कृषकलाई यान्त्रिक हलो

साधन राम्जाली
असार ६, २०७८
halo myagdei

म्याग्दी  । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले बेनी नगरपालिका–५, पुलाचौरका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको छ । वडा कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले विनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद गरी कृषकलाई वितरण थालिएको हो ।

नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनिटेलर वितरण गरिने कृषि कार्यक्रमको उपभोक्ता समितिका अध्यक्ष कृष्ण कार्कीले बताए । ४७ हजार २ सय रुपैयाँ दरले २३ लाख ६० हजार लागतमा ४८ देखि ५० वटा यान्त्रिक हलो वितरण गर्ने लक्ष्य रहेको कार्कीले बताए ।

पुरुण्डीमा शनिबार एक कार्यक्रमबीच वडाध्यक्ष लक्ष्मण बानियाँ र सदस्य रामप्रसाद सुवेदीले यान्त्रिक हलो वितरण कार्यक्रम सुरु गरेका थिए । पहिलो दिन २० वटा वितरण गरिएको र बाँकी आइतबार वितरण गरिने छ । डडुवा, नयाँ गाउँ, चिप्लेटी र पुलाडाँडा क्षेत्रका कृषकलाई सामूहिक प्रयोग गर्ने गरी यान्त्रिक हलो उपलब्ध गराइसकिएको छ । बाँकी टोलका कृषकलाई पनि यान्त्रिक हलो उपलब्ध गराउने समितिले जनाएको छ ।

टोल विकास संस्थाको सिफारिसमा वडा कार्यालयले छनौट गरेका कृषकलाई यान्त्रिक हलो वितरण गरिएको हो । पछिल्लो समय गोरुको विकल्पमा कृषकले यान्त्रिक हलो प्रयोग गर्न थालेका छन् । छिटो हुने, गोरु पाल्न नपर्ने र झन्झट नहुने भएकाले यान्त्रिक हलोप्रति आकर्षण बढेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width