मलेसियामा पोखराको प्रचार

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
tewan

पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ ।

पोखराको पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर १० दिनअघि मलेसियासहित विभिन्न देशको भ्रमणमा निस्केको टोलीले बिहीबार मलेसियामा टूर अपरेटरसँगको अन्तरक्रिया गर्दै पोखरा घुम्ने निम्तो दिएको हो । अन्ततक्र्रियामा करिब २५ टूर अपरेटरले भाग लिएका थिए ।

टेवान अध्यक्ष कमला गिरीले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको जनाउँदै पोखरा र समग्र गण्डकी क्षेत्रको पर्यटकीय सम्भावना, गन्तव्य र अवसरबारे जानकारी दिएकी थिइन् । उनले नेपाल सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको देश हो भन्दै यहाँ घुम्न निम्तो दिँदै आगामी दिनमा सहकार्यमा जोड दिइन् । टेवान सचिव शोभा अधिकारी पौडेलले पनि पोखरा घुम्न आउनका लागि निम्तो दिइन् ।

टोलीले यसअघि मलेसिया र थाइल्याण्डका राजदूतावासमा छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पर्यटन प्रवद्र्धनमा महिलाको यो साहसिक कार्य हो भनी प्रशंसा गरे । उनले आगामी दिनमा पनि मलेसियामा हुने कार्यक्रममा सहयोग गर्ने वचन दिए ।

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले पोखरा पर्यटनको राजधानी भएकोले प्राकृतिक सुन्दरताको रक्षा गर्नुपर्ने सुझाव दिएका थिए । उनले थाइ सरकारले अपनाएको नीतिबारे जानकारी दिँदै पर्यटकीय गन्तव्यबारे बताए । थाइ नेपाल एसोसिएसनका संरक्षक कुमार कार्की, एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्रबहादुर बस्नेत लगायतले पोखराको पर्यटन प्रवद्र्धनबारे बोलेका थिए ।

अन्तक्र्रियामा नेपाली संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।

अध्यक्ष कमला गिरी नेतृत्वको भ्रमण टोलीले मलेसिया, थाइल्याण्डसहित सिंगापुरको भ्रमण गरेको हो । भ्रमणमा टोलीले नेपाल पर्यटन बोर्डले निर्माण गरेको पर्यटकीय गन्तव्य तथा संस्थाले निर्माण गरेको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पोखरा चिनाउने प्रचारात्मक सामग्री वितरण गरेको थियो । टोलीले पोखराको प्रबद्र्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो भने पोखरा घुम्नका लागि आ–आफ्नो देशबाट प्रचार गर्न जोड दिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग