संविधान रक्षाका लागि आन्दोलन : सीता गिरी वली

आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
nakapa machhapuchhara 7

पोखरा । नेकपा केन्द्रीय सदस्य सीता गिरी वलीले संविधान रक्षाको लागि आन्दोलनमा होमिनुपरेको बताएकी छन् ।

नेकपा माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसले आयोजना गरेको प्रतिगमनविरुद्ध विरोध सभा, संघर्ष तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्व सभासद समेत रहेकी वलीले सो कुरा बताएकी हुन् ।

उनले विकास निर्माणको समीक्षा गर्नुपर्ने समयमा आफूहरु बाध्य भएर संविधान रक्षाका लागि आन्दोलनमा होमिनुपरेको पनि उल्लेख गरिन् ।

नेकपा गण्डकी कमिटी सदस्य एवं प्रदेश सांसद रामजीप्रसाद बराल ‘जीवन’ ले नेकपाको पार्टी विवादको विषयलाई लिएर सर्वसाधारणलाई आफ्नो पक्षमा पार्न कसैबाट बजेट दुरुपयोग हुन नदिन चेतावनी दिए । उनले राज्यको सम्पत्ति दुरुपयोग भएको पाइए राम्रैसँग हिसाबकिताब गर्ने चेतावनी पनि दिए ।

नेकपा प्रदेश सदस्य कृष्ण नेपालीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको समयमा भ्रष्टाचार, बलात्कार, महँगी बढेको आरोप लगाए ।

नेकपा माछापुच्छ्रे गाउँपालिकाका ७ अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा कास्कीका सचिवालय सदस्य दलबहादुर गुरुङ, नवराज भण्डारी, युवानेतृ प्रवीणा अधिकारी, बैकुण्ठ भण्डारी, यदुनाथ अधिकारी, लालबहादुर परियार, आशीष गुरुङ, नेकपा माछापुच्छ्रे ७ सचिव डिल्लीराम भण्डारी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width