कामदार संक्रमित हुँदा जलविद्युत आयोजना निर्माणमा प्रभाव

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७८
Ma Dordi A 1

लमजुङ  । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा कार्यरत मजदुरमा कोरोना संक्रमण देखिँदा निर्माण प्रभावित बनेको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो आयोजनामा कार्यरत ३८ कामदारमा संक्रमण पुष्टि भएको छ । १ सय २५ जना कामदार खटिएकोमा आइतबार ३३ जनामा संक्रमण देखिएको छ । अघिल्लो साता ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

लमजुङको दोर्दी खोला करिडोरमा निर्माणाधीन सो आयोजनामा कार्यरत मजदुरमा एक्कासी कोभिड–१९ देखिँदा आसपासका गाउँले समेत त्रस्त छन्।

जिल्लाको पूर्वी क्षेत्रमा बहने दोर्दीखोलामा निर्माण गरिएको उक्त आयोजनाको उत्पादन क्षमता २५ मेगावाट हो । लिवर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाको हालसम्म ९९ प्रतिशत निर्माण काम सकिएको छ । आयोजनाको छिटफुट र केही फिनिसिङको काम मात्र बाँकी रहेको उक्त जलविद्युत आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए । ‘हामी निर्माणको अन्तिम चरणमा पुगेका छौं । सम्पूर्ण काम यही जेठ २५ सम्म सक्ने रफ्तारमा काम अघि बढेको थियो । तर कामदारमा संक्रमण देखिँदा निर्माण प्रभावित बनेको छ ।’

जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार आयोजनाका ४८ कामदारको स्वावमा संकलन गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । तर अस्पताल भर्ना गर्नुपर्ने अवस्था कसैको पनि नभएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए ।

पछिल्लो समय एकै पटक ३३ कामदारमा संक्रमण पुष्टि भएको खबर गाउँमा पुग्दा गाउँलेहरू निकै त्रस्त भएको कीर्तिपुर गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए । विकास निर्माणको काम नरोक्ने भन्ने सरकारको नीति भएकोले अहिलेसम्म काम भने रोकिएको छैन । घलेले भने, ‘बाहिरबाट कामदार ल्याएको हुँदा समस्या थपिएको हो, काम छिटो सक्ने भन्दै नयाँ नयाँ कामदार ओसारिरहेका छन्, आयोजनाले ।’

गत चैत मसान्तसम्म बिजुलीको परीक्षण उत्पादन हुने लक्ष्य थियो । विद्युत प्रसारण लाइन निर्माणमा समेत ढिलाइ भएका कारण आयोजनाको पनि उत्पादनमा ढिलाइ गरिएको सञ्चालक वस्तीले बताए ।

दोर्दी गाउँपालिका–६ र ७ साविकका ढोडेनी र फलेन गाविसमा निर्माण गरिएको आयोजनाले तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा बाँध निर्माण गरिएको आयोजनाका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए । उनका अनुसार आयोजनाको २ हजार ६ सय २३ मिटर लम्बाइको सुरुङ छ । आयोजनामा विद्युत उत्पादनका लागि १२ दशमलव ५ मेगावाट क्षमताका २ वटा टर्बाइन जडान गरिएको छ । सो आयोजना निर्माणमा ४ अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width