पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा

धनबहादुर गुरुङ
वैशाख २०, २०८१
Yatayat Dhuwa Photo

पोखरा । एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली चढेको ग१झ ४५१ नम्बरको गाडी बुधबार बिहानै चेकिङमा पर्‍यो । चेकिङमा पर्नुका कारण सार्वजनिक बिदाको दिन चलाइएकाले भने होइन । उक्त गडाीबाट निस्कने धुँवाको प्रदूषण नापजाँजका लागि रोकिएको थियो ।

यातायात व्यवस्था कार्यालय सवारी कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा प्रदूषण मापनयन्त्रबाट जाँच गर्दा उक्त गाडीको धुवाँको प्रदुषण ३० ओपासिटीभन्दा कम भेटियो । जसले गर्दा यो सवारी पास भयो । बुधबार नै परीक्षा बोर्ड कार्यालयको सरकारी गाडीको प्रदूषण जाँच गर्दा पास भयो ।

यातायात व्यवस्था कार्यालयका अनुसार प्रदूषण मापन गर्दा ३० ओपासिटीभन्दा कमलाई राम्रो मानिन्छ । त्यस्तो भेटिए सवारी पास हुन्छ । सोही अनुसार डिजेलबाट चल्ने सवारीको धुँवाको प्रदूषण जाँच गरिएको यातायात व्यवस्था कार्यालय, सवारी कास्की प्रमुख डिल्लीराम रिज्यालले बताए । ३५ गाडी जाँच गर्दा ३० फेल भएको उनले बताए । ‘२ वटा सरकारी नम्बर प्लेटका गाडी जाँच गरेकोमा २ वटै पास भए । निजी ५ टेस्ट गरेकामा ३ मात्र पास भए,’ उनले भने, ‘धेरै सार्वजनिक सवारी फेल भएका छन् । सबै गरेर ३५ वटा टेस्ट गरिएकोमा ३० वटा मात्र पास भएका थिए ।’

सार्वजनिक तथा निजी सवारीसाधनले वातावरण नै प्रदूषित बनाउने गरी कालो धुँवा उडाउँदै हुइँकिने गरेकोे उनले बताए । कालो धुँवा उडाउँदै गुड्ने गाडी कारबाही गर्न पटकपटक आवाज उठिरहन्छ तर सरकारी निकायबाटै मनोमानी हुँदा नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको सरोकारवाला बताउँछन् । वन विज्ञान अध्यन संस्थान, पोखराका क्याम्पस प्रमुख विनोद हेजुले गाडीबाट निस्कने धुँवाले वातावरण प्रदूषण बढाउनुका साथै मावनस्वास्थ्यमा नकारात्मक असर पार्ने बताए । उनका अनुसार तत्काल रुघाखोकी, आँखा चिलाउने, टन्सिल, एलर्जी लगायत समस्या देखा पर्छ । दीर्घकालमा मुटुसम्बन्धी रोग देखा पर्ने, हृदयघात, फोक्सो, स्वासप्रश्वासमा समस्या देखिन्छ ।

यस्ता गाडी कारबाही गर्न पटकपटक आवाज उठिरहे पनि कार्यान्वयन फितलो

पोखरा पर्यटनको राजधानी भएकाले पनि यसबारे सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो । ‘सहरीकरण बढ्दै जाने अनि सवारीको संख्या पनि बढ्दै जाँदा पछि जलवायु परिवर्तनका लागि कार्वन बढाउँछ,’ उनले भने, ‘पोखरामा यो विषयमा अहिलेसम्म सोचिएको छैन तर सोच्नुपर्ने बेला आएको छ ।’

बजार क्षेत्रमा चल्ने अधिकांश सवारी फेल हुने अवस्था देखिएकाले आगामी वर्षमा जाँचपास गर्दा प्रदूषण जाँज अनिवार्य गर्ने योजना बनाएको यातायात प्रमुख रिज्यालले बनाए । यसका लागि प्राविधिक जनशक्ति, जाँच गर्ने स्थान र यन्त्र व्यवस्थापनमा चुनौती रहेको उनको भनाइ थियो । उनका अनुसार पोखरामा मात्र अहिलेसम्म निजी सार्वजनिक गरेर ३ लाख ५२ हजार गाडी दर्ता छन् । बाहिर दर्ता भएका पोखरामा चल्ने र यहाँ दर्ता भएर बाहिर जाने गरी करिब ३ लाख गाडी दैनिक पोखरामा गुड्ने सरकारी तथ्यांक छ ।

बुधबार गरेको मापनमा अधिकांश गाडी नियमित सर्भिसिङ नगरेकै कारण कालो धुँवा फाल्ने गरेको पाइएको छ । रिज्यालले भने, ‘त्यस सवारीसाधनको कागजपत्र लिएर सर्भिसिङ गरेर ठिक बनाएर आउन निर्देशन दिएका छौं । एउटै गाडीले पटक–पटक गल्ती दोहो¥यायो भने जफतसमेत गर्ने चेतावनी दिएका छौं ।’

सवारी प्रदूषण जाँचपास नेपालमा अनिवार्य नभए पनि वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यसको नियमन गर्ने गरेको छ । गत वर्ष ८ मंसिरमा विभागले सूचनाले यो स्पष्ट हुन्छ । उक्त सूचनामा वायु प्रदूषण रोक्न धेरै धुवाँ फाल्ने सवारीसाधनलाई कारबाही गर्ने उल्लेख थियो । गत वर्ष १ पुसपछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारीसाधन वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१(२) बमोजिम १ लाखसम्म जरिवाना हुने उल्लेख छ । यो नियम राजधानी काठमाडौंमा कार्यान्वयन भए पनि अन्य ठाउँमा प्रभाव परेको पाइँदैन ।

Related News

सम्बन्धित समाचार

hero news full width