‘चुल्ठो’ : कविताको खडेरीमा राहत

धनबहादुर गुरुङ
फागुन १९, २०७७
Chultho Photo

पोखरा, १९ फागुन । कवि, उपन्यासकार सहित्यकार सरस्वती प्रतीक्षाको भनाइ सापटी लिने हो भने, केही समय अगाडिसम्म पोखरामा कविताको खडेरी थियो । वाङ्मय वृतमा पछिल्लो समय पोखराबाट कुनै कविताका कृतिहरु प्रकाशित भएका थिएनन् ।

सरस्वती प्रतीक्षाकोे भनाइ र वास्तविक धरालत सही सावित भएकै बखत पोखरामा पानी परेको छ । अर्थात् खडेरी लागेको संज्ञा पाइरहेको पोखराले कविता संग्रह बजारमा ल्याएको छ । खडेरीले सुख्खा भएको माटोमा कवि कल्पना चिलुवालले पानी पारेर राहत दिने काम गरेकी छन् । चिलुवालले कविता संग्रह ‘चुल्ठो’ बजारमा ल्याएकी छन् ।

पोखरामा बुधबार त्यही ‘चुल्ठो’ माथि परिचर्चा भयो । कविता संग्रहमाथि सहित्यकारहरु सुमिना, सरस्वती प्रतिक्षा र डा. कृष्णराज अधिकारीले चर्चा गरे । चर्चाकै क्रममा साहित्यकार सरस्वती प्रतीक्षाले तालैतालको यो सहरमा केही अगाडिसम्म कविताको खडेरी लागेको बताइन् । हिमनदीहरु बग्दै, नदीनालाहरुले नृत्य गर्ने सहरमा कविताको सुस्केराको कमी पनि देखिन् । देशमै धेरै पानी पर्ने सहरमा झरीका बीचमा लेखिएका कविता भेट्न नसकेको उनलाई भान हुन्थ्यो । कवितामा पोखराको उपस्थिति उनले पाइनन् । तर यो भन्नेहरु चुल्ठो बजारमा आएपछि भने कमै भेटिने उनको भनाइ थियो ।

परिचर्चा कार्यक्रममै कल्पनालाई उनले रिसाहा कविको संज्ञा दिइन् । उनको हरेक कवितामा रिस भेटिनेछ । ‘बनिबनाउ मान्यताको पर्खाल भत्काएर, नयाँ परिभाषा खोज्नका लागि निस्कने विद्रोही भावना नै कल्पनाको कविताको मुल स्वर हो,’ उनी भन्छिन्, ‘आफ्नो शिरमा लाउने शिरफूल कुनै कान्छाले टिपिदिएको उनलाई मञ्जुर छैन्, उनलाई त बिहानको रोमान्टिक धुन पनि मन पर्दैन् ।’ रिस १ प्रकारको विष हो, जुन आफू खाएर अरु मरोस भन्ने चाहान्छ भन्ने थाहा हुँदाहुँदै पनि कवि रिसाएपछि सुन्दर कविता जन्माउन सक्छ भन्ने उदाहरण कल्पनाले प्रस्तुत गरेको उनी बताउँछिन् । ‘उनी कविता मार्फत् कहिले उपभोक्तावादी बजारसँग रिसाउँछिन्, कहिले देशका शासकहरुसँग रिसाउँछिन्, कहिले न्यायाधीशहरुसँग रिसाउँछिन्,’ उनी भन्छिन्, ‘आफ्नो उमेर अनुसार त कम्तीमा २/४ थान प्रेमका पागलपनका कविता लेख्नुपर्ने हो कल्पनाले तर यस्तो लाग्छ उनको बैंशमा पनि रिस नै चढेको छ ।’ एउटा रिसाहा कविका रिसाहा कविता पढ्न मन भए कल्पनाको चुल्ठो कविता पढ्न पनि उनको सुझाव छ । गुलियोको पारखीहरुका लागि कल्पनाका कविता मन नपर्न सक्नेतर्फ पनि उनको भनाइ इंगित थियो ।

अगाडिपट्टि कवि सरिता तिवारीको भूमिका र पछाडि कवि विनोदबिक्रम केसीको शुभकामना भएकाले तिवारी र केसीको प्रभावमा लेखिएको भान हुने प्रतीक्षा बताउँछिन् । लेखन शैलीमा आफ्नो मौलिकपन नहुनु कल्पनाको कमजोरी रहेको उनले औंल्याइन् । आफैंभित्रको सुन्दर कविता छुटाएर बुज्रुकता मात्र हावी गर्न खोजेकी हुन भन्ने शंका गर्छिन् ।

साहित्यकार डा. कृष्णराज अधिकारीले कवितामार्फत् विद्रोहको चेतना व्यक्त भएको बताए । समाजमा हुने विभेदको विद्रोह चुल्ठो कविता संग्रहका कविताहरुमा भेटिने अधिकारीको भनाइ थियो । कविता विम्बहरु जति प्रयोग गरियो त्यति उत्कष्ट हुने उनको भनाइ छ । कल्पनाको कवितामा कम बिम्ब प्रयोग भएको बताए । बिम्ब प्रयोग नै गर्नुपर्छ भन्ने नियम नभएपनि बिम्बले कविताको शोभा बढाउने उनको भनाइ थियो । कसैले प्रयोग नगरेका बिम्ब प्रयोग गर्न उनको सुझाव पनि थियो ।

‘चुल्ठो’ कवितामाथि परिचर्चा गर्दै साहित्यकार सुमिनाले कविले कविता मार्फत् परिवर्तको आवाज उठाएको बताइन् । वर्तमान समयका जटिलताहरुलाई चिर्दै कविले यसको समाधानका निम्ति कविता मार्फत आवाज बुलन्द बनाउने काम गरेको उनी बताउँछिन् । कवि कल्पना चिलुवालको कविता संग्रह ‘चुल्ठो’ मा कुल ५६ वटा कविता छन् । कविता संग्रहलाई बेला पब्लिकेसनले बजारमा ल्याएको हो ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width