पुम्दीकोटमा फेरि महापुराण

आदर्श समाज सम्वाददाता
पौष २२, २०७८
Pumdikot Photo

पोखरा । पुम्दीकोट विशाल महादेव मूर्ति तथा मन्दिर निर्माणको काम पूरा गर्न पुम्दिकोट विकास समितिले शिवमहापुराण आयोजना गर्ने भएको छ । समितिले अधुरा कार्य पूरा गर्न आर्थिक संकलनार्थ फेरि महापुराण गर्न लागेको हो । निर्माण सुरुआत अघि पनि त्यस ठाउँमा ज्ञानमहायज्ञ भएको थियो ।
समितिले पोखरामा बुधबार पत्रकार सम्मेलन गरी मन्दिरको थप योजनासमेत सार्वजनिक गरेको छ । मूर्ति तथा मन्दिर निर्माणलगायत बृहत कार्ययोजना सम्पन्न गर्न सुरुआतमा २० करोड लाग्ने अनुमान गरिएकोमा हाल लागत बढेर दोब्बर पुगेको छ । बृहत् कार्ययोजनाअन्तर्गत हालसम्म ५० प्रतिशत सकिएकोमा सुमेरु पर्वत निर्माण, गणेश परिक्रमा, मोनोरेल निर्माणलगायत कार्यक्रम जोड्दा लागत बढेर ४० करोड पुगेको पुम्दिकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उनले बाँकी काम पूरा गर्न र अझै केही संरचना बनाउन रकम अपुग भएकोले आगामी माघ ८ देखि १८ सम्म शिवमहापुराण आयोजना गर्न लागिएको बताए । मन्दिर निर्माण तथा विशाल महादेवको मूर्ति स्थापना गर्दा लागेको ऋण तिर्न र अन्य भौतिक संरचना निर्माण गर्न फेरि महायज्ञ सञ्चालन गर्न लागिएको उनले स्पष्ट पारे । निर्माणक्रममा हालसम्म २० करोड खर्च भइसकेकोमा त्यसमध्ये पौने ४ करोड भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।
हाल सो स्थानमा ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट उचाइको डमरु निर्माण गरिएको छ । यस्तै महादेवको विशाल क्षेत्र कुण्ड, तेस्रो आँखा, १ सय ८ धारा जडानसहित शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र पनि निर्माण गरिएको छ । यसैगरी, २ सय १६ शिवलिंग, १ सय ८ स्वर्गद्वारी सिंढी, प्रशासकीय भवन, सुविधासम्पन्न शौचालय, फूलमाला बिक्री कक्षका ४१ सटर, मूर्ति परिसरमा कम्पाउड वाल, २ सय मिटर पहुँचको पक्की मार्ग र मानोरेलद्वारा गणेश परिक्रमा समेत निर्माण गरिएको अध्यक्ष बरालले जानकारी दिए । सुमेरु पर्वत नामकरण गरी कुमार–पार्वतीको मूर्ति, भूमेस्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहुँचको लागि विद्युतीय चियर कार, ग्रिनरी पार्क, पार्किङस्थल, मूल मूर्ति लगायत कार्य बाँकी छन् ।

बृहत् कार्ययोजनाका लागि सुरुआतमा २० करोडको अनुमान गरिएकोमा लागत बढेर ४० करोड पुगेको छ

महायज्ञका लागि समिति अध्यक्ष चन्द्रकान्त बरालको संयोजकत्वमा १ हजार ८ सदस्यीय मूल आयोजक समिति तथा ३८ उपसमिति गठन गरिएको छ । कथावाचन भागवत्भास्कर पं कमलनयन गौतमले गर्ने छन् । यसअघि २०७३ फागुन ३ देखि १३ सम्म पहिलो शिवमहापुराणलगायत विविध धार्मिक कार्यक्रम भएको थियो ।
समितिले पुम्दीकोट विशाल महादेव मूर्ति अवलोकन उद्घाटनसँगै महायज्ञ लगाउने तयारी गरेको हो । उद्घाटनपछि मन्दिरमा प्रवेश शुल्कको निर्धारण गर्ने र वातावरण जोगाउन शुल्क लिइने समितिले जनाएको छ । पोखरा २२, पुम्दीकोटमा महादेवको मूर्ति निर्माणसँगै पर्यटकको भिड लाग्ने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width