२ मन्त्री पाएसँगै स्याङ्जावासी खुसी

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७८
mantri

स्याङ्जा । स्याङ्जाले गण्डकी प्रदेश सरकारमा २ मन्त्री पाएको छ । शुक्रबार मन्त्रिपरिषद् पूर्णसँगै ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जाले २ मन्त्री पाएको हो ।
कांग्रेसतर्फका समानुपातिक उम्मेदवार मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र नेकपा गठबन्धनबाट प्रत्यक्षतर्फ निर्वाचित दीपक थापा (चर्तिमगर) वन, वातावरण तथा भू–संक्षण मन्त्री नियुक्त भएका हुन् । उनीहरुले शुक्रबार नै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष सपथ लिए ।
मुख्यमन्त्री पोखरेलले एक महिनापछि मन्त्रिमण्डललाई पूर्णता दिदै शुक्रबार थप ६ जना मन्त्री नियुक्त गरेका थिए । यसअघि २९ जेठमा मुख्यमन्त्री नियुक्त हुँदा उनले ५ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।
प्रत्यक्षतर्फका ४ र समानुपातिकतर्फका १ सांसद रहेको स्याङ्जाले यसअघि एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा एउटा पनि मन्त्री पाएको थिएन । गुरुङ नेतृत्वको सरकार ढलेसँगै पोखरेल नेतृत्वको सरकारमा एकै पटक २ मन्त्री पाएकोले जिल्लावासी खुसी छन् ।
बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसुलभ रुपमा खोप छिटो उपलब्ध गराउनुपर्नेमा नवनियुक्त मन्त्रीसँग जिल्लावासीको प्रमुख अपेक्षा छ ।

शिक्षामन्त्री श्रेष्ठ
साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट १ निवासी श्रेष्ठले नेविसंघबाट राजनीति यात्रा सुरु गरेका हुन् । वालिङ बहुमुखी क्याम्पसमा नेवि संघको इकाइ सभापति, जिल्ला उपसभापति, नेपाल तरुण दलको पूर्व केन्दीय सदस्य हुँदै कांग्रेस महासमिति सदस्य भएर जिम्मेवारी पूरा गरेका छन् ।
समानुपातिकतर्फ पहिलो नम्बरमा सूचिकृत थिए, उनी । उनी कांग्रेस संसदीय दलको उपनेतासमेत हुन् ।

वन मन्त्री चर्तिमगर
साविक बिरुवाअर्चले गाविस हाल बिरुवा २ निवासी चर्तिमगरले कम्युनिष्ट पार्टीको सदस्य लिई राजनीतिक यात्रा सुरु गरेका थिए । पूर्व शिक्षक उनी २०५२ सालदेखि नेकपा माओवादीमा आवद्ध हुन् । उनले पार्टीको जनसरकार स्याङ्जाको प्रमुख, राज्य समितिको सचिवालय सदस्य भएर काम गरिसकेका छन् ।
पहिलो संविधानसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र १ मा उम्मेदवार भई पराजित उनी २०७४ को प्रदेशसभा चुनावमा क्षेत्र १ (क) मा तत्कालीन बाम गठबन्धनबाट निर्वाचित भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width