बहिष्कार चेतावनीपछि एलिनाको आत्मालोचना

विजय नेपाल
फागुन २६, २०८०
Eleena chauhan jpg

-फाइल फोटो ।

पोखरा। आफूलाई बहिस्कारसम्मको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन् । पर्वतको एक कार्यक्रममा साउण्ड टेक्निसियनसँग भनाभनलाई लिएर साउण्ड सिस्टम कम्पनीले बहिस्कार गर्ने चेतावनी दिएपछि उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मालोचना गरेकी हुन् ।

एलिनाले उक्त दिन नहुनुपर्ने आकस्मिक घटना हुन पुगेको र सो घटनामा तत्कालीन समयमा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेको भन्दै आत्मालोचना गरेकी हुन् । उनले लेखेकी छन्, ‘मञ्चीय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमीकमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु । आगामी दिनहरुमा म त्यसप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु ।’ तर टेक्निसियनले गायिका चौहानको प्रतिष्ठा गिराउने गरी ‘पहिले तपाईं आफ्नो भोकल क्लीयर गर्नू्’ भन्ने अभिव्यक्तिबारे नजरअन्दाज भएको छ ।

गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सक्रममा साउण्ड सिस्टम विषयलाई लिएर गायिका चौहान र जिके साउण्ड सिस्टमका साउण्ड टेक्निसियन भगवान् थापाबीच विवाद उत्पन्न भएको थियो । उनीहरुबीच विवादको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

गायिकाले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउण्ड सिस्टम व्यवसायीहरुले बहिस्कार चेतावनी दिएका हुन्

सो घटनामा गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउण्ड सिस्टम व्यवसायीहरुले शनिबार विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए । यहाँका ६ वटा साउण्ड सिस्टमहरुले गायिका चौहानले माफी नमागेसम्म उनी उपस्थित हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका हुन् । विज्ञप्ति जारी गर्नेमा जिके साउण्ड सिस्टमका संचालक गमबहादुर क्षत्रीसहित एसके साउण्ड लाइट एण्ड म्यूजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिसका विनित जोजिजू र एविज साउण्ड सिस्टमका एविज गुरुङ हुन् ।

‘आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिँदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउनेजस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारीसमेत गराउँछौं ।’

जिके साउण्ड सिस्टमका सञ्चालक गमबहादुर क्षत्रीले भने एलिनाले माफी मागेको भन्ने फेसबुकमा देखे पनि यसबारे तत्काल माफी नदिने बताउँछन् । उनले पूर्वतिरका साउण्ड सिस्टम सञ्चालकसँग पनि कुरा गर्ने र एकदुई दिनपछि निर्णय सार्वजनिक गर्ने आदर्श समाजलाई बताए ।

पुन युवा क्लबले ४२ औं मगर दिवस अवसरमा १५ फागुनदेखि कुस्मा तेस्रो संस्करणको मगर महोत्सव आयोजना गरेको थियो । गायिका चौहान–टेक्निसियनबीच विवाद भने गत २० फागुन राति ८ बजेर ५४ मिनेटमा भएको हो । उक्त दिन चौहान अतिथि कलाकारका रुपमा डाकिएकी थिइन् । पानी परेकोले राति कन्सर्ट पनि नगर्ने कि भन्ने अन्योलबीच महत्वपूर्ण कलाकार ल्याएको र दर्शकले पनि हुटिङ गरेको भन्दै अन्ततः चौहान स्टेज चढ्ने भइन् । उनले ‘धोकेवाज हौ तिमी..’ लगायत आधा दर्जन गीत गाइसकेकी थिइन् । पानी परेको र रात घर्किंदै गएको थियो । अन्तिम प्रस्तुतिमा वान्स मोर आएपछि फेरि गाउने भइन् ।

त्यत्तिकैमा उनले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गर्छिन् । जवाफमा ‘पहिले भोकल क्लियर गरेर हामीसँग लेबल माग्नू’ सुन्छिन् । एलिना रिसले आगो हुन्छिन् । उनले टेक्निसियनलाई जवाफ फर्काउँछिन्, ‘पहिला तपाईंको त्यो बोल्ने ढंग सुधार गर्नू, बुझ्नु भो । आफ्नो गल्ती छ । यहाँ आएर एकचोटि उफ्रेर हेर्नू त । तपाईंले मलाई सिकाउनु पर्दैन, बुझ्नू भो नि !’ नाच्न जान्दैन आँगन टेडो भनेको यही हो । मिलाउन आउँदैन अनि लाज लाग्दैन यस्तो बोल्नलाई ?’

जवाफमा टेक्निसियन फेरि बोलेको सुनिन्छ, ‘तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ सामाजिक सञ्जालमा भाइरल यो भिडियोमा दुवैको भनाभन सुन्न सकिन्छ । दर्शकले चर्को हुटिङ गरिरहेका छन् । उनीहरु टेक्सिसियनमाथि जाइ लाग्न खोज्छन् । कार्यक्रम यत्तिकैमा स्थगित हुन्छ । १२ दिनसम्म चलेको उक्त महोत्सव शनिबार सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिनमात्र साउण्ड सिस्टम सञ्चालकहरुबाट विज्ञप्ति आएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width