अक्षरयात्रा प्रतिभा पुरस्कारद्वारा पौडेल सम्मानित

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७६
sanjiv

पोखरा ।अक्षरयात्रामा सहभागी हुने उदीयमान स्रष्टालाई प्रदान गरिने ‘अक्षरयात्रा प्रतिभा पुरस्कार–२०७६’ बाट पोखरेली साहित्यकार सञ्जीव पौडेल पुरस्कृत भएका छन् । रूपा गाउँपालिका वडा–७, हंसपुरमा शनिबार आयोजित अक्षरयात्रा कार्यक्रमको १७५ औं शृङ्खलाका अवसरमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले उनलाई पुरस्कृत गरे ।

युवा साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा २०६६ सालमा स्थापित सो पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । हालसम्म सो पुरस्कारबाट प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी र सुरज उपाध्याय पुरस्कृत भइसकेका छन् ।कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले साहित्यमा समयचेत र निरन्तरता सबैभन्दा मुख्य कुरा रहेको बताउँदै सर्जकले आफूलाई समयभन्दा अगाडि हिँडाउन सक्नुपर्ने धारण व्यक्त गरे ।

रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले लेखक कलाकार निस्क्रिय बस्दा राज्यले विकास र सभ्यताको फड्को मार्न सक्दैन भन्दै साहित्यकारले राजनीतिकर्मीलाई निरन्तर मार्गनिर्देश गर्नुपर्ने बताए । ओझाले आगामी फागुन २७ मा गाउँपालिकाको स्थापना दिवसका अवसरमा गाउँपालिकामा जन्मेर देशलाई विशिष्ट योगदान दिएका लेखकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सूर्य खड्का बिखर्चीले साहित्यिक पुरस्कारले सर्जकमा ऊर्जा थप्ने हुँदा यस प्रकारका पुरस्कारको विशेष महत्व रहेको बताए । साहित्यिक रचनामा माटोको सुगन्ध निरन्तर आउनुपर्ने बताउँदै उनले साहित्यले संस्कृतिलाई समृद्ध बनाउन सक्नुपर्ने बताए ।

सुरज उपाध्यायले पुरस्कृत स्रष्टा पौडेलबारेस्रष्टा परिचय दिएका थिए । पुरस्कृत पौडेलले पुरस्कारले साहित्य लेखनमा थप जिम्मेवारीपूर्वक लाग्न प्रेरणा दिएको बताए । दुई दशकदेखि साहित्य सिर्जना र साहित्यिक अभियानमा निरन्तर सक्रिय पौडेलको ‘यानी’ मुक्तकसङ्ग्रह प्रकाशित छ ।रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, रूपा गाउँपालिकाका वडा–७ का अध्यक्ष दयासागर सुवेदी, स्थानीय समाजसेवी कालीदास सुवेदी, अक्षरयात्राका परिकल्पनाकार प्रकट पगेनी ‘शिव’, अक्षरयात्रा पुरस्कारका संस्थापक गोविन्द गिरी, साहित्यकार लक्ष्मण थापा, मोहन भण्डारीलगायतले सो अवसरमा मन्तव्य व्यक्त गरेका थिए ।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज सुवेदी, लक्ष्मण थापा र मोहन भण्डारीको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन गजल सन्ध्याका सचिव त्रुपकले गरेका थिए ।

सो अवसरमा प्रकट पगेनी ‘शिव’, सूर्य खड्का बिखर्ची, लक्ष्मण थापा, मोहन भण्डारी, शिव सङ्कल्प, ईशा शाह, लालमणि पोखरेल, त्रुपक, विष्णुप्रसाद पोखरेल, जीवनाथ सुवेदी, माया कुँवर, मेघराज आचार्य, श्रीराम अधिकारी ‘गोर्जे’, नवराज देवकोटा, नेत्रराज घिमिरे, विश्वराज न्यौपाने, सौगात पोखरेल, सरला लामिछाने ‘सरू’, बिर्सना बस्नेत, मिर्मिसा पराजुली, पारु भण्डारी, भरतराज पौडेल, केआर ढकाल, गोविन्द गिरी, सुरज उपाध्याय, सञ्जीव पौडेल, अशोक ढकाल, कमल सुवेदी, करुणा भट्टराई, हरिराज अधिकारी, देवीरमण न्यौपाने, तारा पौडेल लगायतले रचना वाचन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width