फिर्केको मापदण्ड ५ कि १० मिटर ?

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०८०
Firke Khola Photo 3

पोखरा । फिर्के पोखराको बीच भागबाट बग्ने खोला हो । तर फिर्के मिच्नेहरु यसलाई खोला मान्नै तयार छैनन् । उनीहरु भन्छन्, ‘फिर्के मुख्य नहर हो । जहाँ महानगरले साना नालीहरु ल्याएर हुत्याउने गर्छ । नहरलाई खोलाको मापदण्ड लगाउनु उचित होइन ।’

फिर्केमा १ मिटरभन्दा बढी मापदण्ड लगाउन नहुने उनीहरुको तर्क छ । स्थानीय सरकारले पूर्व निर्धारित मापदण्ड कार्यान्वयन गर्न नसक्दा फिर्केमाथि जबर्जस्ती गर्नेहरु बढेका छन् । मापदण्ड ५ मिटर कायम गर्ने गरी २०७५ सालमा गरिएको नापीले फिर्के किनारका करिब २ सय घर भत्काउनुपर्ने तथ्यांक निकालेको थियो तर २०७५ पुस ६ गते बसेको कार्यपालिका बैठकले फिर्के, बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर कायम गर्ने निर्णय गरेको थियो । १० मिटरभित्र कति संरचना पर्छन् भन्ने तथ्यांक चाहिँ निकालिएको छैन । ५ मिटरको प्राविधिक रिपोर्टअनुसार १ सय ९२ घरटहरा मापदण्डविपरीत छन् । तीमध्ये स्कुलमात्रै ३ वटा छन् । पोखरा इन्जिनियरिङ कलेज, लिटिल स्टेप बोर्डिङ स्कुल र अमरज्योति स्कुलले मापदण्ड मिचेका रिपोर्टमा लेखिएको छ ।

खोलाघर छुट्टाएपछि फिर्केको सौन्दर्यकरण गर्ने महानगरको योजना

फिर्के मिच्नेमा सरकारी कार्यालय र सामाजिक संघसंस्था पनि निकै धेरै छन् । तत्कालीन रिपोर्टमा १३ सामाजिक संघसंस्था र ७ सरकारी कार्यालयले फिर्केको मापदण्डभित्रै संरचना बनाएका खुलेको थियो । पोखरा ६ स्थित वडा प्रहरी कार्यालय बैदाम, प्रहरी अस्पताल, प्रहरी ब्यारेक, जिल्ला अदालत, वडा ७ को सशस्त्र प्रहरी कार्यालय, प्रदेश प्रहरी गण र प्रदेश प्रहरी कार्यालय मापदण्डभित्र पर्छन् । यस्तै, बराल कुल मन्दिर, लायन्स क्लब, पोखरा ८ स्थित बराल समाज, नेपाल मगर संघ, सोंपाल तमु समाजघर, फिर्के तमु समाजघर, बहिरा संघ, राधाकृष्ण बहुउद्देश्यीय भवन र पश्चिमाञ्चल प्रहरी गणले मापदण्डविपरीत घरटहरा बनाएका हुन् । नेपाल पुन मगर समाज, अर्चलबोट आमा समूह, सहनशील आमा समूह भवन, गिरी कुल मन्दिर, पोखरा क्यान्सर केयर सेन्टर, बराल कुल मन्दिर, लायन्स क्लब, बराल समाज, नेपाल मगर संघ, सोंपाल तमु समाज, फिर्के तमु समाज, बहिरा संघ र राधाकृष्ण बहुउद्देश्यीय भवन पनि ५ मिटरभित्रै पर्ने रिपोर्ट छ ।

३० घर सुकुमबासीका छन् भने अरु पहुँचका भरमा घर बनाएर बसेकाहरु छन् । इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा त्यसबेला ५ मिटरभित्र पर्ने घर र जग्गा नापेर चिन्ह लगाइएको थियो । एउटा अध्ययन सकिएको ५ वर्ष नबित्दै पोखराले पुनः अर्को अध्ययन सुरु गरेको छ । प्राविधिक बासुदेव पौडेलको संयोजकत्वमा गठित समितिले खोलाको पुरानो आकार र खोला बगेको बाटो खोज्न लागेको बताइएको छ । केही ठाउँमा खोलाको किनारबाट पिलर उठाएर घर बनाइएको छ भने कतै खोला नै हराएको छ । तत्कलीन उपमहानगरपालिका हुँदा खोलाको मापदण्ड १ मिटर कायम गरेर सोही आधारमा नक्सापाससहित घर बनाएकाहरु पनि छन् । इन्जिनियरिङ अध्ययन संस्थाका तत्कालीन डिन भरत पहारीको संयोजकत्वमा गठित समितिले भने फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर प्रस्ताव गरेको थियो ।

