मुखै रसाउनी पाल्पाली चुकाउनी

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
chukauni

तानसेन । पाल्पाको पहिचानको रूपमा विकसित हुँदै गएको चुकाउनीको प्रयोग बढ्न थालेको छ । बिस्तारै गर्मी बढ्दो क्रममा रहेकाले चुकाउनीको प्रयोग बढ्न थालेको हो । आलु र दहीको मिश्रणबाट बन्ने चुकाउनी एक प्रकारको स्वादिलो अचार हो । सहरका कतिपय भोजनालयमा पनि तपाईंले यो परिकार पाउनुहुनेछ । तर, पाल्पाको रैथाने स्वादले हाम्रो जिब्रो लोभ्याउँछ । एक पटक चाखेपछि मन अघाउँदैन ।

चुकाउनी के हो ?

चुकाउनी खासमा अचार हो । भात, चिउरा, रोटी आदिसँग खान सकिन्छ । चुकाउनीमात्र खाए पनि हुन्छ । आलु, दही, हरियो खुर्सानी, मेथीको दाना, धनियाँको हरियो पातलाई प्रयोग गरेर तयार पारिने चुकाउनी धेरैले रुचाइएको खानामध्येको एक प्रमुख परिकार हो । यो अचार स्वादिलो मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ । स्वादिलो र स्वस्थ्यकर भएकाले नै चुकाउनी पाल्पामा मात्र सीमित रहेन । सहरका भोजनालयले पनि आफ्नो मेनुमा यसलाई समेटिन थालेको छ । नेपाल बाहिर अर्थात विदेशी भान्सामा समेत अहिले चुकाउनी परिकार पाउन थालिएको पारखीहरू बताउँछन् ।

यतिबेला पाल्पाका धेरैजसो ठाउँमा आलु खनेर किसानले थन्काएका छन् । जिल्लाकै बढी आलु उत्पादन हुने आलु पकेट क्षेत्रका रूपमा पहिचान बनाएको रामपुरमा यस वर्ष ४ हजार टन आलु उत्पादन भएको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष दोब्बर आलु उत्पादन भएको छ । आलुबाट बन्ने विभिन्न परिकारमध्ये चुकाउनीको प्रयोग बढाइएको स्थानीयबासी बताउँछन् ।

कसरी बनाउने चुकाउनी ?
चुकाउनी बनाउन धेरै समय लाग्दैन, न त श्रम नै । हाम्रो भान्सामा दैनिक उपलब्ध हुने सामग्रीबाट सहजै चुकाउनी बनाउन सकिन्छ । एक पटक देखेपछि जो कोहीले आफ्नै हातले चुकाउनी बनाउन सक्छन् । आलुलाई धेरै नगल्ने ढंगले उसिन्नुपर्छ । त्यसलाई स–सना टुक्रामा काट्ने । यसरी टुक्रा बनाएको आलुमा नुन राख्ने । काटेर टुक्रा बनाएको प्याज मिसाउने र त्यसपछि यसमा छोप लगाउनुपर्छ । छोपको लागि सिलाम वा तील पिँधेर उक्त आलुमा मिसाउनुपर्छ । तोरीको तेल तताउने र त्यसपछि त्यसमा केही मेथी फुराउने र आलुको माथिबाट राख्ने । त्यसैगरी रातो खुर्सानी र बेसार झानेर आलुमा खन्याउने ।

आलुमा ती सबै कुरालाई मजाले घोलेर दही मिसाइदिने । त्यसमाथि ताजा कागतीको रस चुहाउने । धनियाँको पातलाई माथिबाट छर्किने । यसरी चुकौनी तयार हुन्छ । यसलाई तपाईं आफ्नो मर्जी अनुसार भात, रोटी आदिसँग खान सक्नुहुने रामपुरका हुमा देवकोटाले जानकारी दिए ।

पाल्पाका रैथाने नेवार समुदायको संस्कृतिबाट आएको खाना अहिले पाल्पाली खानाका रूपमा परिचित भएको जानकारहरूको भनाइ छ । नेवार समुदायले विवाह, व्रतबन्ध, पूजाआराधनालगायत शुभकार्य, धार्मिक कार्यमा अनिवार्य जस्तै प्रयोग गर्ने चुकाउनी स्वास्थ्यका हिसाबले पनि महत्वपूर्ण मानिने लेखक निर्मल श्रेष्ठले बताए । ‘सजिलै पाइने र सरल तरिकाबाट बनाउन सकिने भएकाले यसको प्रयोग सबैले गर्न थालेको छ,’ उनले भने, ‘पहिले सदरमुकाम तानसेनमा बस्ने रैथाने नेवार समुदायले चाडपर्व र शुभकार्यका बेला अनिवार्य तयार पारिने चुकाउनी आजभोलि सबैले मन पराएका छन् ।’

जाडोमा केही कम बिक्री भए पनि गर्मीमा चुकाउनी सबैले खोज्ने गरेको होटेल व्यवसायीहरूको भनाइ छ । विशेषगरी पाल्पाको केराबारी तथा राम्दी क्षेत्रका होटेल व्यवसायीले चुकाउनीको व्यापार गर्दै आएको पाइन्छ । राम्दीको होटेलमा आउने अधिकांश ग्राहकले चुकाउनी खाने इच्छा राख्ने गरेको अमात्य रेस्टुरेन्टका सञ्चालक नन्दकिशोर अमात्यले बताए । उनले करिब २३ वर्षअघि देखि चुकाउनीको व्यापार गर्दै आएका छन् । राम्दी स्याङ्जा, पोखरा, चितवनतर्फ जाने सडक भएकाले अन्य जिल्लाका नागरिकले चुकाउनी चाख्छन् र मन पराउँछन् अनि यसको पहिचानलाई अन्यत्र फैलाउँछन् भन्ने उनको अनुभव छ । देशका अन्य भागमा नपाइने चुकाउनी पाल्पामा मात्र बेच्न पाएकामा व्यापारी नै गर्व महसुस गर्छन् ।
पाल्पाको राम्दीमा चुकाउनी पाइन्छ भन्ने थाहा पाएकाहरू चुकाउनी खानकै लागि त्यहाँ पुग्ने गरेको व्यवसायीको भनाइ छ । पाल्पाली ढाका, करुवालगायत विभिन्न पहिचान दिने वस्तुसँगै पाल्पाली खानाका रूपमा चुकाउनीको पहिचानसमेत छुट्टै छ ।

Related News

सम्बन्धित समाचार

    • विकृत बजार, सुस्त अनुगमन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । आवश्यक जनशक्ति अभावमा अनुगमन र निरीक्षण हुन नसकेको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । उपभोक्ता मञ्च गण्डकी…
    • गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      काठमाडाैं ।  नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी…
    • कालिका माविमा युनाइटेड क्लकाे लागुऔषध सचेतना कार्यक्रम

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३, २०७८
      पोखरा  । युनाइटेड क्लबको ११ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन शुक्रबार कालिका माविमा लागुऔषध सचेतना कार्यक्रम…
    • एनटिएचएमसीमा सेफ कम्पिटिसन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १, २०७८
      पोखरा । नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी), पोखराले पहिलो पटक एनटिएचएमसी सेफ कम्पिटेसन आयोजना गरेको छ । बिबिसी मास्टर…
    • मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १, २०७८
      पोखरा । पोखरामा आयोजना भएको प्रथम मेयर साइकल दौडमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले जीतेका छन् । नयाँवर्षको दिनमा…

    hero news full width

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै