‘छाइल’ उपन्यासमाथि विमर्श

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
Chail News

काठमाडौं । सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको टिप्पणी गरिएको छ । उपन्यास प्रकाशक बुक्स हिमालयले गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताहरूले नेपाली साहित्यलाई समृद्ध बनाउन यसले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका हुन् ।

आञ्चलिक स्वादमा पस्किएको छाइलको कथा र प्रस्तुतिले पाठकलाई बाँधिराख्छ । पुस्तक पढ्न सुरु गरेपछि पुरा नपढी छोड्नै मन लाग्दैन ।

‘कुनै पनि पुस्तकको प्रवेशद्वार भाषा हो । छाइलको भाषा नरम छ । मैले त दुई बसाइँमै पढें’, साहित्यकार अभय श्रेष्ठले भने, ‘यसले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मूलधारमा प्रवेश गराएको छ । उपन्यास एकदमै स्वादिलो छ ।’

यस उपन्यासमा सुदूरपश्चिमका १ युवाले गरेको संघर्षको कथा छ । यसमा मूलतः बाबु र छोराको सम्बन्ध देखाइएको छ । सुदूरको गरिबीको चित्रण छ । दलितको संघर्षको कथा छ । युवाको प्रेम पनि झल्काइएको छ ।

‘छाइल सुदूरपश्चिमको चोखो कथा हो । युवाको जीवन संघर्षको कथा । यसमा हरेक पात्रको संघर्ष देखाइएको छ’, छाइल लोकापर्णसँगै आयोजित अन्तक्र्रियामा साहित्यकार श्रेष्ठले भने, ‘छाइल पठनीय कृति हो । विशेषतः युवाहरूले यसलाई मन पराउने छन् । यो कृति लोकप्रिय बन्नेछ ।’

मानवअधिकारकर्मी मोहना अन्सारीले त ‘छाइल’ लाई उत्कृष्ट कृति भएको टिप्पणी गरिन् । ‘नेपाली साहित्यमा पूर्वी नेपालका कथाहरूले छोपेका बेलामा सुदूरपश्चिमको यति मिठो उपन्यास आउनु सुखद् उपलब्धि हो’, उनले भनिन्, ‘विगतमा म सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कैलालीमा बसेको मान्छे हुँ । छाइलले त्यहाँको तस्बिर दुरुस्तै उतारेको छ । गरिबीभित्र मान्छे कसरी हुर्कन्छ र कसरी संघर्ष गर्छ भन्ने कुरा उपन्यासमा पढ्न पाइन्छ ।’

कार्यक्रमको सुरुमै कवि सुमन थापा ‘संगम’ ले छाइल अर्गानिक उपन्यास भएको टिप्पणी गरेकी थिइन् । ‘उपन्यासको विषयवस्तु र भाषाले तानिरहन्छ’, उनले भनिन्, ‘सुदूरपश्चिमको ऐना हो छाइल।’

डोट्याली शब्द ‘छाइल’को अर्थ हुन्छ ‘छायाँ’ । कविका रुपमा स्थापित भट्ट आफ्नो पहिलो उपन्यासबाट हौसिएका छन् । ‘मैले भुइँमान्छेका कथा उजागर गर्ने प्रयास गरेको हुँ’, उनले भने, ‘पाठकहरूको सुझाबबाट आफूलाई निर्खादै अघि बढ्नेछु ।’

कार्यक्रमका वक्ताहरूले उपन्यासकारका केही कमजोरी पनि औंल्याएका छन् । ‘यो उपन्यास बुबाको सेरोफेरोमा घुमेको छ’, मानवअधिकारकर्मी अन्सारीले भनिन्, ‘यसमा आमाको संघर्षको कुरा चित्रण गर्न कञ्जुस्याइँ गरिएको छ ।’

उपन्यासमा महिलाका कारण प्रेम असफल भएको देखाइएकामा साहित्यकार श्रेष्ठ संतुष्ट हुन सकेनन् । ‘के महिला यति रहस्यमयी पात्र हुन् त ?’, उनले सोधे । साथै यस कृतिमा माओवादी द्वन्द्वको कुरा कोट्याए पनि गहिराइमा नपुगेको उनले टिप्पणी गरे ।

पत्रकार एवं समीक्षक राजकुमार बानियाँले उपन्यासभित्रका केही सन्दर्भ वाचन समेत गरेर रोचक ढंगमा अन्तक्र्रिया चलाएका थिए । कार्यक्रममा कवि, लेखक, पत्रकारका साथै शिक्षक, विद्यार्थी र पर्यटनकर्मीको राम्रो जमघट थियो ।

प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले काठमाडौंसहित मुलुकका प्रमुख सहरमा पुस्तक पुगिसकेको बताए । आगामी दिनमा पनि यस्तै स्वादिला कृति पस्किँदै जाने प्रतिबद्धता जनाए । स्थानीय चुनावपछि काठमाडौंबाहिर धनगढी, नेपालगञ्ज, चितवन, विराटनगर, पोखरालगायत सहरमा किताब यात्रा गरिने शाक्यले जानकारी दिएका छन् ।

बुक्स हिमालय लकडाउनका बेला स्थापित प्रकाशन गृह हो । यसले बालसाहित्यका केही कृति छापिसकेको छ भने ‘छाइल’ यसको पहिलो उपन्यास हो । छाइलको मूल्य ४ सय ५० रुपैयाँ राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width