फिर्के मापदण्डबारे अहिलेको नगरसभामा पनि प्रश्न उठेको थियो । नागरिक अन्योलमा रहेकोले तत्कालै मापदण्ड तोकी सोहीअनुसार कार्यान्वयन गर्न नगरसभा सदस्यको सुझाव थियो, पोखरा ४ वडा सदस्य विष्णुमाया परियारले मापदण्डको खाका सोधेकी थिइन् । पोखरा महानगर प्रमुख धनराज आचार्यले तत्कालका लागि ५ मिटर मापदण्ड हुने जवाफ फर्काए । स्रोतका अनुसार केही दिनमै फिर्केको नयाँ मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गर्ने तयारी छ । महानगरको आन्तरिक अध्ययन टोलीले पनि यो खोलामा ५ मिटरभन्दा बढी मापदण्ड लगाउन नहुने सुझाव दिएको बताइएको छ । पोखरा १८ अँधेरीबाट बगेको फिर्के वडा २, ४, ५, ६ र ७ हुँदै फेवातालमा मिसिएको छ । फिर्केको बाटो खोज्न भने २०३२ सालको नक्सालाई आधार मानिएको महानगरले जनाएको छ ।

निरन्तर अतिक्रमणको चपेटामा परेको फिर्केको वास्तविक आकार पत्ता लगाउन महानगरले प्राविधिक टोली नै गठन गरी बुधबारदेखि खोलाको भागमात्र छुट्याउन थालेको छ । मेयर आचार्यले खोलाको क्षेत्र नापेर स्तम्भ राख्ने बताए । ‘पहिलो चरणमा खोलाघर छुट्याउँछौं र सिमेन्टको स्तम्भ राख्छौं,’ उनले भने, ‘त्यसपछाडि फिर्केको साविकको मापदण्ड १० मिटर छ । त्यसमा केही पुनर्विचार गर्नुपर्छ भन्ने खालका कुराहरू आएका छन् ।’ केही दिनमा मापदण्डको बारेमा पनि क्लियर गर्ने उनको भनाइ छ । त्यसमा विज्ञहरूको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको उनले बताए ।

महानगरले खोलाघर छुट्टाएपछि फिर्केको सौन्दर्यकरण गर्ने योजना बनाएको छ । एसियाली विकास बैंक (एडिबी) सहयोगमा फिर्केको दायाँबायाँ साइकल लेनसहितको फुटट्रेल, ठाउँठाउँमा चेकड्याम र लाइटिङको काम गर्ने योजना छ । हिउँदमा फिर्केमा पानी नहुँदा मर्दीबाट पानी ल्याएर बगाउने महानगरले जनाएको छ । ६५ करोडको योजनामा काम हुने उनले बताए । उनका अनुसार पहिलो चरणमा सिमाना यकिन गर्न एक साता लाग्नेछ । त्यसपछि दोस्रो चरण असोजपछि मापदण्डअनुसार दायाँबायाँ क्लियर गर्ने उनको भनाइ छ । मापदण्ड मिचेर बनेका सरकारी संरचनालाई पनि भत्काइछाड्ने मेयर आचार्यले दाबी गरे । ‘सरकारी संरचना पनि हटाइनेछ । म अध्यक्ष रहेको पोखरा उपत्यका नगर विकास समितिको कार्यालय पनि पर्छ भने त्यो हामी फाल्नेछौं,’ उनले भने, ‘चाहे त्यो अदालतहोस् अथवा प्रहरीको कार्यालयहोस् । कुनै पनि ठाउँ जो अतिक्रमण भएका छन् भत्किन्छ ।’

केही दिनअघि महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फिर्केको खोला आसपासको झाडी फाँडेको थियो । त्यतिबेला सेफ्टीटंकी सोझै फिर्केमा मिसाएको फेला परेको मेयर आचार्य बताउँछन् । ‘उहाँहरूलाई १५ दिनको समय दिएर खाली गर्नलाई समय दिएका छौं’, उनले भने ।

एमाले पोखरा महानगरपालिका संसदीय दलका नेता राधिका शाही योगी सबै दल मिलेर मापदण्डविपरीतका संरचना क्लियर गर्ने बताउँछिन् । पोखरा महानगरले सुरु गरेको फिर्केको योजनालाई राजनीतिकरण गरेर पछाडि हट्न नहुने नागरिक अभियन्ता रामबहादुर पौडेलको सुझाव छ ।

Related News

सम्बन्धित समाचार

hero news full width