरार्धमा पुस्तक तयार पारेको बताए । उनले पुस्तक प्रकाशनमा त्रिलोचन ढकाल लगायत व्यक्तिहरुको प्रेरणा मिलेको स्मरण गरे ।

त्रिवेणी संगीतालयका प्रबन्ध निर्देशक संगीतकार नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सरिता सापकोटाले स्वागत तथा बुद्धिसागर सापकोटाले सञ्चालन गरेका थिए । सो अवसरमा संगीतालयले स्रष्टा सापकोटालाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको थियो । ३ भागमा समेटिएको उक्त कृति स्रष्टाको पहिलो कृति हो ।

Related News

सम्बन्धित समाचार

hero news full width