पत्रकार आचारसंहिता जागरण कार्यक्रम

आदर्श समाज सम्वाददाता
पौष २०, २०७८
FNJ Photo

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पत्रकारका न्युज हेरेर भ्युज बनाउने भएकाले पत्रकार संयमित हुन जरुरी रहेको बताएका छन् । जनताको हित र अधिकारको मर्यादा राख्ने काम पत्रकारिताले गरेको भन्दै मन्त्री खड्काले प्रेस नेपालमा मात्रै नभई संसारभर नै शक्तिशाली शक्तिका रुपमा हेरिएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा प्रेस काउन्सिल नेपालले सोमबार पोखरामा आयोजना गरेको पत्रकार आचारसंहित जागरण कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।
उनले जबसम्म पत्रकारमा ‘म नै प्रेस काउन्सिल हो’ भन्ने भावनाको विकास हुँदैन, तबसम्म पत्रकारिता मर्यादित नहुने ठोकुवा गरे । पत्रकारसँग प्रदेश सरकार सधैं साथ रहेको उनको भनाइ थियो । मिडियालाई सहयोग गर्ने उद्देश्यले नै ‘सरकारसँग पत्रकार’ कार्यक्रमका लागि २५ लाख रातो किताबमा समावेश गरेको उनले जानकारी दिए । प्रदेश सञ्चार ऐन विधायन समितिमार्फत समस्या समाधान गर्दैै पारित गर्ने उनको भनाइ थियो । पत्रकारका केही हेडलाइनका कारण आत्महत्या गर्नुपर्ने अवस्था पनि समाजमा आएको उदाहरण प्रस्तुत गर्दै उनले मूल्यमान्यता विपरीत पत्रकारिता गर्ने पत्रकारलाई नियमनमा ल्याउनुपर्नेमा जोड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले समाचार सम्प्रेषण गर्दा आचारसंहिताभित्र रही गर्नुपर्नेमा जोड दिए । आचारसंहिताको मन्त्रलाई पत्रकारले ख्याल गरेका छन् वा छैनन् ख्याल गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । पत्रकारले कुनै पार्टीको सदस्यता नलिई स्वतन्त्र हुनुपर्ने तर्फ उनको जोड थियो । जनताको प्रतिनिधि पत्रकार पनि भएको उल्लेख गर्दै बस्नेतले पत्रकारले रिसर्च ओरियन्टेड काम गर्नुपर्ने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ‘पत्रकार गलत हुन्न’ भन्ने सन्देश अझ प्रभावकारी बनाउनु पर्ने सुझाव दिए । उनले सकरात्मक सन्देश प्रवाह हुने समाचार सम्प्रेषण गर्नुपर्ने दायित्व पत्रकारको भएको उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले तथ्यलाई पुष्टि गरेर प्रमाणसहित समाचार लेख्नुपर्ने बताए । उनले आचारसंहिताले कुनै पनि पेसा व्यवसायलाई नियममा बाँध्ने भएकाले यसलाई मर्यादित ढंगले प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । शंकाको आधारमा अदालतले पुष्टि गर्न बाँकी सूचना प्रवाह नगर्न उनको सुझाव थियो । नेपाल प्रहरी प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाका लागि सधैं सहयोगी रहेको बताए ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा उठेको आचारसंहिताको विषयलाई चिरफार गर्ने ध्येयका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी गराइन् । साधन र स्रोत अभावमा काउन्सिलको अभिभावकत्व कमी महसुस भएको उनले बताइन् ।
कार्यक्रममा पत्रकार आचार संहितासम्बन्धी प्रस्तुति प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारी राखेकी थिइन् । कार्यक्रममा गण्डकी विश्वविद्यालयका परामर्शकर्ता डा. मेदिनी भण्डारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा र सचिव माधव बरालललगायतले पछिल्ला दिनमा पत्रकारमा अध्ययन र सिर्जनशीलताको कमी भएकाले यसमा ध्यान दिनुपर्ने बताएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width