ओली र प्रचण्डबाट असन्तुष्टलाई कांग्रेसले समेट्छ : कांग्रेस नेता शर्मा

आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
Nepali Congress Photo

पोखरा । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले ओली र प्रचण्ड समूहबाट आत्तिएकाहरुलाई कांग्रेसले समेटेर लैजाने बताएका छन् । प्रधानमन्त्री ओलीको प्रतिगमन विरुद्ध कांग्रेसले देशभर आयोजना गरेको कास्कीको विरोभसभालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । ‘ओली र प्रचण्डबाट तपाईंहरु हैरान हुनुभएको छ, तपाईंहरुलाई नेपाली कांग्रेसमा स्वागत छ,’ उनले भने,‘कांग्रेस तपाईंहरुलाई सँगै लिएर जान तयार छ ।’

ओली सरकारले प्रजातन्त्र जोगाउने प्रेस, अदालत कमजोर बनाउँदै अन्तिममा संसद नै कमजोर बनाएको आरोप लागएका छन् । नेपाली कांग्रेस चुनाव र अदालतको निर्णयको लागि भन्दा पनि लोकतन्त्र र प्रजातन्त्र रक्षाको लागि सडकमा उत्रिएको उनले बताए । यो समयमा सबै पक्षलाई सँगै लिएर अगाडि बढ्ने कांग्रेसको जिम्मामा आएको हुनाले संयमित भएर अगाडि बढ्नुपेर्ने उनको भनाइ थियो । कम्युनिस्टले २ तिहाइको सरकार हुँदाहुँदै काम गर्न नसकेपछि चुनावमा उनीहरुलाई जनताले भोट पक्कै नदिने उनले बताए ।

विरोधसभामा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विश्वासघात गरेर असंवैधानिक बाटो राजेको बताए । ‘जनताले विश्वास गरेर त्यत्रोे २ तिहाइ मत दिए,’ उनले भने, ‘त्यत्रो जनताको विश्वासलाई कुठारघात गरे ।’ केसीले कम्युनिस्ट कै एक पक्ष आन्दोलनमा रहेको विषयमा बोल्दै उनीहरुको आन्दोलन सत्ता रक्षाको भएको जिकीर गरे । नेपाली कांग्रेसको आन्दोलन सत्ता र रक्षाको लागि नभई लोकतन्त्र रक्षाको लागि भएको प्रष्ट पारे ।

नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले वैशाखमा चुनाव नहुने बताएका छन् । कम्युनिस्ट सरकारको नियत चुनाव गराउने नभई सत्तामा बसिरहने खेल भएको बताए । १६ वर्षअघि माघ १९ कै दिन कु गरेको सम्झदै पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यस्तै घटना दोहो¥याएको उनको आरोप थियो । विरोधसभामा नेपाली कांग्रेसका नेता सोभियतबहादुर अधिकारीले सवै क्षेत्रबाट विरोध भइरहँदा ओली सरकार ढुक्कसंग बसेको आरोप लगाए । लोकतन्त्रमा लुटतन्त्र मौलाएको बताउँदै लुटेको सम्पतीमा भगबन्डा नमिल्दा देशले यो अवस्था भोगेको जनाए ।

कांग्रेसका १२ भातृ संगठनले आयोजना गरेको सभालाई तरुण दल, नेविसंघ, भूपू सैनिक संघ, आदिवासी जनजाति, मुस्लिम, दलित, मगर, महिला, किसान संघलगायतका नेताले सम्बोधन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width