रकम जुटाएर एम्बुलेन्स

तोलाकान्त बगाले
श्रावण ९, २०७८
ambulance

वालिङ । वालिङस्थित एक संस्थाले सामाजिक सञ्जाल सदुयोगमार्फत रकम संकलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गल्याङ ११ मा रहेको आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसीभञ्ज्याङ (आसा) ले रकम संकलन गरी सुविधासहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
सवारीसाधनको अभावका कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले वालिङ घर भै हाल जापान बस्दै आएका खेम जिसीले अगाडि सारेको परिकल्पना मूर्तरुप दिने गरी संस्थागतरुपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष द्रवेन्द्रदेव खनालले बताए ।
तुलसीभञ्ज्याङसहित आसपासका इच्छुक दाता तथा यहाँबाट रोजगारीका शिलशिलामा विदेशी भूमिमा रहेका नेपालीको स्वतःफूर्त सहयोगमा एम्बुलेन्स खरीद गरी सञ्चालनमा ल्याइएको कोषाध्यक्ष खनालले बताए ।
नेपाल सरकारद्वारा राजस्व छुटमा ९ लाख ५६ हजारको लागतमा महिन्द्रा कम्पनीको बोलेरो पिकअप एम्बुलेन्स खरिद गरी आवश्यक अक्सिजन सिलिण्डर जडान, सिट मर्मत, बिमासहित झन्डै १३ लाख रुपैयाँ खर्चमा सञ्चालनमा ल्याइएको कोषाध्यक्ष खनालले बताए ।
‘विशेषगरी तुलसीभञ्ज्याङका जिमुहा लगायत ठाउँबाट आवश्यक मात्रामा सवारी साधन नपाइने समस्या रहेको छ,’ कोषाध्यक्ष खनालले भने, ‘कोही बिरामी भएर अप्ठ्यारोमा परेका बेला स्वास्थ्य संस्थासम्म पु¥याउन एम्बुलेन्स सेवाको शुरुआत गरेका हौं ।’
एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै गल्याङ ३, ९ र ११ पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका केही वडाका बिरामीलाई सेवा दिन सकिने कोषाध्यक्ष खनालले बताए ।
सामाजिक सञ्जालमार्फत संकलन भएको रकमबाट एम्बुलेन्स खरिद गरिएसँगै अब यसको सञ्चालनका लागि आवश्यक कोष स्थापना गर्ने तयारी भएको छ । एम्बुलेन्स सञ्चालन तथा मर्मतका लागि स्थानीय पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने कोष बृद्धिका लागि एक घर–एक सदस्य बनाउने अभियान पनि अगाडि सारिएको छ ।
‘एम्बुलेन्स सेवा सुरुआतसँगै विशेषगरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्नसमेत सहज हुने आसाका सञ्चार संयोजक टीकाराम अधिकारीले बताए ।
गाउँगाउँमा आवश्यक परेका बेला सवारीसाधन पाउन समस्या हुने र भाडा पनि धेरै हुने भएकाले सहुलियत दरमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उनले बताए । स्थानीय पालिका गल्याङ नगरपालिकाअन्तर्गतको गल्याङ नगर अस्पतालसँग समन्वय र सम्झौता गरी अस्पतालको दररेट अनुसार सेवा दिइने उनले बताए । एम्बुलेन्स सेवा सुरुआतसँगै सर्वसाधारणले सहज, सरल सस्तो भाडादरमा सेवा प्राप्त गर्न पाउने भएपछि खुसी व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width