बेलैमा निर्माण नसक्दा सास्ती

रामकुमार श्रेष्ठ
असार २६, २०७८
nabalpur sadaksl

नवलपरासी । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको निर्माण कार्य निर्धारित समयमा सम्पन्न नहुँदा अहिले आमसर्वसाधारणले यात्रामा सास्ती खेप्नु परेको छ ।
बुटवलदेखि नारायणगढसम्मको झण्डै १ सय १४ किलोमिटर सडक अहिले ४ लेनको बनाउने कार्य चलिरहेको छ तर अहिलेसम्म ६ प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ ।
वर्षा सुरु भएसँगै बुटवल नारायणगढ सडक खण्डको दाउन्ने खण्ड, गैंडाकोट खण्ड, सुनवल भूमही खण्ड र कावासोतीमा पटक पटक सडक, डाइभर्सन भत्कने गरेको छ ।
बिहीबार पूर्वी नवलपरासीको कावासोती २ थानाचोक नजिकै अर्थात् डिभिजन वन कार्यालय नवलपुर नजिकै कल्भर्ड भत्किएको छ । बिहीबार बिहान ८ बजेबाट उक्त खण्डमा सडक अवरुद्ध भएको हो जुन शुक्रबार अबेरसम्म खुल्न सकेको थिएन ।
तथापि भित्री बाटो प्रयोग गरेर हल्का तथा यात्रुवाहक सवारी साधनमात्र सञ्चालनमा ल्याइएको छ भने मालवाहक सवारी साधन भने बीच बाटोमा नै रोकिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले सडक मर्मत भइरहेको बताए ।
यस अघि आएको बाढीले बुटवल नारायणगढ सडक खण्डकै गैंडाकोटका ३ वटा डाइभर्सन भत्काएको थियो । जुन मर्मत गरेर यातायात सञ्चालनका लागि २ दिन लागेको थियो भने त्यस अघि भूमही सुनवल र रुपन्देहीको देवदह क्षेत्रमा पनि डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुन पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width