घारखोला जलविद्युत् आयोजनाको सुरुङ ब्रेक थ्रु

साधन राम्जाली
असाेज १४, २०७८
Gharkhola

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ बुधबार जोडिएको हो ।

बाँध तर्फबाट १ हजार ६ सय ५ मिटर र आउटलेटबाट १ हजार ४ सय मिटर लामो सुरुङ निर्माण भएको आयोजनाका इन्जिनियर जोसेब बज्राचार्यले बताए । ‘२ वटा अडितबाट खनिएको यो सम्भवत नेपालको लामो सुरुङ हो,’ उनले भने,‘भोलिदेखि नै सुरुङलाई कंक्रिट गर्न सुरु गर्छौ ।’
अर्थुङेस्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्म अन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न बिस्फोटक पदार्थ प्रयोग गरिएको थियो । विस. २०७४ चैत महिनादेखि सुरुङ निर्माण सुरु भएको थियो ।

आयोजनाको हालसम्म समग्रमा ६२ प्रतिशत भौतिक प्रगति भएको छ । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण सकिएको सिभिल ठेकेदार साउथ एसियन इन्फास्ट्रक्चरका आयोजना व्यवस्थापक ध्रुव मिश्रले बताए ।

‘बाँध नजिकै ४५ मिटर लम्बाइको २ वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) निर्माण भएको छ,’ उनले भने,‘डिसेन्डरदेखि सुरुङसम्म २ सय ४८ मिटर लामो डिसेन्डर एप्रोच क्यानल जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’

पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युतगृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म ४ सय ८५ मिटर पेनस्टक पाइप जडान सुरु भएको छ । आउटलेटदेखि विद्युतगृहको दूरी १ हजार २ सय मिटर र उचाइ ४ सय ८५ मिटर छ ।

घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पारेको छ । सिभिल ठेकेदारका दैनिक १ सय ५० जनाको हाराहारीमा मजदुरले काम गरिरहेका छन् ।

२०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण केही ढिलाइ भएको म्याग्दी हाइड्रोपावरका सञ्चालक होमबहादुर गलामीले बताए । उनले २०७९ असार महिनाभित्र आयोजना निर्माण सक्ने कार्यतालिका बनाएको बताए ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेसनसम्म ८ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनी रोयल कन्ट्रक्सनले सामान आपूर्ति गरिसकेको छ । आयोजनाको परामर्शदाता हाइड्रो कन्सल्टका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले जटिल र प्रतिकूल भौगोलिक अवस्थाका बाबजुद आयोजना निर्माण तीव्रताका साथ अघि बढेको बताए ।

कुल २ अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडले पनि यस आयोजनामा लगानी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width