देवघाटमा बाँदर आतंकः भान्छाको खाना पनि रहँदैन

सविन लामिछाने
कार्तिक २४, २०७७
devghatpic of badar

तनहुँ, २४ कार्तिक । तनहुँ, चितवन र नवलपुरको संगममा रहेको प्रसिद्ध तीर्थस्थल देवघाटधाम आसपासका पसलमा बेच्न राखिएका सामाग्री तारबारले घेरेर राखिएको छ । होटलमा बनेका परिकार पनि तारजाली भित्र देखिन्छ ।

यति मात्रै कहाँ हो र ? घरको भान्छा कोठा र हुनेखानेको घर आँगन पुरै बन्द हुने गरी चाबी लगाईएको छ । भक्तजनहरुको ठूलो भिड लाग्ने यहाँ आश्रमका बन्द कोठामा भजनकिर्तन हुन्छ । डकैँतिबाट जोगाउनलाई यसो गरिएको धेरैको अनुमान होला । चोरी हुनबाट जोगाउन त हो तर बाँदरबाट हो ।

देवघाटमा आसपासका क्षेत्रमा बाँदरको आतंक छ । बाँदर आतंकले हैरान भएको यहाँकी राधा पौडेल बताउँछिन् । ‘घरमा उत्पादन भएको त कुरै छाडौँ । बजारबाट किनेर ल्याएका सामान पनि बाँदरबाट जोगाउन मुस्किल छ’, उनले भनिन्, ‘केटाकेटीले घर बाहिर बसेर केही खान पाउँदैनन् । हातैमा खोस्न आउँछ बाँदरले ।’

होटल तथा पसलमा बिक्रीका लागि झुण्डाएर राखिएको सरसामान पनि बाँदरले लैजाने गरेकाले तार जालिभित्र लुकाइ सुरक्षित राख्नुपरेको व्यवसायी सीता न्यौपानेको भनाई छ । उनका अनुसार पछिल्ला केही वर्षयता बाँदर आतंक धेरै बढेको छ । ‘कहिलेकाही त पकाएर राखेको खाना पनि रहन्न’, उनले भनिन् । खाना पकाएको भाँडो रुखको टुप्पोमा बाँदर लैजाने गरेको स्थानीयहरुले गुनासो गरे । खेतबारीमा लगाएको अन्नवाली थन्क्याउन पाउने आश नै हुदैन् । देवघाट क्षेत्रका बाँदर निकै चनाखो भएको स्थानीय सुनाउँछन् ।

बाँदरको हैरानी स्थानीयले मात्रै खेप्नु परेको छैन् । पछिल्लो समय त देवघाट धाममा पुग्ने भक्तजन पनि आजित छन् । यहाँ आउँदा झोलामा रहेको खाने कुरा समेत बादरले खोस्छ । यो समस्याबाट देवघाटका आश्रममा आश्रित बृद्धबृद्धाहरु पनि पीडित छन् ।

हातमा केही बस्तु बोकेर हिँड्दा बाँदर पछाडी लाग्ने र चिर्थोने गरेको आश्रमकी बृद्धा राधिका उप्रेती बताउँछिन् । कल्पबास बस्दै आएका बृद्धहरुको कुटीमा नै पुगेर बाँदरले वितण्डा मच्चाउँदै आएको उनले सुनाईन् । घरमा बस्दा मात्रै नभएर नदीमा स्नान गर्न जाँदा समेत बाँदरले सताएको उनको भनाई छ ।

देवघाटको बाँदर नियन्त्रणको लागि बाँदर पार्क बनाएर राख्ने वा स्थानान्तरण गर्ने योजना सहितको फाइल मन्त्रालयमा पु¥याएको गाँउपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । उनले भने, ‘बाँदर नियन्त्रण गर्ने प्रयासहरु नभएका होइनन् । असफल भयौँ । लखेटेको बाँदर फेरी फर्किएर आउने गरेको पाइयो ।’ उनका अनुसार अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले बाँदर नियन्त्रणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । हरेक प्रयास असफल भएको अध्यक्ष थापाको भनाई छ । उनले भने, ‘छिट्टै बाँदर पार्क बनाउने योजनामा गाउँपालिका छ । संघ सरकारसँग समन्वय गरि बाँदरको संरक्षण गर्दै गाउँवासीको हैरानीलाई दुर गराउँछौ ।’

Related News

सम्बन्धित समाचार

hero news full width