‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
barma kumari

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाद्वारा शनिबार आयोजित राजयोगी ब्रह्मकुमार झंकनाथ पौडेलको ईश्वरीय जीवनको स्वर्ण जयन्ती तथा लौकिक जीवनको ८५ औं जन्मोत्सव कार्यक्रमका बीच मुख्यमन्त्री अधिकारीले त्यस्तो बताएका हुन् ।

मुख्यमन्त्री अधिकारीले एकाग्र चिन्तनका साथ कार्य गरे हरेक कार्यमा सफलता प्राप्त गरिने विश्वास व्यक्त गर्दै जीवनमा धन, पद, प्रतिष्ठा क्षणिक हुने बताए ।जीवनलाई सुखमय बनाउन तुलना गर्न नहुने औँल्याउँदै मुख्यमन्त्री अधिकारीले मानिसले मन र शरीरलाई एकै ठाउँमा राख्न सक्दा मात्रै आनन्द मिल्ने स्पष्ट पारे ।

मानवीय शान्तिका लागि कार्य गर्न सबैसँग आग्रह गर्दै मुख्यमन्त्री अधिकारीले झंकनाथ पौडेलको जीवनबाट एकाग्र चिन्तनको पाठ सिक्न सबैलाई सुझाव दिए ।

प्रदेशसभा सदस्य श्यामराजा महतले भगवान्को धारणा गर्दा शान्ति मिल्ने औंल्याउँदै गरिब निमुखाको सेवा गर्न सुझाव दिए । उनले विश्वविद्यालयका कार्यक्रममा प्रशारण हुने गीत संगीतलाई नेपालीकरण गर्न आग्रह गर्दै शान्ति पूर्वक क्रान्तिमा होमिनुपर्ने धारणा राखे ।

कार्यक्रमका बीच अथक ईश्वरीय सेवाधारी राजयोगी ब्रह्मकुमार झंकनाथ पौडेल र उनकी श्रीमती पार्वती पौडेललाई सम्मान गरियो । उनलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपालकै वरिष्ठ सदस्य तथा त्याग एवम् तपस्याका प्रतिमूर्ति भएको भन्दै जन्मोत्सवको अवसरमा सम्मान गरिएको हो ।

ब्रह्मकुमार झंकनाथले सबै आत्माको पिता शिव बाबा भएको उल्लेख गर्दै सम्मान गरेकोमा आयोजक प्रति आभार जनाए । उनले भगवानको महिमा अपरम्पार रहेको छ भन्दै ज्ञानमा समर्पित बन्दाको आनन्द महत्वपूर्ण हुने धारणा राखे । आत्मविश्वास सफलताको पहिलो सिढी भएको जनाउँदै झंकनाथले ईश्वरीय पाठ्यक्रम पूरा गर्न सहभागिको ध्यानाकर्षण गराए ।

पार्दी शाखा सञ्चालिका ब्रह्मकुमारी अमृतले शिव बाबा र भगवान्का लागि झंकनाथ पौडेलको योगदान अतुलनीय रहेको स्मरण गरिन् ।

त्यस अवसरमा, पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगी, लब्ली हिल शाखा प्रमुख सुधा दिदी, झंकनाथका भाञ्जा दिलप्रसाद पोखरेल, सम्धी लिलाधर पोखरेल लगायतले पनि धारणा राखे ।कार्यक्रममा स्वस्तिका ढकाल, दिव्य भारती र निकिता अधिकारीले विभिन्न प्रस्तुति राखे ।

पार्दी शाखा सञ्चालिका ब्रह्मकुमारी अमृतको अध्यक्षतामा भएको उक्त कार्यक्रम ब्रह्मकुमार शिशिर रेग्मीले संचालन गरे।

Related News

सम्बन्धित समाचार

hero news full width