दुई दिनसम्म पनि पहिरोमा पुरिएका राजेश

रासस
श्रावण १, २०७७
tanahu

दमौली, १ साउन । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ ।

पहिराले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ । सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार बेपत्ता भएकाको खोजीकार्यका लागि स्काभेटर पनि प्रयोग गरिएको छ । ‘बेपत्ता भएकाको खोजीकार्यका लागि निरन्तर लागिपरेका छौँ, तैपनि उनलाई फेला पार्न सकिएको छैन’, पौडेलले भने ।

पहिराले पुरिएर उनकै आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको निधन भएको थियो । बुबा ५० वर्षीय केशव थापा भने घाइते छन् । उनको पोखरामा उपचार भइरहेको छ । पहिराले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका ११ जनाको मृत्यु भएको छ भने तीन घाइते छन् । रासस

Related News

सम्बन्धित समाचार

hero news full width