निभ्यो आशाको दीयो

सविन लामिछाने
श्रावण २४, २०७७
ramlal-shrestha

दमौली । रामलाल श्रेष्ठले यसरी एकमाथि अर्को बज्रपात होला भन्ने जीवनमा सोचेकै थिएनन् । तर विधिको विडम्बना, भैदियो त्यस्तै । गत बुधबार व्यास–४ को श्रेष्ठ परिवारमा दुःखको सन्देश बोकेर आयो । र, निभ्यो आशाको दीयो ।
वर्ल्ड लिंकको नेटलाइन जडान गर्ने क्रममा व्यास–४ का ३० वर्षीय सुवास श्रेष्ठको मृत्यु भएको हो । व्यास–१, भादगाउँका पिताम्बरको घरमा नेटलाइन जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको थियो ।

१८ महिनादेखि दुवै मृगौलामा समस्या आएर बुबा रामलाल थलिएपछि यसै पनि श्रेष्ठ परिवार पीडामै थियो । तैपनि परिवारका सदस्यले हिम्मत हारेका थिएनन् । श्रेष्ठ परिवार ऋणधन गरेरै रामलालको उपचारमा जुटिरह्यो । अपेक्षाकृत स्वास्थ्यमा सुधार नहुँदा श्रेष्ठ परिवार निराश थियो ।

यता, जागिर गरेर बिहान–बेलुका रोजीरोटी व्यवस्था गर्दै आएका छोरा गुमाउन पुगेपछि परिवार पाल्ने आशाको दीयो निभेको आमा यशोधा श्रेष्ठले बिलौना छ । ‘कमाई गरी पाल्ने त्यही छोरो थियो, आँसु पुछ्दै उनले भनिन्, ‘अब घरपरिवार कसरी चलाउने ?’

घरको मुली नै बिरामी भएपछि श्रेष्ठ परिवारको सम्पूर्ण दायित्व सुवासको काँधमा आइपरेको थियो । बुबाको उपचारदेखि परिवारका अन्य सदस्यको पालनपोषणको लागि सुवासले दिनरात नभनी खटेर काम गर्दै आएका थिए । केही समयदेखि वर्ल्ड लिंकमा जागिर खान थालेका श्रेष्ठ मिलनसार, कर्मठ र इमान्दार कर्मचारीको रुपमा चिनिन्थे । उनका २ भाइ छन् । १ भाइ अपाङ्गता भएका छन् भने अर्का सानै उमेरका छन् ।

आर्थिक अवस्था नाजुक रहेको उनको परिवार उनकै तलब भरमा चल्दै आएको थियो । सुवासको निधनसँगै मृगौलापीडित बाबु र परिवारका अन्य सदस्यको भविष्य अन्यौल बनेको छ, यतिबेला । एकमाथि अर्को पीडा थपिएको श्रेष्ठ परिवारलाई चौतर्फीबाट सहयोगको आवश्यक रहेको स्थानीय बताउँछन् ।

यसैबीच, सुवासको परिवारलाई वर्ल्ड लिंकले रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको छ । मृतककी पत्नीले जागिर खान चाहेमा वल्र्ड लिंकले प्राथमिकता दिने दमौली शाखाका म्यानेजर मनोज श्रेष्ठले बताए । उनले भने, ‘यदि मृतककी पत्नीले जागिर खान नचाहेमा घरपरिवारका कुनै १ सदस्यलाई सो अवसर दिइनेछ ।’

यस्तै, काम गर्ने सिलसिलामा ज्यान गुमाएका सुवासको परिवारलाई वर्ल्ड लिङ्कतर्फबाट क्षतिपूर्ति र बिमावापत साढे १७ लाख रुपैयाँ दिने सहमति भएको व्यास–४ का वडा अध्यक्ष विश्व न्यौपानेले जानकारी दिए । सो विषयमा पीडित परिवार र कम्पनीलाई राखेर सहमति गराइएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width