गण्डकीमा टाइफाइडविरुद्धको खोप शुभारम्भ

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७८
khop

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । अमरसिंह माविमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आगामी वैशाख १८ गतेसम्म चल्ने टाइफाइड खोप अभियान शुभारम्भ गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अन्य १२ खोपले सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । उनले यस अभियानबाट प्रदेशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका ५ लाख ६० हजार २ सय २७ बालबालिकाहरुलाई बालबालिका लाभान्वित हुने उल्लेख गरे ।

स्वास्थ्य तथा जनसंख्या मधुमाया अधिकारी गुरुङले नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिइन् । कोभिडविरुद्धको खोप अभियानमा गण्डकी प्रदेशले सफलता हासिल गरेजस्तै टाइफाइड रोगविरुद्धको खोप अभियानलाई पनि सफल बनाउने प्रतिबद्धता जनाइन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिहीबार टाइफाइड खोप अभियानको शुभारम्भ गर्दै

पोखरामा शुभारम्भपछि प्रदेशका ११ वटै जिल्लामा खोपको सुरु हुनेछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता दिइसकेको र औषधी विभागबाट स्वीकृतिप्राप्त गरी नेपाल भित्राइएको खोपको ९६.९५ प्रतिशत प्रभावकारिता र सुरक्षित भएकाले ढुक्क भएर लगाउन अभियानका प्रादेशिक संयोजक एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले आग्रह गरे । खोप लगाएकाहरुलाई खोप लगाएको स्थानमा दुख्ने, ज्वरो आउने, वान्ता, पखाला लाग्नेजस्ता प्रभाव देखिए पनि आत्तिहाल्नुपर्ने अवस्था नहुने उनको भनाइ थियो ।

यो खोप १ सय २ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो भएका बिरामी, गर्भवती महिला, एचआइभी संक्रमितहरु र क्षयरोगका बिरामीले लगाउन नहुने डा. बास्तोलाले जानकारी दिए । योसँगै कोभिड भ्याक्सिन लगाएको १४ दिनपछि मात्र टाइफाइड भ्याक्सिन लगाउन उनको सुझाव थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width