प्रदेश प्रमुखले अस्पताल पुगेर भेटे पहिरोका घाइते

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७७
Pradesh Pramukh photo

पोखरा, ४ साउन । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले म्याग्दी मराङ र कास्की सराङकोट पहिरोमा परी घाइते भएकाहरूलाई भेट्नुभएको छ ।

शुक्रबार साँझ मणिपाल शिक्षण अस्पतालमा उपचाररत पहिरोका घाइतेहरूलाई भेट्दै प्रदेश प्रमुख शेरचनले उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिए । घाइतेहरूलाई उपचारमा कुनै समस्या हुन नदिन आफूले पहल गर्ने बताउँदै प्रदेश प्रमुख शेरचनले उपचार निःशुल्क गराउन प्रदेश सरकारसँग आग्रह गर्ने वचन समेत बताए ।

साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रदेश प्रमुख शेरचनले म्याग्दी पहिरोका घाइतेहरू २१ वर्षीया मञ्जिता सिर्पाली, ६३ वर्षीया सतदेवी बिटालु, ८८ वर्षीया गौमती सुनार र कास्की पहिरोका १९ वर्षीया रश्मी थापामगर र १७ वर्षीया आशा थापामगरलाई भेटेका हुन् । म्याग्दी पहिरोका घाइतेहरूले उपचारका लागि सरकारले सहयोग गरेको भन्दै धन्यवाद दिए । तर, कास्कीको सराङकोट पहिरोका घाइतेहरूले भने उपचारमा समस्या भएको भन्दै औषधी किन्ने पैसा समेत नपाएको गुनासो गरेका छन् ।

सो अवसरमा उनले मणिपाल शिक्षण अस्पतालका डीन एवं प्रमुख कार्यकारी अधिकृत डा. दिलीपचन्द्र अग्रवाल र अस्पतालका निर्देशक डा. सूर्य चौधरीसँग घाइतेहरूको उपचारका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width