चालकसँग ५ मिनेट

सविन लामिछाने
पौष २०, २०७७
traffic by sabin

दमौली । पोखराका कृष्ण सुवेदी आइतबार भान्जासँग मोटरसाइकलमा काठमाडौं जाँदै थिए । पृथ्वी राजमार्गअन्तर्गत दमौलीसम्म के पुगेका थिए, ट्राफिक प्रहरीले बाइक रोक्न संकेत गरे ।

अरूबेला काममा खटिएका ट्राफिक प्रहरी जवानलाई कार्यक्षेत्रमै रहे पनि कागजपत्र र यात्रुको जाँच गर्न आदेश दिने प्रहरी प्रमुख त्यस दिन हात जोडेरै मोटरसाइकल नजिक पुगे । राजमार्गमै थिए–जिल्ला प्रहरी प्रमुख अरुण पौडेल र ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाट । सुवेदीले ट्राफिक चेकिङ होला भन्दै आफ्नो सवारी कागजात निकाले ।
उनीहरूले कृष्णलाई चेकिङ साटो ट्राफिक नियमबारे बुझाउन थाले । सुवेदीसँग ५ मिनेटमा विभिन्न ट्राफिक नियमको पालनासँगै दुर्घटनाबाट बच्ने उपाय बताउँदै सम्झाएर पठाए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको कार्यक्रमअनुसार दमौलीमा आइतबारदेखि ‘दुईपाङ्गे्र सवारीसाधनको चालकसँग ५ मिनेट’ कार्यक्रम सुरु भएको छ । प्रदेश सरकारको समन्वय र प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक व्यवस्थापन सुधार कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सचेतना कमीले दुईपाङ्ग्रे सवारीसाधन दुर्घटना बढ्दो रहेकोले यसखालको अभियान आवश्यकता रहेको बताए ।
व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपानेले दुईपांग्रे सवारीसाधन लाइसेन्सबिनै चलाउनेहरु बढेकोले दुर्घटना न्यूनीकरण हुन नसकेको बताए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सो अभियानले सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे ।

तनहुँ उद्योग वाणिज्य संघ अध्यक्ष मानकाजी श्रेष्ठले ट्राफिक व्यवस्थापन विगतभन्दा सुधार हँुदै गएको उल्लेख गर्दै व्यवस्थापनमा संघले निरन्तर सहयोग गर्दै आएको दाबी गरे ।

‘चालक जिम्मेवार बन्दा धेरै जोखिम कम गर्न सकिन्छ । हामी जिम्मेबार चालक बनाउन नमस्कार गरेर सम्झाउने र सचेतना गराउने अभियान थालेका छौं,’ प्रदेशका ट्राफिक प्रमुख प्रभुप्रसाद ढकाल भन्छन्, ‘जानकारीमूलक सानो ब्रोसर दिन्छौं र सम्झाएर पठाउँछौं ।’

ढकालले दुर्घटना अस्वभाविक बढ्दै गएकोले अभियान थालिएको र प्रदेश ट्राफिक व्यवस्थापनलाई पनि प्रविधिमैत्री बनाइने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width