लकडाउनपछि नेपाली चलचित्र

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
received_190367602357296

पोखरा, ७ असार । कोरोना भाइरस (कोभिड–१९) कारण प्रभावित बनेका क्षेत्रहरुमध्ये एउटा हो–फिल्म । नेपालमा ११ चैतदेखि सुरु लकडाउनसँगै देशभरका हलहरु पूर्णरुपमा बन्द भएका छन् । नेपाली फिल्म उद्योगबाट ३५ सय जना प्राविधिकको मात्रै रोजीरोटी खोसिएको छ । त्यतिमात्र कहाँ हो र, कलाकार, निर्माता, हल संचालक, कर्मचारी लगायत फिल्म उद्योगसँग सम्बन्धित व्यक्तिहरु बेचैन छन् । ठूलो लगानी फसेको छ ।

उनीहरुको एउटै प्रश्न छ, कोरोना कहिले हट्ला र फिल्म क्षेत्र पहिलेकै अवस्थामा फर्किएला ?यसै विषयसँग सम्बन्धित रहेर चलचित्र पत्रकार संघ कास्कीले सरोकारवाला पक्षको प्रतिनिधित्व हुने गरी बहस ग¥यो ।‘लकडाउनपछिको नेपाली चलचित्र: चुनौती, यथार्थ र सम्भावना’ विषयक बहसमा थिए– निर्देशक अनुप बराल, कलाकार माओत्से गुरुङ र हलसञ्चालक निकेश द्वा । सहजीकरणमा थिए,पत्रकार अपिल त्रिपाठी ।

कोभिड–१९ कारण सामाजिक दूरी कायम गर्दै आयोजित कार्यक्रममा वक्ताले कोरोनाको चुनौतीबीच पनि अब अघि बढ्दै जानुपर्ने बताए । त्यस्तै, लामो समयदेखि फिल्म हल बन्द भएको हुँदा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामाजिक दूरी कायम गर्दै हल विस्तारै चलाउनुपर्नेमा पनि जोड दिए । कोरोनाको विषम परिस्थितिपछि फर्किने समय उस्तै सम्भावना बोकेर पनि आउने कतिपयको अपक्षासमेत देखियो ।

निर्देशक बरालले कोरोना महामारीको बेला चिन्तित हुनुभन्दा अब के गर्न सकिन्छ भन्नेबारे ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले चलचित्र क्षेत्र खुम्चिनुभन्दा यसको माध्यम फराकिलो बन्दै जाने उनी सम्भावना देख्छन् । उनले फिल्म संस्कृति चिनाउनेखालको र मौलिक धारमा बन्नुपर्ने धारणा राखे । हलमा पपकर्न, कोल्ड ड्रिक्स खाँदै ठूलो स्प्रेक्ट्रममा फिल्म हेर्नुको मजा छुट्टै भएकोले महत्व भिन्न रहेको उनको भनाइ छ ।

कलाकार माओत्से गुरुङले कोरोनासँगै लकडाउनले कलाकार मारमा परेको हुँदा राज्यले रक्षा गर्नुपर्नेमा जोड दिन्छन् । निर्देशकसमेत रहेका अभिनेता गुरुङले गुरुङ भाषामै निर्मित ५ वटा फिल्म डेट कुरेर बसेको र ७ वटा सुटिङको लागि जान लागेको बेला यो मारमा परेको बताए । बजेटका हिसाबले ठूलो सानो जे भए पनि भाषिक फिल्म (गुरुङ) मा करिब डेढ करोड रुपैयाँभन्दा बढी रकम फ्रिज भएको उनको गुनासो छ । लामो समयसम्म यही स्थिति रहे कलाकार तथा प्राविधिक अर्को क्षेत्रमा जान सक्ने सम्भावना पनि रहने हुँदा राज्यले विकल्प दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यो सामुदायिक माध्यम हो । समूहको सहभागिताबिना अघि बढ्न सक्दैन । सबैभन्दा जोखिम क्षेत्र हो ।’ उनले समयक्रमसँगै यसको स्वरुप फेरेर नेपाली फिल्म अब विस्तारै लयमा फर्किनुपर्नेमा जोड दिन्छन् । अबदेखि कथा प्रस्तुतिकरण, लगानी, प्रचार शैली र प्रदर्शन शैलीमा परिवर्तन आउने उनको अनुमान छ ।

हल संचालकको प्रतिनिधित्व गर्दै पोखरा मिडटाउन ग्यालेरिया सञ्चालक निकेश द्वाले सरकारले हल सञ्चालकहरुको समस्या पनि सम्बोधन गर्नुपर्ने बताए । उनले बैंक कर्जा घटाउनुपर्ने, समय अवधि थप्नुपर्ने, विभिन्न नामका कर खुकुलो बनाउनुपर्ने माग गरेका छन् । डिजिटल मार्केटिङ नेपालका सन्दर्भमा तत्काल सम्भव नभएकोले सामाजिक दूरी कायम गर्दै हल खोल्न दिनुपर्ने बताउँछन् ।

यस्तै, भिडिओ सन्देशमा चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले चलचित्रको आर्थिक जोखिम न्यूनीकरण गर्नतर्फ लागेको जानकारी दिए । उनले समस्या समाधानका लागि विशेष कमिटी गठन गरेको र विभिन्न पेसागत संघसंगठनसँग अवधारणा लिएको भन्दै क्षेत्राधिकारभित्र रहेर गर्न सक्ने काम गर्दैआएको बताए । उनले आफ्नै मौलिक मेकिङको शैली विकास गर्नुपर्ने भन्दै स्क्रिप्टमा केही ‘फन्डिङ’ व्यवस्था गरिरहेको बताए । नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा पु¥याउन मौलिक विषयवस्तु बाहेक अरु हुनै नसक्ने उनको दाबी छ ।

चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारीले ५० फिल्म सुटिङ सकेर बसेको र २५ फिल्म डेट कुरेर बसेको अवस्थामा लकडाउनले यो क्षेत्रको १ अर्ब १५ करोड रुपैयाँ फ्रिज भएको जानकारी दिए । उनले तत्काल हल खोलेर चलाएपनि अकूपेन्सी घटेर ३३ प्रतिशतसम्म पुग्ने भन्दै राज्यले फिल्म लागतमा २० प्रतिशत सुरक्षा दिए बाँकी रिस्क बेहोर्न तयार आफूहरु तयार रहेको बताए । उनले भने, ‘राज्यले फिल्मलाई समस्याभित्रकै उद्योग राखिदिनोस् । लकडाउन अवधिको बिजुली महसुल, बैंक ऋण २५ प्रतिशतमात्र व्याज तिर्न तयार छौं । कर तिर्ने समय पुस मसान्तसम्म पु¥याइयोस् । मनोरजञ्जन कर तथा स्थानीय कर फ्री जोन बनाइयोस् ।’

चलचित्र कलाकार संघ अध्यक्ष रवीन्द्र खड्काले हरेस खानुपर्ने अवस्था नभएको भन्दै आशावादी बने । सबैजना एक भयौ भने समस्याको समाधान अवश्य हुने उनको भनाइ छ ।अभिनेता एवं निर्माता दीपकराज गिरी, अभिनेत्री एवं निर्माता रेखा थापा विद्यमान समस्या समाधान गर्दै स्वस्थ प्रतिष्पर्धामा अघि बढ्नुपर्ने बताए ।गैह्रापाटनको पोखरा थियटरमा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ कास्की अध्यक्ष अरुण गिरी, सचिव प्रभू अधिकारीले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width