भगवान कोइरालाको ‘हृदय’को विशेष संस्करण लोकार्पण, नियमित संस्करण असोज पहिलो साता आउँदै

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
HRIDAYA BOOK (1)

काठमाडौं । तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा लोकार्पण भएको छ ।

विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको छ । यसको अङ्कित मूल्य २५,०००।– (पच्चीस हजार रुपैयाँ) छ । विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ । विशेष संस्करण खरिद गरी सहयोग पु¥याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ ।
डा. भगवान कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौँसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ । यो बृहत परियोजनालाई सफल पार्न आफूहरुले सानो पहल मात्र गरेको फाइनप्रिन्टले जनाएको छ ।

विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्छन् । ‘हृदय’को विशेष सीमित सीमित संस्करणले सीमित संस्करणको संस्कार र पद्धतिमा एउटा मानक खडा गर्ने फाइनप्रिन्टले विश्वास लिएको छ । हृदयको विशेष सिमित संस्करण अनलाइन अर्डर गर्न तथा फाइनप्रिन्टको ९८४३५७९०३१ मा सम्पर्क गर्न सकिने फाइनप्रिन्टले जनाएको छ ।

पुस्तकको नियमित संस्करण भने असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुने फाइनप्रिन्टको भनाइ छ । नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ मूल्यमा उपलब्ध हुने फाइनप्रिन्टले बताएको छ । नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व सोही बाल अस्पताल निर्माण कोषलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् । निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी हुनेछ । ‘गंगालाल मुटुका लागि भर पर्दो संस्था बने झैं बालबालिकाका लागि किआच हुनेछ भन्ने हाम्रो विश्वास छ,’ फाइनप्रिन्टका नीरज भारीले भने ।

बाल अस्पताल नै किन ?

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन उनले नै शल्यक्रिया गरेका दुई बालबालिकाले गरे । १३ वर्षका सौरभजंग केसीको २ वर्षमा र १३ वर्षकै एलिजा चन्दको १० वर्षको उमेरमा शल्यक्रिया भएको थियो । अहिले उनीहरु स्वस्थ छन् ।
यी दुई बालबालिकाले समयमै उपचार पाएर स्वस्थ जीवन बिताइरहेका छन् । तर नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन जनाले आफ्नो पाँचौं जन्मदिन देख्न पाउँदैनन् । आधारभूत स्वास्थ्य सेवा र बेलैमा उपचार नपाएका कारण ज्यान गुमाएका बालबालिकालाई देखेर डा. कोइरालाको मन सधैं दुखिरहन्छ ।

डा. कोइरालाको मनमा जुन अभाव खट्कियो, त्यसैको परिपूर्तिका लागि उनले विशिष्टीकृत बाल अस्पतालको खाका कोरेका थिए । हाल काठमाडौंमा त्यस्तो विशिष्टीकृत केन्द्रीय अस्पताल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । विशिष्टीकृत बाल अस्पतालमा बालबालिकाका लागि सबै किसिमका स्वास्थ्य सेवा एकीकृत रुपमा उपलब्ध हुने डा. कोइरालाले बताए ।

कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण प्रकाशन गरेको हो । डा. कोइरालाले जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा पुस्तकमा समेटिएको छ ।

पुस्तकमार्फत सहयोग जुटाउने आफूहरूको यो सानो प्रयास मात्र रहेको उनको भनाइ छ । ‘नेपाल र विश्वभर छरिएर रहेका हामीभन्दा सक्षम, सबल र सचेत व्यक्ति एवम् संस्था आआफ्नो ठाउँबाट जुट्यौँ भने डा. कोइरालाले बालबालिकाका लागि बनाउने भनेको विशिष्टीकृत अस्पतालको सपना पूरा हुन पक्कै असम्भव छैन, यो उहाँहरु सबैलाई आह्वान पनि हो,’ भारीले भने ।

कार्यक्रममा योग विज्ञान तथा जीवनशैली प्रशिक्षण र पुस्तक लेखन एवम् वातावरण संरक्षणको क्षेत्रमा परिचित डा. राजु अधिकारीले ‘हृदय’ले धेरै ‘हृदय’ बचाउन सक्ने भएकाले डा. कोइरालाको पहलमा सबैले साथ दिन आग्रह गरे । साथै स्वस्थ मानिसबाट मात्र स्वस्थ सिर्जना एवम् रचनात्मक काम हुन सक्ने उनको भनाइ थियो ।

डा. कोइरालाको पुस्तक ‘हृदय’ले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा पनि गर्छ । यस कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाहरूबारे प्रस्ट्याउने फाइनप्रिन्टले जनाएको छ ।

कार्यक्रममा अनिल शाहीको विशेष साङ्गीतिक प्रस्तुतिसमेत थियो ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width