बुढ्यौलीमा भेडीगोठ मोह

धनबहादुर गुरुङ
वैशाख १६, २०८१
Bhedigoth Photo 2

पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र भेडो घाँस खाइरहेको छ । कुकुरको छेवैमा अगेनामा ओदानमाथिको कुँडेमा दूध चलाउँदै छन्, उमेर ९० वर्ष लागेका रनबहादुर गुरुङ ।

यो, चैतको अन्तिम मंगलबार पोखरा सभागृहमा देखिएको दृष्य हो । तमु धिं नेपालले आयोजना गरेको ट्होटें ¥यालीमा ताङतिङ दूधपोखरी तमु समाजको प्रतिनिधित्व गरेको भेडीगोठसहितको यो झाँकी प्रथम पनि भयो । धेरै तमु समाजहरूले आकर्षक मान्दै यो दृष्य नियालिरहेका थिए भने युवा पुस्ताले आश्चर्य मान्दै फोटो खिचाउँदै थिए ।

कास्कीको मादी गाउँपालिका–२ का रनबहादुरले झाँकी देखाउनका लागि मात्र भेडीगोठालेको नक्कल गरेका होइनन् । उनी बैंशजोवान लेकमा बिताएका असली गोठाले हुन् । रनबहादुरलाई भेडीगोठप्रतिको मोहले बुढ्यौलीमा पनि छोडेको छैन । २० वर्षको उमेरदेखि भेडाको पछि लागेको उनले सुनाए । ‘म २०/२५ वर्ष हुँदादेखि नै भेडा लिएर लेकतिर उक्लन थालेको हुँ,’ उनले भने, ‘९० वर्ष लाग्यो । बुढो पनि भइयो अब त छोड्ने बेला भयो ।’

रनबहादुर पछिल्लो एक वर्षदेखि पोखरा माटेपानीमा बस्दै आएका छन् । तर, भेडीगोठ जान नछोडेको उनले सुनाए । ‘अहिले पोखरा बस्ने गरेको छु । भेडीगोठ जान छोडेको छैन । जान मन हुँदा कहिलेकाहीं अझै गइरहेको हुन्छु,’ उनले भने, ‘अहिले एउटा गोठाले छ उसैले हेर्छ । गरिरहेको काम छोड्नै मन छैन ।’

ताङतिङदेखि माथि ठूलोलेक भन्ने स्थानमा भेडीगोठ रहेको उनले सुनाए । जहाँ पुग्न ताङतिङबाट २ दिन लाग्छ । ‘त्यो ठूलोलेक पुग्न त २ दिन लाग्छ । बाटोमा बास बसेर जानुपर्छ,’ उनले भने, ‘अहिले त त्यहाँ गोठ धेरै छैन । पहिला ७/८ वटा गोठ हुने ठाउँमा यो बेला मेरो मात्र छ ।’ पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुग्न थालकोमा उनी चिन्तित छन् । पुख्र्यौैली पेसा जोगाउनका लागि गोठाले राखेर पनि ३ सय हाराहारीमा भेडाबाख्रा लेकतिर लगेर पाल्ने गरेको उनले बताए ।

भेडा, घिउ, कुराउनी, बख्खु, राडीपाखी बेचेर वर्षमा ४/५ लाख रुपैयाँ आम्दानी हुने

हरेक वर्षको माघेसंक्रान्तिमा भेडाबाख्रा लिएर लेक जाने अनि असोज कात्तिकमा बेंसी झर्ने उनको भनाइ थियो । ‘ताङतिङबाट भेडा बाख्रा लिएर हरेक वर्षको माघ १ गते जान्छौं अनि असोजको अन्तिमतिर फर्कन्छौं,’ उनले भने, ‘करिब ८/९ महिना माथि बस्ने हो । त्यही दूध दुहुने, पकाउने खाने अनि घिउ निकाल्ने, भेडाको ऊन निकाल्ने काम हुन्छ ।’

गोठमा बस्दा खानका लागि पिठो, चामल, आटो अनि नुनतेल लिन समय–समयमा ताङतिङ झर्ने उनले बताए । गाउँ झर्दा घिउ र कुराउनी बोकेर झर्ने उनले सुनाए । ‘माथि हामीले खाना त खानैप¥यो । यसका लागि गाउँमै झर्नुपर्छ,’ उनले भने, ‘तल झर्दा घिउ, कुराउनी लिएर आउने अनि फेरि खानेकुरा बोकेर उक्लने हो ।’

पोखरा बसे पनि भेडीगोठको याममा उमेरले सक्दासम्म लेक उक्लने उनको भनाइ छ । जमानादेखि गर्दै आएको काम चटक्कै छोड्न नसकिने उनले बताए । उनको कर्ममा अहिले छोरा टुकबहादुर गुरुङले साथ दिएका छन् । टुकबहादुर गुरुङ लाहुरेजीवनबाट अवकाशपछि बाबुको काममा हातमा हात मिलाइरहेका छन् ।

‘युवाहरू बाहिर जाने क्रममा यहाँ भएको भेडीगोठ सम्हाल्ने मान्छे पाएन । अब भने हाम्रो पुख्र्यौंली पेसा जोगाउनुपर्छ भन्ने चाहना छ,’ टुकबहादुरले भने, ‘अहिले गोठमा ३ सय हाराहारीमा भेडाबाख्रा रहेका छन्, त्यसैले पनि बाबाले गरेको काममा साथ दिइरहेको छु ।’ लेकमा भेडा पाल्ने काम गाह्रो भए पनि आम्दानीको राम्रो स्रोत भएको उनले सुनाए । भेडा, घिउ, कुराउनी, बख्खु, राडीपाखी बेचेर वर्षमा ४÷५ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए । ‘भेडीगोठबाट त धेरै आम्दानी छ । दसैंमा त कप्रु डाँडामै गएर भेडाको साँढ लिएर झर्छन्,’ उनले भने, ‘बख्खु, राडीपाखी, घिउ, कुराउनी सबै गर्दा माथि त पैसा नै पैसा छ । हामीले सालाखाला ४÷५ लाख रुपैयाँ कमाइ गरिन्छ ।’

आफूहरूले नसकेको अवस्थामा यो पेसा लोप नै भएर जाने हो कि भन्नेमा उनी पनि चिन्तित छन् । यसको संरक्षणका लागि केही न केही योजना अघि सार्नुपर्ने उनको भनाइ थियो । ‘गर्न खोज्ने अनि सक्नका लागि भेडीगोठमा भेडा पालन सहज नै छ,’ उनले भने, ‘यो लोप हुने अवस्थामा पनि छ । अब बिस्तारै यसको महत्व र पुख्र्यौली पेसाबारेमा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width