धनबहादुर गायकको स्मृतिमा प्रतिष्ठान

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
Dhan Bdr Photo

पोखरा । लोकगायक धनबहादुर गायकको ६० औं जन्मजयन्तीको अवसरमा स्मृति प्रतिष्ठान एवं मौलिक बाजा संरक्षण पाठशाला गठनबारे छलफल भएको छ ।

गायक परिवारले सोमबार कार्यक्रम आयोजना गरी धनबहादुर गायक स्मृति प्रतिष्ठान एवं मौलिक बाजा संरक्षण पाठशाला गठनबारे छलफल गरेको हो । छलफलमा गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले स्व. धनबहादुर गायक गज्जबको रमाइलो व्यक्ति भएको बताए । गन्धर्व समुदायलाई स्थापित गर्ने विषयमा स्व. गायकको सहयोग अतुलनीय रहेको थापाको भनाइ छ । स्मृति प्रतिष्ठान बनाउन आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले व्यक्ति मरेर गए पनि सिर्जना कहिल्यै नमर्ने बताए । सिर्जना नमर्ने गरी सधैं ताजा बनाउन प्रतिष्ठानले सहयोग पुर्‍याउने भएकाले छिटोभन्दा छिटो प्रतिष्ठान गठन गरेर अघि बढ्नुपर्ने बताए । त्यतिबेला सञ्चारको काम गर्ने गन्धर्व समुदायलाई अब सञ्चारले सहयोग गर्नुपर्ने धारण राखे । जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य मनकुमार श्रेष्ठले देशको सिंगो संगीत जोगाएको बाटुलेचौरमा स्व. गायकको नाममा प्रतिष्ठान आवश्यक रहेको सुनाए । प्रतिष्ठान बनेपछि छात्रवृत्ति दिएरै सारंगी सिकाउने भन्ने शब्दमा मात्र होइन, व्यावहारमै लागु हुने उनले बताए ।

लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले गीत संगीत राष्ट्रको गहना भए पनि सर्जकको पीडा सरकारले नबुझेको गुनासो गरे । ‘हामी राष्ट्रको गहना होइनौं, सहयोगी हौं,’ उनले भने, ‘सहयोगी बन्दै राज्यको हरेक सुख दुखमा सहकार्य गर्न तयार छौं ।’ स्व. गायकको नाममा बन्ने प्रतिष्ठानका लागि लोक दोहोरी प्रतिष्ठानबाट आर्थिक, नैतिक र भौतिक सहयोग गर्न तयार रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width