‘मनसरा’ बाट आशावादी मिरुना

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०८१
Mansara News Pokhara Press meet (1)

पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित प्रचारका लागि शनिबार पोखरा आए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा सुव्वाले समाजमा भएका घटनालाई आधार बनाएर निर्माण गरिएको बताए । उनले मनसरा मिश्रित समाजको कथा भएको र सिनेमाका हरेक पात्रमा दर्शकले आफूलाई पाउने बताए । सामाजिक विषयवस्तु आफ्नो रुचिको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए ।

खासमा पूर्वतर्फ पाइने धानको नाम ‘मनसरा’ हो । निर्देशक सुब्बाले उक्त धानको ढाँट अलिक कडा हुने, वरिपरि अन्य बाली लगाए तापनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तु समाजसँग जोड्ने प्रयास गरेको बताए ।

अभिनेत्री मिरुना मगरले ‘मनसरा’ समाजको सत्यकथामा आधारित रहेको बताइन् । ‘जारी’, ‘कबड्डी’ सिरिजमा दर्शकबाट पाएको मायास्वरुप ‘मनसरा’ पनि रुचाउनेमा आशावादी बनिन् । कुनै पनि कलाकारले निर्देशकले दिएको भूमिका अनुसार नै आफूलाई सिनेमामा प्रस्तुत गर्ने हुँदा ‘मनसरा’ मा पनि निर्देशकले दिएको भूमिकालाई निर्वाह गर्ने प्रयास गरेको बताइन् ।

अभिनेता प्रवीण खतिवडाले ‘मनसरा’ सोसल ड्रामा भएको बताए । मिश्रित समाजको कथा भएकाले फिल्म दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन् । अभिनेत्री मेनुका प्रधानले दर्शकले मन पराउने बताइन् । कार्यकारी निर्माता सिजन दाहालले ललितपुरस्थित सिमाखो र पाँचथरको गाउँमा फिल्म खिचिएको बताए ।

फिल्मको ट्रेलर दर्शकले रुचाएका छन् । जसमा विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको प्रेमलाई प्रस्तुत गरिएको छ । कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानसहित अलावा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलाई पनि देख्न सकिन्छ ।

निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्रध्वज कार्की हुन् । विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सहनिर्माता छन् । किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक हुन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनसहित श्रवलराज पाण्डेको साउन्ड डिजाइन हो भने मानाहाङ लावती, मनिक शंखर र शुभम् चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ ।

कोरोनाताका लकडाउनदेखि नै स्क्रिप्ट तयारी भएको र अहिले आएर सिनेमा निर्माण गर्ने समय जुरेको निर्माण युनिटले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width