कोरोना कहरमा निमुखाको निमेक

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८
vegetable ~

पोखरा । बिहेपछि रोजगारीको खोजीमा श्रीमानसँगै १० वर्षअघि पोखरा झरेकी हुन्, चन्द्रा पुनमगर । ३० वर्षीया चन्द्रा दैनिक ज्यालादारीमा काम गर्छिन् । उनका पति श्यामलाल घर्तीमगर (३३) गाडी चलाउँछन् । परिवारमा एक छोरी छन् । जन्मजात अपांगता भएकी छोरीको हेरचाहसँगै अरुको निमेक गर्दै चन्द्राको दिन बित्छ ।

गाडीलाइनमा लागेका पतिको ठेगाना हुँदैन । कहिले पोखरा, कहिले वीरगञ्ज त कहिले सुनौली कुदिँरहन्छन् । काम गर्न गएको बखत चन्द्राले ३/४ सय जति कमाउँछिन् भने श्यामलालको भागमा पर्छ, हजार जति ।

बागलुङको बुर्तिवाङबाट पोखरा आएको मगर दम्पती पोखरा–५, मालेपाटनमा महिनाबारी ५ हजार कोठा भाडा तिरेर बस्दै आएको छ । लकडाउनअघि दैनिक गुजारा ठिकठिकै थियो । तर अहिले कोरोना कहरले नराम्ररी गाँजेको छ । श्यामलालको गाडी ग्यारेजमै थन्किएको छ । काम नपाएपछि उनी अहिले जन्मजातै प्यारालाइसिसबाट थलिएकी छोरीको स्याहार गरेर पत्नीलाई खेतबारी पठाउँछन् ।

मालेपाटनमा बुधबार बिहान बारी गोड्दै गरेको अवस्थामा भेटिइन् चन्द्रा । खासमा यो बारी पार्वती अधिकारीले भाडामा लिएकी हुन् । उनले १० वर्षदेखि ३ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्छिन् । काममा सँगै थिइन्, पार्वतीकी छोरी सावित्री । उनीहरुको एउटै गुनासो थियो, ‘लकडाउनले मार्नु मार्‍यो, हातमुख जोर्नै समस्या होला जस्तो छ । कहिले हट्ला यो कोरोना पनि !’

‘लकडाउनले मार्नु मार्‍यो, हातमुख जोर्नै समस्या होला जस्तो छ ।’

कुराकानीको क्रममा चन्द्राले त आफूले कोरोना पचाएकोसम्म बताइन् । भनिन्, ‘अघिल्लो महिना मलाई रुघाखोकी लाग्यो । हनहनी ज्वरो पनि आयो । पक्कै कोरोना होला भन्ने थियो । तैपनि जचाउन गइनँ । गए कोरोना देखाउँछ । कोठामा छुट्टै बसें । एक सातापछि निको भयो ।’ ‘हामीहरुलाई काम नगरी सुख छैन । एक दिन काम गरिएन भने के खाने ? भन्ने छ । कोरोनाभन्दा पनि भोकमरी पर्ला जस्तो छ,’ चन्द्राले झार पन्छाउँदै गुनासो पोखिन् ।

यत्तिकैमा पार्वतीले थपिन्, ‘तरकारी खेती गरो गरो, बिक्री हुन्न । उस्तै परे फालेर आउनु पर्छ ।’ तरकारी खेती गर्ने किसानको पनि चन्द्राको जस्तै मिल्दोजुल्दो व्यथा रहेछ । हेमजा झिर्झिकाकी पार्वतीको परिवार मालेपाटनमै कोठाभाडामा लिएर बसेको छ । उनका श्रीमान् मजदुरी गर्दा रहेछन् । कास्की प्रशासनले ठिक १ महिनादेखि जारी राखेको लकडाउनले उनी पनि यतिबेला बेरोजगार रैछन् ।

निषेधाज्ञा अवधिभर कास्की प्रशासनले बिहान ५ देखि ९ बजेसम्म मात्र तरकारी, फलफूलका पसल खोल्ने तथा बिक्री वितरणको अनुमति दिएको छ । छोटो समय भएकोले हतारहतार डोको बोकेर सस्तो बजारमा बिक्री गर्न जानुपर्छ । बिक्री भएन भने त्यसै खेर जान्छ । पार्वतीका अनुसार बुधबार बिहान डोकोमा लगेको भन्टा, सिमी, साग आधामात्र बिक्री भएछ । ‘दिनभरि बेच्न पाउनु र एक छिनमात्र बेच्नु फरक पर्छ,’ उनले बिक्री नहुनेको कारण प्रष्ट पारिन् । पार्वतीले आफूहरुजस्तै ११ जना मिलेर सस्तो बजारमा २ स्टल लिएका छन् । निषेधाज्ञाको बेला अधिकांश घरभित्रै खुम्चिएको बेलामा उनीहरु भने खेतीकिसानीमा व्यस्त देखिन्छन । तैपनि कोरोना कहरसँगै जारी निषेधाज्ञाले तरकारीले बजार नपाएको उनको गुनासो छ ।

कृषि बजार व्यवस्थापन समिति, पोखराका निमित्त बजार व्यवस्थापक महेन्द्रसिंह थापाले बिहान ९ बजे नै बन्द गरिसक्नुपर्ने हुँदा किसानको उत्पादनले बजार पाउन नसकेको स्वीकार्छन् । लकडाउन अघिसम्म कृषि बजारमा दैनिक फलफूल ९० देखि १ सय टन र तरकारी १ सयदेखि १ सय २० टन आउँथ्यो । अहिले भने तरकारी ८० र फलफूल ५० टन जति बिक्री वितरण हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width