भेरोसिलमा महानगरवासीको उत्साह

धनबहादुर गुरुङ
जेठ २८, २०७८
Khop Photo 1

पोखरा । पोखरा ४ सहरी स्वास्थ्य केन्द्र परिसरमा बिहीबार बिहान वृद्धवृद्धा पंक्तिबद्ध भई पालो कुरेर बसेका देखिन्थ्यो । जनप्रतिनिधिसहित स्वयंसेवक भिग्नेस गुरुङ लाइन मिलाउन व्यस्त थिए । पालैपालो गेटबाट भित्र छिरेकालाई केन्द्रका प्राविधिक स्वयंसेवक सावित्री अधिकारी, मनीषा कँडेल र हरि क्षेत्री खोप कार्ड दिन व्यस्त थिए भने भित्रतिर एक कोठामा अहेब कमला अर्याल कोरोनाविरुद्ध भेरोसिल खोप लगाइदिँदै थिइन् ।

लामो प्रतीक्षापछि भेरोसिल लगाइसकेपछि ६४ वर्षीया पार्वतीकुमारी श्रेष्ठ ‘ल अब केही भए पनि ढुक्क भइयो’ भन्दै निस्किइन् । ‘अब अर्को डोज कहिले आउँछ ?’ भनी प्रश्न गर्दै थिइन् । दोस्रो पनि छिट्टै आए अझ ढुक्क हुने उनको तर्क थियो ।

उनीसँगै पति विष्णुकुमार श्रेष्ठ आएका थिए । विष्णुकुमार पनि खोप लगाउन पाएकोमा मख्ख थिए । यसअघि कोरोना जितिसकेका श्रेष्ठ दम्पती खोप लगाइसकेपछि कोरोना लाग्दा पाएको दुख अब नदोहोरिनेमा आशावादी देखिन्थे । उनको परिवारमा ४ सदस्य छन् । परिवारका सबैलाई कोरोना संक्रमण थियो । रोग लागिसकेपछि विष्णुकुमार त गण्डकी मेडिकल कलेजमै भर्ना भएका थिए । उनकी श्रीमती र छोराछोरी होम आइसोलेसनमै निको भएका रहेछन् । कोरोना लाग्दा साह्रै दुख पाएको विष्णुकुमारको अनुभव छ । दुख मात्र हैन, उपचार गराउँदा धेरै खर्च भएको पनि सम्झिए । त्यो दुख सम्झिँदै उनले सबैलाई खोप लगाउन सुझाव समेत दिए । तर उमेर समूह छुट्याएर खोप लगाउनु राम्रो नभएको तर्क छ, विष्णुकुमारको । यसो गर्दा संक्रमित छोराछोरी खोपबाट वञ्चित बनेको उनको गुनासो थियो ।

यसअघि कोरोना जितिसकेका श्रेष्ठ दम्पती खोप लगाइसकेपछि कोरोना संक्रमणले पाएको दुख अब नदोहोरिनेमा आशावादी देखिन्थे

पोखरा ४ सहरी केन्द्रमा बिहीबार वडा २ र ४ का १ सय १७ जनाले खोप लगाएका हुन् । तीमध्ये ७० महिला रहेको केन्द्रका प्रमुख सुजन पौडेलले जानकारी दिए । केन्द्रमा १ सय ५० खोप लगिइएको ३३ खोप बाँकी छ ।

यसैगरी, पोखरा १ बगरको सहरी स्वास्थ्य केन्द्रमा पनि बिहानैदेखि खोप लगाउनेहरुको भिड देखिन्थ्यो । यहाँ भने अवस्था भद्रगोल थियो । एकै पटक धेरै जना खोप केन्द्रमा पुग्दा केन्द्रका स्वयंसेवकलाई व्यवस्थापनमा हम्मेहम्मे परेको थियो । भीडबाटै कोरोना सर्न सक्छ भनेर सम्झाउँदा पनि नटेरेको केन्द्रकी एक कर्मचारीले भनिन् । उनीहरुले जतिसक्दो सहज बनाउने कोशिसमा थिए । त्यही भीडबीच पालो कुरेरै ६४ वर्षीया टेकशोभा गुरुङ खोप लगाएर निस्किइन् । उनले अरु सुईं लगाउँदाभन्दा फरक महसुुस गरेको अनुभव सुनाइन् । धेरै जना कोरोना संक्रमित भएको सुनेका उनी खोप लगाएपछि ढुक्क थिइन् । ‘अब त केही हुन्न होला नि, पहिला त अरुअरुलाई लाग्यो भनेको सुन्दा पनि साह्रै मन आतिन्थ्यो’, उनले भनिन् ।

पोखरा महानगरका विभिन्न २७ स्थानमा बिहीबार खोप लगाउने तय भएको थियो । महानगरका ६२ देखि ६५ वर्ष उमेर समूहलाई भेरोसिल दिइएको हो । जिल्लाले महानगरका लागि ६ हजार ५ सय खोप दिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए । बिहीबार धेरैजसोले भेरोसिल लगाएको पौडेलको भनाइ थियो । ‘सबै केन्द्रबाट डाटा आउन बाँकी छ, प्राप्त जानकारी अनुसार धेरैले भेरोसिल लगाएका छन् भन्ने सुनेको छु,’ उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width