पाइन खबर साँझमा हरिदेवीका गीत

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
Paina Khabar Photo

पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,
               धेरै भयो केही खबर नपाको
               पाइन खबर,
               घर फर्की आउनुहोस् मेरो हजुर ।

आजभन्दा करिब चार दशकअघि बजारमा आएको यो गीत नेपाली गीतसंगीतका एउटा कालजयी गीत हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ उनै वरिष्ठ गायिका एवं साहित्यकार प्राज्ञ हरिदेवी कोइराला समर्पित ‘पाइन खबर साँझ–२०८०’ हुने भएको छ ।

इन्द्रेणी थिएटरले चैत १० मा गायिका हरिदेवी कोइरालासँगै अन्य कलाकार साथमा उक्त साँझको तयारी गरेको हो । ‘इन्द्रेणी थिएटर’ को पाँचौँ वार्षिकोत्सव अवसरमा पोखरा २२ पुम्दीभुम्दी, लुकुन्स्वाँरामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको इन्द्रेणीका अध्यक्ष तथा कार्यक्रम संयोजक केदारनाथ पौडेलले बताए ।

उनका अनुसार कार्यक्रममा गायिका कोइरालाको समग्र कलायात्राको बारेमा जानकारी दिइनेछ । गायिका कोइरालाको गीत, कविता वाचन तथा प्रकाशित कृतिका बारेमा जानकारी गराइने उनले सुनाए । कार्यक्रममा पद्मराज ढकाल, संगीतकार नवराज बराल, गायक रामजी पौडेल, दिलीप गायक, महेन्द्रराज बराल, विष्णु बराल, श्रीधर कँडेल लगायत एक दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।

‘साँझमा हरिदेवी कोइरालासँगै धेरै कलाकारहरु हुनुहुनेछ । जसमा अन्य कलाकारले एउटा हरिदेवीको गीत गाउनुहुनेछ,’ उनले भने, ‘खुला आकाशमा हुने कार्यक्रममा सबै जना आउन सक्नुहुनेछ । साँझमा गायक अमृत गुरुङ पनि दर्शकका रुपमा आउनुहुने कुरा छ ।’

‘इन्द्रेणी थिएटर’ पोखरामा रहेर त्यहाँको रंगमञ्चमा क्रियाशिल युवाले स्थापना गरेको संस्था हो । थिएटरले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाटक निर्माण, प्रदर्शन तथा कार्यशाला सञ्चालन, कार्यपत्र प्रस्तुति, खोज, अनुसन्धान, चित्रकला, कविता, गजललगायतको क्षेत्रमा काम गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width