मस्र्याङ्दी जलासयमा मोटरबोट

आदर्श समाज सम्वाददाता
वैशाख २, २०८१
motor boat

दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालन गरेको हो ।

गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरिबहादुर चुमानले मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गरे । उनले जलविद्युत, कृषि, पर्यटन समृद्धिका आधार रहेकाले यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।

मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरेर उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । जलासय नजिक प्रसिद्ध धार्मिकस्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमार्फत आकर्षित गर्न सकिने उहाँको भनाइ छ ।

अध्यक्ष चुमानले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाईसमेत मोटरबोटमा आकर्षित गर्न सकिने बताए । उनले भने, ‘पर्यटनका क्षेत्रमा केही नवीन काम गर्ने जमर्को गरेका छौं । ऐनापहरामा उद्यान निर्माणाधीन छ भने आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने योजना बनाएका छौं ।’

सो जलासयमा तत्कालका लागि १ करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकका लागि थप पर्यटकीय गन्तव्यको विकास गर्न सकिने उनको भनाइ छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एन्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका २ मोटरबोट सञ्चालन गरिएको छ ।

कम्पनीले थप ३ करोड लगानी गरी जलासय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना रहेको जनाएको छ ।

यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिए ।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरकफरक शुल्क कायम गरिएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न २ सय ५० प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति ५ सय र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति १ हजार शुल्क लाग्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width