जहाज दुर्घटना पछिका प्रक्रिया ढिला भयो : सांसद गुरुङ

आदर्श समाज सम्वाददाता
माघ १९, २०७९
saraswati

पोखरा ।  गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पोखरामा भएको जहाज दुर्घटना पछिका प्रक्रियागत विषय ढिला भएको बताएकी छिन् । गण्डकी प्रदेश सभाको पहिलो अधिवेशन, छैटौ बैठकको विशेष समयमा गुरुङले माघ १ गते सेती खोंचमा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पहिचानमा ढिलाई भएको बताएकी हुन् ।

‘दुखद दुर्घटनाबाट ज्यान गुमाउनुभएका अधिकांशको शव आफन्तले बुझिसक्नुभएको छ । अझै केही शवको निक्र्यौल हुन सकेको छैन,’ उनले भनीन्, ‘आज म सभामुख ज्यू मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु कि सबैको शव तत्कालै पहिचान गरी आफन्तलाई बुझाइयोस् । अन्यथा आफन्त गुमाउनुको पीडा सँगै शव प्राप्त गर्न नसकेको पीडा थपिएको छ ।’ मृतकका परिवारलाई उचित राहात र क्षतिपुर्तिको व्यवस्था गर्न संघ सरकार, एयरलाइन्स कम्पनी र सरोकारवाला सम्पूर्णसँग उनले आग्रह गरेकी छिन् । राज्यले उचित क्षतिपुर्ति, परिवारका सदस्यहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ज्ञारेण्टी गरिदिनुपर्ने उनको भनाई थियो ।

साथै दुर्घटना पछिका प्रक्रिया ढिलो र झण्झटीला भएको बताएकी छिन् । ‘हाम्रो प्रक्रिया र प्रणाली निकै झण्झटीला र लामा भए । दुर्घटनाको एक महिना पुग्न लागिसक्यो । अझै आफन्तले शव पाएका छैनन्,’ उनले भनीन्, ‘एक त शवको पहिचानमा समस्या, अर्को पहिचान भएका शवको पनि पोष्टमार्टमको लम्बेतान प्रक्रियाले पीडामाथी झनै पीडा थपेको छ ।’

आगामी दिनमा यस्ता दुर्घटना भैहाले झण्झटीला प्रक्रियालाई चुस्त बनाउन उनको आग्रह थियो । नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन हर तरहले मेहनत गर्न सरकारसँग उनको आग्रह थियो । दुर्घटनाले नेपालको हवाई क्षेत्रमात्रै नभएर समग्र अर्थतन्त्रमा असर पारेको उनको भनाई थियो । ‘यहाँका पर्यटन क्षेत्र सुनसान छन् । पर्यटकीय सिजनका होटल बुकिङहरु धमाधम रद्द गरिएका गुनासा व्यवसायीहरुले गर्नुभएको छ । यसबारे सरकारको विशेष चासो पुगोस्,’ उनले भनीन् ।

Related News

सम्बन्धित समाचार

hero news full width